बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दुई महिनाभित्र नेविसंघको महाधिवेशन गर्न माग

आइतबार, ०२ मङ्सिर २०७५, २० : ५७
आइतबार, ०२ मङ्सिर २०७५

काठमाडौँ । राजधानीस्थित नेपाल विद्यार्थी सङ्घका क्याम्पस एकाईले वर्तमान केन्द्रीय कार्य समितिले नै दुई महिनाभित्र १२औँ महाधिवेशन गर्नुपर्ने माग गरेका छन् । 

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुर, जनमैत्री, थापाथली, पब्लिक युथ, जनप्रशासन, ग्रामीण आदर्शलगायत एकाईले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अर्को तदर्थ समिति गठन गर्दा महाधिवेशन ढिला हुने भएकाले वर्तमान कार्य समितिलाई नै दुई महीनाको समय दिइनुपर्ने माग गरेका हुन् । 

केन्द्रीय क्याम्पस कीर्तिपुरका एकाई उपाध्यक्ष सुरेश परियारले केन्द्र, प्रदेश, जिल्ला, क्याम्पस, क्षेत्र एवं स्थानीय तहका एकाईमा क्रियाशील सबै नेता कार्यकर्तालाई महाधिवेशनको वातावरण बनाउन अभियान शुरु गरिएको जानकारी दिए । 

गत भदौमा म्याद सकिएको नेविसङ्घ केन्द्रीय समितिको अवधि नेपाली काङ्ग्रेसले थपेको तीन महीने कार्यकाल पनि आज सकिँदैछ । शनिबार पार्टी केन्द्रीय समितिको बैठक बसे पनि ठोस निर्णय गर्न सकेन । आइतबार पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा अनौपचारिक बैठक जारी छ । 

महाधिवेशनबाटै नेतृत्व चयन गर्न माग 

यसैगरी थपिएको समय सकिएको सन्दर्भमा विद्यार्थी नेताहरुले महाधिवेशनबाटै नेतृत्व चयन गर्न आह्वान गरेका छन् । नेविसङ्घ निकट विधिवत महाधिवेशन पक्षधर विद्यार्थीहरुले यहाँ आज पत्रकार सम्मेलन गरी महाधिवेशन नगरी नेताका नजिकका विद्यार्थी नेतालाई छनोट गरिएमा आफूहरुलाई स्वीकार्य नहुने बताएका छन । 

नेविसङ्घ आर।आर क्याम्पसका एकाइ सचिव ताराबहादुर थापाले पटकपटक समय थप्नुको सट्टा अब महाधिवेशनको विकल्प महाधिवेशन नै हुने भन्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर निणर्य गर्न पार्टीका नेतालाई आगह गरे । 

विद्यार्थी नेता सुरेश परियारले काङ्ग्रेस इतिहासकै गम्भीर अवस्थामा पुगेको बेलामा अहिले पनि नेविसङ्घका बारेमा चिन्ता र चासो गर्न सकेन भने जनतामा निरासा पैदा हुने बताए । 

सम्मेलनमा नेताहरु शिवहरि तिमिल्सिना, जयराम डंगोल, शिशिर दवाडी, कमल तिमिल्सिना, श्रीकृष्ण भट्टराई, प्रेम जिसी, श्याम पाण्डे, प्रविणजंग कार्कीलगायतले जतिसक्दो चाँडो महाधिवेशन सम्पन्न गर्नुपर्ने माग गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप