शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डिपिएल क्रिकेट: तेस्रो संस्करण माघ १९ गतेदेखि सुरु हुने

शुक्रबार, ३० कात्तिक २०७५, १९ : ०१
शुक्रबार, ३० कात्तिक २०७५

काठमाडौं– धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिगको तेस्रो संस्करण आगामी माघ १९ गते देखि सुरु हुने भएको छ । 

आयोजक धनगढी क्रिकेट एकेडेमीले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता माघ १९ देखि फागुन ४ गतेसम्म आयोजना गरिने जानकारी गराएको हो । गत संस्करण बैशाख र त्यसअघिको पहिलो संस्करण चैतमा सम्पन्न भएको थियो ।

नयाँ संस्करणसँगै प्रतियोगिताको बजेट पनि बढेर ५ करोड पुगेको छ । मुख्य प्रायोजन विजय डिस्टिलरीले १ करोड १० लाख बराबरको प्रायोजन गर्ने भएको छ । प्रायोजन सम्बन्धी सम्झौतामा शुक्रबार विजय डिस्टिलरीका चिफ फाइनान्स अफिसर सतिश कर्ण र एकेडेमीका अध्यक्ष सुवास शाहीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि एकेडेमीका अध्यक्ष शाहीले प्रतियोगिता सफल पार्न सबैलाई आग्रह गरे ।

प्रतियोगितामा ६ शहरका ६ टोलीलाई नै निरन्तरता दिइनेछ । प्रतियोगितामा टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, रुपन्देही च्यालेञ्जर्स, काठमाडौं गोल्डेन्स र विराटनगर किङ्सलाई नै निरन्तरता दिइएको छ ।

प्रतियोगिताको यसअघिका दुवै संस्करण टिम चौराहा धनगढीले जितेको थियो । पछिल्लो संस्करणको उपाधि विजेताले  २५ लाख रुपैयाँ पुरस्कार पाएकोमा यस पटक पुरस्कारको रकम भने सार्वजनिक गरिएको छैन । टी–२० फर्म्याटमा हुने प्रतियोगितामा कुल १९ खेल हुनेछन् । लिग चरणमा शीर्ष चारभित्र पर्ने टोली प्लेअफका लागि छानिनेछ ।

पहिलो प्लेअफमा शीर्ष दुई स्थानमा रहेका टोलीबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । लिगको तेस्रो र चौथो हुने टिमले इलिमिटेनर खेल खेल्नेछन् । त्यस खेलको विजेताले पहिलो प्लेअफमा पराजित हुने टिमसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

हरेक टिममा रहने १५ खेलाडीमध्ये बढीमा २ जना विदेशी खेलाडी र एक जना स्थानीय खेलाडी अनिवार्य गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप