शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आर्मीकी रसिला महर्जन उपाधी नजिक

शुक्रबार, ३० कात्तिक २०७५, २० : १२
शुक्रबार, ३० कात्तिक २०७५

काठमाडौँ । त्रिभुवन आर्मी क्लबकी रसीला महर्जन आठौँ पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको महिला एकल, युगल तथा यु–१७ छात्रातर्फको विधामा उपाधि नजिक पुगेकी छिन् । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा आज भएको सेमिफाइनलमा रसीला महिला एकलतर्फको विधामा एपिएफकी जेशीका गुरुङलाई २१–१३ र २१–११ ले पन्छाउँदै उपाधि नजिक पुगेकी हुन् । 

नङ्गशलदेवीले एपिएफकी शोभा गौचनलाई २१–१२ र २१–८ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेकी हुन् । यस्तै रसीलाले यु–१७ छात्रातर्फ मोरङकी रोज पाण्डेलाई २१–९, २१–६ को सोझो सेटमा पराजित गरिन् । 

दोस्रो खेलमा आर्मीकै रञ्जना भट्ट मोरङकी सीमा राजवंशीलाई २१–१६, २१–१५ ले पन्छाउँदै फाइनलमा प्रवेश गरिन् । 

महिला युगलतर्फ रसीला र नङ्गशलदेवीको जोडीले जेष्ट क्लवकी सीता राई र बाँकेकी सम्झना शर्माको जोडीलाई २१–११ र २१–११ को सोझो सेटमा हराएका छन् । 

अब रसीला र नङ्गशलले फाइनलमा एपिएफका पूजा श्रेष्ठ र जेशीका गुरुङको सामना गर्नेछन् । पूजा र जेशीकाको जोडीले आर्मीकी अमीता गिरी र अनुमाया राईको जोडीलाई २१–१४, १७–२१ र २१–१३ ले पराजित गरे । 

नेपाल खेलकूद महासङ्घअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन सङ्घको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलतर्फ आर्मीका रत्नजित तामाङ जित निकाल्दै फाइनल प्रवेश गरे । 

उनले आर्मीकै रुकेश महर्जनमाथि २१–११ र २१–१४ को जित निकाले । अब रत्नले एपिएफका दिपेश धामीसँग खेल्नेछन् । दिपेशले आर्मीका नवीन श्रेष्ठलाई २१–१७ र २१–६ ले पाखा लगाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप