बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

शुक्रबार, ३० कात्तिक २०७५, १८ : १६
शुक्रबार, ३० कात्तिक २०७५

दमौली । सभामुख कृष्णबहादुर महराले संस्कृति संरक्षण नभए देश खतरामा पर्ने बताएका छन् ।

नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा आजदेखि दमौलीमा शुरु तेस्रो जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै सभामुख महराले संस्कृति इतिहाससँग जोडिएको र यसको संरक्षण हुनुपर्नेमा जोड दिए । 

महराले संस्कृति ठूलो कुरा रहेको चर्चा गर्दै यो राष्ट्रियतासँग पनि जोडिने बताए । उनले भने, ‘संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नु सबैको कर्तव्य हो ।’

महराले नेपालको संस्कृतिको प्रचारप्रसार गरी अन्तर्राष्ट्रिय स्तरम्म पु¥याउनुपर्नेमा जोड दिँदै संस्कृतिको पहिचान र प्रसार गर्न नसके लोप हुने खतरा रहेको औँल्याए । 

कानून निर्माणमा तीव्रता दिइने छ 

सभामुख महराले देश अहिले संविधान कार्यान्वयनको चरणमा रहेकाले केही कानून निर्माणमा ढिलाइ भएको बताउनुभयो । छिटोभन्दा छिटो विधेयक ल्याउन सरकारलाई आग्रह गर्दै सभामुख महराले आवश्यक कानून निर्माणमा संसद्ले तीव्रता दिने बताए । 

देशमा तीन तहको सरकारबीच अधिकार बाँडफाँटमा अन्तरविरोध रहेको चर्चा गर्दै सभामुख महराले यसको समाधान हुन केही वर्ष लाग्न सक्ने बताए ।

उनले भने, ‘देशमा पहिलोपटक सङ्घीयता लागू भएको छ । स्रोत र अधिकारको विषयमा भएको विरोध समाधान हुन केही वर्ष लाग्न सक्छ ।’

सांसद केदार सिग्देल र कृष्णकुमार श्रेष्ठ, प्रदेशसभा सदस्य डोवाटे विक, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

‘अमूल्य भाषा, संस्कृतिको संरक्षण गरौँ, भाषा, संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौँ’ भन्ने मूल नारासहित शुरु भएको महोत्सव मङ्सिर १० गतेसम्म सञ्चालन हुनेछ । 

स्थानीय भाषा, धर्म, कला र संस्कृतिको प्रवद्र्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने, लोक संस्कृतिको संरक्षण, प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको मूल संयोजक वसुन्धरा घर्तीले जानकारी दिइन् । 

महोत्सवको नाफाबाट महासङ्घको निर्माणाधीन भवन सम्पन्न गर्ने र आदिवासी जनजाति सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य राखिएको छ । 

महासङ्घले गत वर्षको महोत्सवको नाफाबाट व्यास–१ करङकाठमा कार्यालय भवन निर्माण गरिरहेको छ । महासङ्घले व्यास–१२ कमलाबारीमा सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि जग्गासमेत खरीद गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप