पाँच मुक्तक
खगेन्द्र गिरी ‘कोपिला’
नहाँसेको भए लजालु हाँसो, प्यार कहाँ हुन्थ्यो ?
नपाएको भए आँखाको नासो, प्यार कहाँ हुन्थ्यो ?
आकर्षण, प्रस्ताव, समर्पण, अन्जानमै भए पनि–
हुँदैन थियो यदि यो गुनासो, प्यार कहाँ हुन्थ्यो ?
फूलभन्दा दिप्त हुन्छ अनुहारको रङ्ग ।
सम्हाली राख्नुपर्छ बडो जतनसँग ।
सङ्केतमैं व्यक्त हुन्छ हृदयको भाषा–
मौन नै रहे पनि सम्बन्धका प्रसङ्ग ।
न तृष्णा छ न कुनै भोक छ ।
न चिन्ता छ न केही शोक छ ।
नियाली हेर्नुस् त यो दिलमा–
संसारले खोजेको सबथोक छ ।
मायाले अग्लिएको मन कहाँ लगेर राखुँ ?
खुसीले सङ्लिएको मन कहाँ लगेर राखुँ ?
बिर्सिंदै सम्झेका पलहरू आँखामा नाँचेर–
मैनझैं पग्लिएको मन कहाँ लगेर राखुँ ?
अभप्सिा मात्रै छन् मसँग, हृदयभरि सजाएका ।
केही हुरीले जोगाएका, केही आँधीले बचाएका ।
मनको आश्रयस्थललाई, बिसौनी ठान्दै पर्खिएका–
कति छन् कति सपनाहरू, यी आँखामा अटाएका ।