शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘धने डाक्टर’को  दुखान्तः आखिर किन मृत्युको बाटो रोजे ?

आइतबार, ०२ मङ्सिर २०७५, १४ : २६
आइतबार, ०२ मङ्सिर २०७५

भक्तपुर– शनिबार दिउँसोदेखि एउटा दुःखद खबर फैलियो । सिन्धुपाल्चोक र काभ्रेका धेरै मानिसले त्यो खबर पत्याउन सकेनन् । 

पत्याउनु पनि कसरी !  जनप्रतिनिधिको भूमिकामा रहनुअघि धेरैको रोग निको बनाउने स्थानीय ‘डाक्टर’ को भूमिकामा रहेका एक व्यक्ति मृत भेटिएको खबर थियो त्यो । 

ती मृत फेला परेका व्यक्ति थिए–सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का वडाध्यक्ष ६६ वर्षीय धनबहादुर श्रेष्ठ । शनिबार बिहान ३ बजे घरबाट निस्किएका वडाअध्यक्ष श्रेष्ठ दिउँसो मृत फेला परेका थिए ।

नेपाली सेनाको जागिर जीवनपछि धनबहादुरले काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ सिपाघाट तल्लो बजारमा करीब दुई दशक फार्सेसी संचालन गरे । सामान्य फार्मेसी सञ्चालक भएपनि उनी तत्कालिन अवस्थामा स्थानीय स्तरमा ‘डाक्टर’ को रुपमा चिनिए । 

काभ्रे र सिन्धुपाल्चोक जिल्लाका धेरै सर्वसाधरणहरुले उनलाई मायाले ‘धने डाक्टर’ को उपनामले समेत चिन्दै आएका थिए ।

उनै ‘धने डाक्टर’ को  परिचय २०७४ साल जेठमा भएको स्थानीय निर्वाचनपछि वडा अध्यक्षको रुपमा फेरिएको हो । उनी सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका–८ बाट नेपाली कांग्रेसको तर्फबाट वडाअध्यक्षमा उम्मेदवार बनेका थिए । 

समाजमा लामो समयदेखि लोकपपिय उनी जनमतबाट सार्वजनिक पद धारण गर्न सफल भए ।  

 काभ्रे मण्डनदेउपुर नगरपालिका वडा नम्बर १ का स्थानीय रामजी प्रसाद ढकालले श्रेष्ठलाई स्मरण गर्दै भने, ‘बिरामी भएर जाँदा उनको मिठो बोली र व्यवहारले हामीलाई रोग आधा निको भए जस्तो लाग्थो ।’

विगतका वर्षमा सडक संजाल नपुगेका धेरै गाँउमा विरामी बोकेर ल्याउने अवस्था नहुँदा उनी घरघरमा नै गएर बिरामीको सेवा गर्थे । दुई–तीन घण्टा हिँडेर समेत उनी विरामीको सेवामा खटिन्थे । 

सिन्धुपाल्चोको फटकशिला, भिमटार, सिपाघाट, नवलपुर, बाडेगाउ, भोटसिपा, ढाडखोला, काठमाडौंको नाङलेभार, पोखरी खालो, काभ्रेको चुरिथुम्का, रानिवन, गिधर्रे, सल्लेबास, देउपुरलगायतका स्थानमा उनको नाम चर्चित थियो । 

स्वास्थ्य क्षेत्रको पेशासँगै सामाजिक विकासका काममा समेत श्रेष्ठको योगदान रहेको छ । 

सिन्धुपाल्चोकको इन्दावती नदी आसपासमा हुने गरेका विकासमा उनको नाम जोडिने गरेको छ । उनको मृत्युले समाजले एउटा असल मान्छे गुमाएको स्थानीय दीपक डोटलले बताए । 

पारिवारिक तनावका कारणले उनले त्यस्तो गरेका हुन् वा कारण अन्य केही छ त्यसमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

प्रहरीका अनुसार श्रेष्ठको शव इन्द्रावती नदीमा डुबेको अवस्थामा  फेला परेको थियो ।

 जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले दिएको जानकारी अनुसार श्रेष्ठको शवको पोष्टमार्टम गरिएको छ । प्रारम्भिक रिर्पोटमा शरीरमा त्यस्तो कुनै शंकास्पद चोट देखिएको छैन् । पूर्ण रिर्पोट भने केही दिनमा आउने छ ।  प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले परिवारका अनुसार आइतबार (आज) साझँसम्ममा श्रेष्ठको अन्तिम संस्कार गरिने जानकारी रातोपाटीलाई दिएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप