शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विशिष्ट सम्पदाबारे ज्ञान दिने उपयुक्त संस्था लुम्बिनी बौद्ध विश्वविद्यालय : प्रम

सोमबार, ०९ साउन २०७४, १३ : ४५
सोमबार, ०९ साउन २०७४

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका विशिष्ट सम्पदाबारे ज्ञान दिने उपयुक्त संस्था लुम्बिनी बौद्ध विश्वविद्यालय भएको बताएका छन् । 

सो विश्वविद्यालयका आठौँ सभालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लुम्बिनी मात्र नभई बुद्धसँग जोडिएका कपिलवस्तु, रामग्रामजस्ता पुरातात्विक क्षेत्रका साथै स्वयम्भू, बौद्धनाथ, बौद्धकलाले युक्त विहार, मन्दिरजस्ता धार्मिक तथा सांस्कृतिक क्षेत्रबारे ज्ञान दिलाउन सो विश्वविद्यालय थप अग्रसर हुनुपर्नेमा जोड दिए । 

आफू २०६१ सालमा प्रधानमन्त्री हुँदा सो विश्वविद्यालयको स्थापना भएको स्मरण गर्दै उहाँले बुद्ध कुनै एक धर्म, जाति, समुदाय र देशको नभई विश्वकै ज्योति भएको चर्चा गरे । 

विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले भने, “बुद्ध धर्मको उद्भवदेखि वर्तमानसम्म बौद्ध धर्मको निरन्तरता भएको देश नेपाल मात्रै हो । बुद्ध नेपालको पहिचान र गौरवको विषयसँग जोडिएको छ । उहाँको उपदेश मानव मात्रको हितसँग मात्रै होइन, सम्पूर्ण प्राणीहरुको समान आदर, हक, हितसँग सम्बन्धित छ ।” 

श्रीलंका, थाइल्याण्ड र भारतजस्ता देशले आपूmलाई ‘बौद्ध अध्ययन’ केन्द्रका रुपमा स्थापित गर्न कोसिस गर्दै आएको तर बुद्धको जन्मभूमि लुम्बिनी–नेपाल धार्मिक तथा पर्यटकीयस्थलका रुपमा मात्रै सीमित हुनु चिन्ताजनक भएको बताउँदै उनले अब लुम्बिनीलाई एक विशिष्ट अन्तर्राष्ट्रिय बौद्ध अध्ययन केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । 

प्रधानमन्त्री देउवाले विश्वविद्यालयको विद्यमान ऐन नियम, विनियममा समयसापेक्ष संशोधन गर्नु स्वभाविक हो र ऐनमा केही संशंोधन गर्न विगत वर्षमै प्रक्रियामा सुरु भएको प्रक्रियालाई शीघ्र टुंगो लगाइने विश्वास व्यक्त गरे । 

“लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयलाई व्यवस्थित गर्दै लुम्बिनी र बौद्ध अध्ययनलाई व्यवस्थित गर्न सके त्यसबाट नेपाल मात्रै नभई विश्व नै लाभान्वित हुनसक्नेमा दुईमत नहोला” उनले भने । 

सो अवसरमा उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले व्यक्तिगत लाभ, कुण्ठा र तिरस्कार त्यागेर मानवकल्याणमा आधारिक सोच र कर्मका लागि बुद्धदर्शन उपयोगी भएको बताउँदै यसको प्रवद्र्धनमा विश्वविद्यालय लाग्नुपर्ने बताए । 

विश्वविद्यालयका उपकुलपति डा नरेशमान बज्राचार्यले विश्वविद्यालयका गुरुयोजना पूर्णरुपमा सम्पन्न भइसकेको र प्राज्ञिक कार्यक्रमको पनि वृद्धि भइरहेको जानकारी दिए । 

धर्म, प्रवचन र आवासमा सीमित “विहार”बाट शैक्षिक केन्द्रका रुपमा विकसित भएका नालन्दा महाविहार, विक्रमशीला महाविहारजस्ता बौद्ध विश्वविद्यालयमा पठनपाठन हुने विषयवस्तु र शिक्षण पद्दतिबाट प्रभावित विहार शिक्षा–गुम्बा शिक्षालाई पनि संरक्षण तथा सम्बद्र्धन गर्नु सो विश्वविद्यालयको स्थापनाको उद्देश्य हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप