शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गोँगबु–लैनचौर सडकमा बढ्यो सवारी चाप

सोमबार, ०३ मङ्सिर २०७५, १५ : ०३
सोमबार, ०३ मङ्सिर २०७५

काठमाडौँ– सडकको बीच भागमा रहेको बिजुलीको पोल र ठूला सवारी साधनका कारण गोङ्गबुचोकदेखि लैनचौरसम्म सवारी चाप अत्यधिक हुन थालेको छ । 

टोखा ग्रिनल्याण्डबाट सामाखुशी यातायातमा चढेर रत्नपार्क जान लाग्नुभएकी जानुका खड्का साँघुरो बाटो र गाडीको चापका कारण एक घण्टा ४५ मिनेट लगाएर रत्नपार्क पुगिन् । नयाँ बसपार्कबाट घण्टाघरमा जान विनोद राईलाई एक घण्टा १५ मिनेट समय लाग्यो । 

माथिका केही घटना प्रतिनिधिमूलक घटनामात्र हुन् । पछिल्लो समय गोँगबुचोक कपुरधारा हुँदै लैनचौर निस्कने बाटोमा सवारी चाप बढ्न थालेको छ । साना सडकमा बिजुलीका पोल बाटोको छेउमा नसार्दा सवारी चाप बढ्न थालेकाले गन्तव्यस्थल पुग्नसमेत समस्या भएको छ । माइक्रोबस मात्र सञ्चालन हुँदै आएको उक्त बाटोमा सामाखुशी यातायात व्यवसायी सङ्घले सामाखुशी यातायात र दिगो सार्वजनिक यातायात प्रालि भित्र्याइएपछि उक्त क्षेत्रमा चाप बढ्न थालेको हो । 

सङ्घका सचिव लालप्रसाद गुरागाई बाटो साँघुरो र सवारी साधन ठूलो भएको कारण उक्त क्षेत्रमा चाप बढेको बताउँछन् । ‘यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीबीच समन्वय नहुँदा समस्या उत्पन्न भएको हो’, उनी भन्छन्। सोही बस अन्यन्त्र स्थानान्तरण गरेर अर्को बस ल्याउन सरकारले पहल गरे आफूहरु सहयोग गर्न तयार रहेको उनको भनाइ छ । 

हाल गोँगबु–कपुरधारा–लैनचौर भएर सानाठूला १३५ सार्वजनिक बस तथा माइक्रोबस सञ्चालनमा छन् । जसमध्ये दिगो यातायात १७, सामाखुशी यातायात १९ र माइक्रोबस ९९ वटा सञ्चालनमा रहेका छन् । बसुन्धरा सेहन्सा, बानियाटार, भत्केकोपुल, मनमैजु, म्हैपी, टोखा र ग्रिनल्याण्ड क्षेत्रका बस तथा माइक्रोबस उक्त बाटो हुँदै आवत–जावत गर्छन् । 

शुरुको समयमा माइक्रोबस मात्र सञ्चालन भएको उक्त बाटोमा वर्ष पहिले सामाखुशी यातायात र यहि वर्षको साउन २८ देखि दिगो सार्जजनिक यातायात प्रालि सञ्चालित छन् । खम्बा र साँघुरो सडकका कारण दुई ठूला सवारी साधनलाई एकआपसमा आवतजावत गर्नसमेत मुस्किल हुने गर्छ । उक्त क्षेत्र काठमाडौँ महानगरपालिका–२६ मा पर्छ । सो वडाका वडाध्यक्ष ख्यामराज तिवारी गोँगबुदेखि लैनचौरसम्म सडकको खम्बा सार्नका लागि विद्युत प्राधिरणलाई वडाले चिठी पठाइसकेको बताउँछन् । 

‘विद्युत् प्राधिकरण र सडक विभागका कारण उक्त पोल सार्न ढिलाइ भइरहेको छ’, उनी भन्छन्, ‘वडा कार्यालयले सामाखुशी क्षेत्रमा बाटो निर्माण र कालोपत्रे गर्ने कामलाई प्राथमिकता दिँदै आएको छ ।’ 
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त साँघुरो बाटो र ठूला सावारीसाधनका कारण सडकामा चाप हुने हुने गरेको बताउछन् । ‘उक्त बाटोलाई एकततर्फी बनाएर गाडी सञ्चालन गराउने वा ठूला गाडीलाई अर्को स्थानमा पठाएर मझौला गाडी सञ्चालन कि भन्नेबारे छलफल भइरहेको छ’, उनी भन्छन् । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखको हाराहारीमा सवारी साधन सञ्चालनमा रहेकामा काठमाडौँ उपत्यकामा मात्र आठ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप