शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नर्भिक अस्पताल द बिज अवार्ड प्राप्त गर्न सफल

शुक्रबार, ३० कात्तिक २०७५, २२ : २८
शुक्रबार, ३० कात्तिक २०७५

काठमाडौँ- नेपालको चिकित्सा क्षेत्रमा गुणस्तरीय अन्तर्राष्ट्रिय सेवा प्रवाह गरेबापत नर्भिक इन्टरनेशनल हस्पिटललाई अमेरिकाको प्रतिष्ठित ‘द बिज अवार्ड ’प्राप्त भएको छ । 

दी वल्र्ड कन्फडेरेशन अफ बिजिनेश (वल्र्डकव) नामक संस्थाले प्रदान गरेको उक्त पुरस्कार आज राजधानीमा आयोजित एक विशेष समारोहमा हस्तान्तरण गरियो । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव तथा उक्त संस्थाका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक निकोलस काफेरोले नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीलाई सो अवार्ड प्रदान गरे । 

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै उपप्रधानमन्त्री यादवले २५ वर्षदेखि स्तरीय स्वास्थ्य सेवा प्रवाहमा क्रियाशील नर्भिक अस्पतालले नवीनतम् प्रविधि, सेवाको गुणस्तर, स्तरीय व्यवस्थापन एवम् नेपालीलगायत अन्तर्राष्ट्रिय क्षेत्रका बिरामीहरुलाई पु¥याउँदै आएको विश्वस्तरीय स्वास्थ्य सेवाका लागि पुरस्कार प्राप्त गरेर देशको प्रतिष्ठा बढाएको बताए । 

जनसाधारणलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताउँदै उनले मधुमेहलगायत नसर्ने रोगको उपचारमा पनि नर्भिक अस्पतालले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उपप्रधानमन्त्री यादवले स्वास्थ्य उपचारमा अर्बौ रुपैयाँ विदेशिने गरेका बेला नर्भिकले अन्तर्राष्ट्रियस्तरको सेवा उपलब्ध गराएर केही हदसम्म भए पनि राष्ट्रको रकम बाहिरिनबाट जोगाएको बताए ।

सरकारी निकायका उच्चपदस्थ व्यक्ति तथा राजनीतिक क्षेत्रका प्रभावशाली व्यक्तित्वहरु राज्यकोषबाट रकम लिएर विदेशमा उपचार गराउने प्रवृत्तिलाई निरुत्साहित गर्न सरकारले जनस्वास्थ्य ऐन जारी गरेको उनले बताए । आँखा उपचारको क्षेत्रमा पनि नेपालले उपलब्धि हासिल गरेको चर्चा गर्दै नेपालका चिकित्सक एवं नर्भिकजस्ता निजी क्षेत्रका अस्पतालले अब्बल सेवा प्रवाह गर्दै आएका बताए । 

नर्भिक अस्पतालका सद्भावनादूत कलाकार हरिवंश आचार्यले राज्यकोषको स्वास्थ्यलाई रोगरहित तुल्याउन नर्भिक अस्पतालले थोरै भए पनि उपचारका नाममा विदेशिने ठूलो धनराशि जोगाएको बताए । नर्भिकका प्रबन्ध निर्देशक चौधरीले पुरस्कारले समग्र मुलुकको मनोबल बढाएको तथा आफूहरुलाई अझ स्तरीय सेवा प्रवाह गर्न प्रेरणा मिलेको बताइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप