एक लाखको खुकुरी, तौल ३५ किलो
–रामबहादुर थापा
बागलुङ । हेर्दै अजङ्गको, तौल ३५ किलो र मूल्य पनि रु. ९९ हजार ९९९ तोकिएको खुकुरी हेर्नेको भीड बिक्री कक्षमा छ । कालिगड मनबहादुर विकलाई खुकुरीबारे जानकारी दिँदैमा फुर्सद छैन । अहिले बडिगाड महोत्सव छिर्नेहरूको ध्यान खुकुरीले खिचेको छ ।
स्थानीय सीपबाट बनेको खुकुरी महोत्सवको आकर्षण बनेको हो । उक्त खुकुरी बनाउन आठ दिन लागेको कालिगड विकले बताए । अठतीस वर्षीय विकले १३ वर्षको उमेरदखि उक्त पेशा अपनाउँदै आएका हुन् । उनले महोत्सवमा खुकुरीसँगै अन्य घरेलु हातहतियार भाँडाकुडा बिक्रीमा राखेका छन् ।
विगत सात वर्षदेखि बुर्तिवाङ बजारमा ‘बुर्तिवाङ आरन सेवा’ सञ्चालन गर्दै आएका विकले भने, ‘मेला तथा महोत्सव हुँदा ‘स्टल’ राख्छु । एउटा महोत्सवमा जाँदा करिव रू एक लाखसम्म कमाइ हुन्छ ।’ छिमेकी जिल्ला गुल्मी, पाल्पा लगायत स्थानमा हुने मेला, महोत्सवमा पनि उनी स्टल लिन्छन् ।
आगन्तुकलाई लोभ्याउने गरी बनाएको खुकुरी किन्ने भन्दा पनि हेर्ने बढी हुन्छन् । सोख र पैसा भएकाले सजावाटका लागि ठूलो खुकुरी किन्ने गर्छन् ।
‘ठूलो र महङ्गो खुकुरीको विशेष माग हुँदा मात्र बनाएर बेच्छौं’ कालिगड विकले भने, ‘महोत्सवमा आउने दर्शकले अनौंठो मानेर उक्त खुकुरीबारे जिज्ञासा लिने गरेका छन् ।’
फलामलाई आरानमा गालेर र घनले पिटेर खुकुरीको रुप दिन कडा मेहनत लागेको उनको भनाइ थियो । विकलाई व्यवसायमा उनकी श्रीमती सरिताले पनि साथ दिँदै आएकी छन् । मेला–महोत्सवमा आफ्नो उत्पादन लिएर जाँदा विक दम्पतिसँगै जान्छन् । विकको व्यवसायमा अन्य छ कालिगडले रोजगारी पाएका छन् ।
सबै खर्च कटाएर मासिक रु एक लाख आम्दानी हुने गरेको विक बताउँछन् । ‘आरन हाम्रो पुख्र्यौली पेशा हो,’ विकले भने, ‘अहिले आरनलाई सुधारेर व्यावसायिक बनाएको छु ।’
विकका बुबा पदमबहादुर पनि अझै गाउँमा आरनकै काम गर्छन् । उनीहरुको पुख्र्यौली थलो ढोरपाटन नगरपालिका–६ अधिकारीचौर हो ।
‘बुबासँग काम गर्दै यो पेशा सिकें,’ विकले भने, ‘व्यावसायिक रुपमा गर्नुपर्छ भनेर म बजार झरेँ ।’ आरन व्यवसायबाटै जोडेको धनले विकले ढोरपाटन नगरपालिका–२ बुर्तिवाङमा घर बनाएका छन् ।
उनका दुई छोरा र दुई छोरी पढाइमा छन् । आफ्नो पुख्र्यौली सीप र पेशालाई सम्मानपूर्वक अगालेर विक सफल भएका हुन् ।
बडिगाड गाउँपालिकामा पहिलोपटक आयोजना गरिएको ‘बडिगाड महोत्सव तथा पौँदी न्वागी मेला’मा घरेलु तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ ।
महोत्सव यही मङ्सिर ९ गतेसम्म चल्नेछ । महोत्सवमा विविध खेलकूद तथा सांस्कृतिक कार्यक्रम राखिएको महोत्सव आयोजक समितिका अध्यक्ष कलाधर घिमिरेले बताए ।
उक्त महोत्सव शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन अध्यक्ष श्रेष्ठको निर्देशन
-
इलाम-२ मा रास्वपाको उम्मेदवारी घोषणा शनिबार
-
सर्वोच्चद्वारा कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
भृकुटीमण्डपमा हर्टिकल्चर एक्स्पो सुरु, तस्बिरमा हेर्नुहोस्
-
सुन तस्कर र कर्मचारीबिच कनेक्सनको गहिराइबारे अध्ययन गर्दै सहसचिव नेतृत्वको समिति