शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

के हो माइग्रेन ? यसरी गर्न सकिन्छ प्राकृतिक उपचार

शनिबार, ०१ मङ्सिर २०७५, १४ : २५
शनिबार, ०१ मङ्सिर २०७५

काठमाडौँ । टाउको दुख्ने समस्या अधिकांशलाई हुन्छ । तर के कारणले टाउको दुखेको हो भन्ने कारण भने कमैलाई थाहा हुन्छ । 

टाउको दुखाइ ठूलै समस्या नभए पनि हाम्रो दैनिक जीवनमा बाधा पुर्याउने काम भइरहेको हुन्छ । कतिलाई टाउको दुखाइले निकै पीडा दिन्छ । 

यदि माइग्रेनकै कारणले टाउको दुखेको हो भने शतप्रतिशत निको पार्ने पाकृतिक उपचारको बारेमा  तपाईंलाई जानकारी गराउने छौँ । 

प्राकृतिक उपचार हाम्रो स्वास्थ्यका लागि फाइदाजनक हो । माइग्रेन के हो, कसरी हुन्छ, न्यूनीकरण र प्राकृतिक उपचारका बारेमा ३ दशकभन्दा लामो समयदेखि प्राकृतिक उपचार गराउँदै आएका डाक्टर क्षितिज बराकोटीले जानकारी गराएका छन् । 

के हो माइग्रेन ?
माइग्रेन अन्य समस्याले हुने रोग हो, जसले गर्दा विशेषगरी टाउकोको भाग धेरै दुख्छ । माइग्रेनले निश्चित समयमा कसैलाई एक महिना, कसैलाई ढेड महिना र १५, २० दिनमा पनि टाउको दुख्ने हुन्छ ।

माइग्रेनको दुखाइ ३, ४ दिनसम्म पनि रहन सक्छ । सामान्यतया माइग्रेनले टाउकोको आधा भाग दुख्छ । कसैको दाहिने त कसैको देब्रे भाग दुख्ने गर्छ । 

माइग्रेनको पीडा बिरामीले सहन नसक्नेसम्मको पनि हुन्छ । यसको दुखाइ निकै गाह्रो र कठिन हुन्छ । टाउको दुखाइसँगै आँखा धमिलो देख्ने, रिँगटा लाग्ने, वाकवाक लाग्ने र वान्त हुनेसम्म हुन्छ ।

यस्तै आलश्य हुने, काम गर्न मन नलाग्ने, दिमागले अन्य कुरा सोच्न नसक्ने अवस्थासम्म पनि बिरामीलाई पुर्याउन सक्छ । 

माइग्रेन हुने कारण
माइग्रेन यही कारणले मात्र हुन्छ भन्ने छैन । कसैलाई वंशाणुगत पनि हुन्छ, कसैलाई नसाजन्य समस्याको कारणले पनि हुन्छ । प्रत्येक व्यक्तिमा फरक फरक कारणहरू हुन्छन् । 

खानापान र जीवनयापन, दैनिक जीवनमा आउने विभिन्न समस्याका कारणले पनि माइग्रेन हुनसक्छ । हामीले खाने चकलेट, कफी, बट्टामा राखेको अचार, चिसो, पेयपदार्थ, धुलो, घाँम, गन्धले पनि माइग्रेनलाई बढाउन सक्छ । माइग्रेनमा निश्चित साइकलमा दुख्छ तर माइग्रेन बढाउने खानपान नखाँदासम्म माइग्रेन बढ्दैन । पिनास र माइग्रनेका लक्षण उस्तैउस्तै पनि हुन सक्छन् । तर माइग्रेन केही समय दुखेर निको हुन्छ भने पिनास निरन्तर दुखिरहन्छ ।  

माइग्रेनको प्राकृतिक उपचार 
माइग्रेन मेडिकलको औषधि प्रयोगले निको पार्न सकिन्छ भन्ने दाबी गरे पनि औषधिको प्रयोगले मात्रै माइग्रेन निको हुँदैन् । माइग्रेन निको हुनका लागि तपाईंको दैनिक जीवन, खानपानमा परिवर्तन हुनु नै पर्छ ।

धेरै गाह्रो भएको खण्डमा चिकित्सकको सल्लाहअनुसार मेडिकलको औषधि प्रयोग गर्न सकिन्छ । तर शतप्रतिशत निको हुनको लागि भने प्राकृतिक चिकित्साविधि अपनाउँदा राम्रो हुन्छ, जुन हाम्रो स्वास्थ्यका लागि पनि फाइदाजनक हो । प्राकृतिक उपचार माइग्रेन मात्रै होइन अन्यरोगलाई पनि फाइदाजनक हुन्छ ।  

 माइग्रेनको विभिन्न किसिमको लक्षण कम गर्न र निको पार्न प्राकृतिक चिकित्साको महत्वपूर्ण भूमिका हुन्छ । टाउको दुखाइले हामीले भनेको समयमा सोचेको काम गर्न सक्दैनौँ । जसले गर्दा यो रोगले तपाईंको जीवन अस्तव्यस्त बनाइदिन पनि सक्छ । 

यसरी हुन्छ प्राकृतिक उपचार 
माइग्रेन भएको हो भन्ने कुरा थाहा नभए पनि टाउको दुख्ने समस्या धेरैलाई हुन्छ । तर सबै माइग्रेन हो भन्न सकिन्न । माइग्रेनको प्राकृतिक उपचारको बारेमा भन्नु पर्दा सुरुमा तपाईंको जीवनशैलीलाई सुधार गर्नुपर्ने हुन्छ । प्राकृतिक चिकित्साविधिमा योग, अकुपेशर जस्तै टाउको दुखेको छ भने माटोको पट्टी लगाउने, फेसप्याक, तातो चिसो सेक्ने विधिहरु अपनाउन सकिन्छ । 

अर्काे विधि भनेको टाउकोको विभिन्न भागमा थिचेर मसाज गरिन्छ । मसाज गर्दा माइग्रेन मात्रै होइन अरू कारणले दुःखेको टाउकोको दुखाइ पनि निको हुन्छ । 

यस्तै अर्काे विधि भनेको जलचिकित्सक भन्ने छ । यसमा नाकमा नुनपानी पठाएर उपचार गर्न सकिन्छ । माइग्रेनले आँखामा धमिलो जस्तो हुन्छ, यस्तो बेलामा आई वास गराउने । टाउको दुख्यो भने हेडब्याक बाँधेर तातोपानीमा खुट्टा डुबाउने पनि गरिन्छ । माइग्रेन मात्रै होइन, अन्य कारणले पनि टाउको दुखेको छ भने यो विधि उपयुक्त हो ।

प्राकृतिक चिकित्सामा समस्या समाधानको उपाय पनि खोज्छौँ । जस्तै हामीकहाँ आउने बिरामीलाई माइग्रेनको लागि गरिने खानपान, व्यायम, व्यवहार धेरै कुराको बारेमा जानकारी गराउँछौँ । प्राकृतिक चिकित्सामा जलआहार, उपवासलगायतका विभिन्न विधि गराउँछौँ । 

यो विधि तपाईंले घरमा पनि अपनाउन सक्नुहुन्छ । तर कुन समयमा कुन उपचार गर्ने भन्ने कुराको बारेमा पहिला तपाईं आफै जानकार हुनुपर्छ । मानसिक समस्या, माइग्रेन, पिनास भएको व्यक्तिलाई मठप्याक लगाउँदा फाइदा हुन्छ । 

खान नहुने कुरा 
माइग्रेन सबैलाई एउटै कारणले दुख्छ भन्ने छैन । कसैलाई दही खाँदा दुख्न सक्छ भने कसैलाई चिसो पेयपदार्थ खाँदा दुख्छ । त्यसैले माइग्रेन हुने व्यक्ति आफूलाई जे खाँदा टाउको दुख्छ, त्यो कुरा खानु भएन । 
मुख्यगरी मोही, चिसो पेयपदार्थ, गुन्द्रुक, साँधेको अचार, कफी नखाँदा नै राम्रो हुन्छ । यस्तै धेरैबेर भोकै नबस्ने, घामबाट जोगिने, होहल्लामा नबस्ने, तनाव कम लिने गर्नाले माइग्रेन कम हुन्छ । 

खाएपछि आफूलाई गाह्रो हुने खानेकुरा, गाह्रौँ हुने काम नगर्दा राम्रो हुन्छ । माइग्रेनलाई  कम गर्ने हो भने खाने, बस्ने, सुत्ने जीवनका हरेक गतिविधिको ख्याल गर्नुपर्ने हुन्छ । 

यस्तो छ घरेलु उपचार 
माइग्रेनको प्राकृतिक उपचार तपाईंले घरमा पनि गर्न सक्नुहुन्छ । तर उपचारको विधिको बारेमा जानकार हुनुपर्छ । मठप्याक मानसिक समस्या र माइग्रेन भएको व्यक्तिहरुका लागि राम्रो हुन्छ । 
नाक सुख्खा हुने खालको पिनास छ भने मठप्याकले अर्थात माटोको पट्टी राम्रो हुन्छ । 

टाउको दुखेको छ भने पहिला टाउकोमा चिसो पट्टी बाध्ने, त्यसपछि टाउँकोको पार्ट पार्टमा थिच्नुपर्छ । अर्काे कुरा हातको आैंलाका टुप्पा टुप्पामा थिच्ने गर्नुपर्छ, औँलाको टुप्पामा घुमाई–घुमाई थिच्ने, यो क्रम हात र खुट्टाको प्रत्येक औँलामा एकदेखि २ मिनेटसम्म गर्नुपर्छ । यस्तै; हत्केलाको बीच भागमा पनि प्रेसर दिने र बुढी औँला, चोर औँलाको कापमा प्रेसर दिने यस्तोगर्दा टाउको दुखाइ तत्कालै कम हुन्छ ।

यदि घाममा बसेर टाउको दुखेको छ भने चिसोपानीको धारा टाउकोमा चुहाउने अनि थिचिराख्ने । घाममै बसेर दुखेको छ भने चिसो रुमाल आँखामा पट्टी लगाएर बस्ने । यस्ता सामान्य प्रक्रिया गर्दा पनि राम्रो हुन्छ । यस्तै टाउकोमा चिसो रुमाल बेर्ने र पैताला तातोपानीमा १० देखि १५ मिनेटसम्म डुबाउँदा पनि राम्रो हुन्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप