शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

....जब थामिएन सीता र बिनाका आँशु

सोमबार, ०३ मङ्सिर २०७५, १३ : ३५
सोमबार, ०३ मङ्सिर २०७५

ललितपुर । सोमबार बिहान अन्य दिनको तुलनामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवासमा पुगेका मानिसहरुको अनुहार पनि भिन्नै देखिन्थ्यो । उपस्थित प्राय सवै मानिसहरुको अनुहार मलिन देखिन्थ्यो । 

नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डका छोरा स्व.प्रकाश दाहाललाई श्रद्धान्जली दिन पुगेका सवैले स्व. प्रकाश दाहालको स्मरण गरेका थिए । प्रचण्ड निवास खुमलटारमा सोमबार बिहान आयोजना गरिएको स्मृति सभामा प्रधानमन्त्री, उपराष्ट्रपति, मन्त्रीहरु लगायत विभिन्न दलका नेताकार्यकर्ताहरु सहभागि भएका थिए । 

स्मिृति सभामा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री झलनाथ खनाल सभामुख कृष्णबहादुर महरा, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, राजपाका नेता महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा लगायतका नेताहरुले स्व. दाहालप्रति श्रद्धान्जली व्यक्त गरे ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले छोरा प्रकाश दाहाल र २ वर्षअघि निधन भएकी छोरी ज्ञानुको नाममा ‘प्रज्ञा स्मृति प्रतिष्ठान’ स्थापना गरिएको घोषणा गरेका छन् ।

ज्ञानुको क्यान्सरका कारण निधन भएको थियो भने छोरा प्रकाशको हृदयघातका कारण गत वर्ष मंसिर ३ गते निधन भएको थियो ।

मन्तब्यका क्रममा प्रचण्डले आफुले छोरा गुमाउनुको पीडा सुनाउँदै प्रकाशको निधनले परिवार नै झण्डै विघटन हुने अवस्था आएको स्मरण गरेका थिए ।

भावुक मुद्रामा देखिएका प्रचण्डसँगै बसेकी प्रकाशकी आमा सीता भावहिल जस्तै बनेकी थिइन् । उनले पटकपटक पीडा थाम्ने प्रयास गरेपनि रोक्न सकिनन् । सीतालाई छोरी रेणु दाहालले सम्झाउने प्रयास गरेकी थिइन् । 

त्यस्तै, प्रकाश पत्नी तथा खानेपानी मन्त्री बिना मगर पनि भावविह्वल बनेकी थिइन् ।

यस्तो दृश्यले उपस्थितजनहरुमा समेत सन्नाटा छाएको भान हुन्थ्यो । 

प्रधानमन्त्री केपी ओलीले जनताको हितमा योगदान गर्न सके स्वर्गीय प्रकाश दाहालप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास पनि व्यक्त गरे । 

उनले शोकलाई शक्तिमा बदलेर जीवनलाई गतिशील बनाई राख्न पनि दाहाल परिवारलाई आग्रह गरे । कार्यक्रममा भावविह्वल अवस्थामा रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल र उनका परिवारलाई प्रधानमन्त्री ओलीले मृत्यु फर्काउन वा सच्याउन नसकिने विषय भएको स्मरण गराउँदै संयमता उपनाउन पनि पटक–पटक आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीले स्वर्गीय प्रकाश दाहालको निधनबाट सिंगो पार्टी, देश र जनता अझै पीडामा रहेको उल्लेख गर्दै त्यसलाई शक्तिमा बदलेर देश र जनताको सेवामा लागि रहने प्रतिवद्धता पनि व्यक्त गरे । उनले प्रकाश दाहाललाई समझदार युवा नेताको रुपमा पनि चित्रण गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप