शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कतार सङ्कट हलगर्न युरोपेली युनियनका उच्च अधिकारी र टर्कीका राष्ट्रपति गल्फमा

सोमबार, ०९ साउन २०७४, १३ : ५९
सोमबार, ०९ साउन २०७४

कुवेत, ९ साउन । कतारलाई उसका छिमेकी तथा गल्फ राष्ट्रहरुले लगाएको नाकाबन्दीपछि उत्पन्न समस्या समाधानका लागि कुवेतले पछिल्लो समयमा सक्रियता देखाएको छ । 

सो प्रयासस्वरुप कुवेतका विदेशमन्त्री सवाह खालिद अल सबाहले युरोपेली युनियनका विदेश मामिला सम्बन्धी प्रमुख फेडरिका मागरिनीसँग भेटवार्ता गरेको समाचारमा जनाइएको छ । 

उनले पछिल्लो समयमा कतारमा जारी सङ्कटको समाधानका लागि मागरिनीको ध्यानाकर्षण गराउदै युरोपेली युनियनले यसका लागि के कस्तो सहयोग गर्नसक्छ भन्ने बारेमा जिज्ञासा राखेका थिए । 

गएको करिब डेढ महिनादेखि कतारमा कूटनीतिक सङ्कट सुरु भएको छ । यस विषयमा कुवेत, टर्की र फ्रान्सले समेत समस्या समाधानका लागि भनी गरिएका प्रयासहरु सफल हुन सकिरहेका छैनन् । 

तर कुवेतले भने सुरुदेखि नै वार्ताका लागि पनि मध्यस्थताको पहल गर्दै आएको छ । कुवेतकै पहलमा केही समयअघि कतारबाहेकका गल्फ राष्ट्रका विदेशमन्त्रीको बैठकको आयोजना उसले गरेको थियो । 

युरोपेली युनियनका विदेशनीति सम्बन्धी प्रमुख मागरिनी हाल कुवेतमा छन् । सोही क्रममा सोमबार उनी र कुवेती विदेशमन्त्रीबीच भेटवार्ता भएको हो । उनी आइतबार कुवेत पुगेका हुन् । 

कतारमाथि उसका छिमेकी चार वटा खाडी देशले गत जुन ५ तारिखदेखि कूटनीतिक सम्बन्ध विच्छेद गरी नाकाबन्दी समेत गरेका छन् । नाकाबन्दी अन्त्यका लागि ती देशले जुन २३ मा कतार समक्ष १३ बुदे शर्त राखेका छन् । 

यसैबीच सो समस्या समाधानको पहलस्वरुप टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानले पनि गल्फ राष्ट्रहरुको भ्रमण सुुरु गरेका छन् । उनी आइबार साउदी अरेबिया पुग्नुभएको बताइएको छ । 

टर्कीस् विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा उनले आइतबारदेखि नै सो भ्रमण सुरु गर्नुभएको छ र आइतबार उनले साउदी अरेबियाका राजालाई भेटगरी त्यस विषयमा कुराकानी गरेको बताइएको छ । 

यसअघि कतारसँग उसका छिमेकी मुलुकहरुको कूटनीतिक सम्बन्ध सुधार्ने प्रयासका लागि फ्रान्सका विदेशमन्त्री जेन यभेसले ड्रिनले पनि गत हप्ता साउदी अरब पुगेका थिए । 

उनीसँगको भेटवार्ताका क्रममा साउदी अरेबियाका विदेशमन्त्री अल जुबेइरले कतारले धेरै सम्झौता उल्लङ्घन गरेका प्रमाणहरु रहेको दावीगर्दै सम्बन्ध पुनःस्पनाका लागि कतारले आफ्ना शर्तहरु पालना गनुपर्नेमा जोड दिएका थिए । 

कतारका छिमेकी खाडी मुलुकहरुले कतारले साउदी अरेबिया तथा खाडीका अन्य मुलुकसँगका सम्झौताहरु उल्लङ्घन गरेको बताएका छन् । 

तर यी सबै आरोपहरुको कतारले भने खण्डन गर्दै आएको छ । उसले आफूमागि लगाइएका यी सबै आरोपहरु निराधार रहेको स्पष्ट रुपमा भन्दै आएको छ । 

पछिल्लो समयमा कुवेत सक्रिय रहेको छ भने युरोेपेली युनियनका उच्च अधिकारीले गरेको यस भ्रमणले पनि उक्त समस्याको समाधानका लागि सकारात्मक परिणाम दिने अपेक्षा गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप