शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिपाठीले राजपा नेपालसँग सम्बन्धविच्छेद गरेकै हुन् त ?

सोमबार, ०९ साउन २०७४, १७ : ४५
सोमबार, ०९ साउन २०७४

काठमाडौं–राष्ट्रिय जनता पार्टी नेपालका असन्तुष्ट सहअध्यक्ष हृदेयश त्रिपाठी अझैं पार्टीको सम्पर्कमा गएका छैन ।

उनले पार्टी गठनदेखि लिएर विधान निर्माण, पदाधिकारी चयनलागयतका विषयमा असन्तुष्टि जनाउँदै आएका छन् । पार्टीभित्र देखिएका कमीकमजोरी सच्याउनका लागि उनले साउन १५ गतेसम्मका लागि अल्टिमेटम समेत  दिएका छन् । 

तर उनको माग साउन १५ गते यता मात्र होइन साउन २३ गते यता समाधान नहुने देखिएको छ । राजपा नेपालले साउन १८, १९ र २० गते पदाधिकारीको बैठक बोलाएको छ भने २१ गतेदेखि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
यिनै बैठकहरुबाट त्रिपाठीले उठाएको मागको बारेमा छलफल हुने बताइएको छ । केन्द्रीय समितिको बैठकमा त्रिपाठीलगायतका नेताहरुले उठाएका मागबारेमा छलफल हुने भनिएपनि नेता त्रिपाठी हालसम्म पार्टीको कुनै गतिविधिमा संलग्न भएका छैनन् ।
पार्टी एकीकरण भएको केही दिनसम्म दिनहुँ कार्यालय जाने त्रिपाठी एक डेढ महिनादेखि कुनै गतिविधिमा संलग्न नभएको एक नेताले बताए । असार १४ गते भएको स्थानीय चुनावलाई आफ्नो जिल्लामा वहिष्कार गर्न सफल भएका त्रिपाठीले राजपा नेपालका अन्य नेताहरुले चुनाव वहिष्कारलाई खासै महत्व नदिएको भन्दै त्यसप्रति आपत्ति जनाउँदै आएका छन् ।

पदाधिकारी तथा केन्द्रीय कार्यसमितिको बैठकको तयारी चलिरहेको छ । दलका नेताहरु त्यसको तयारीमा जुटेका छन् तर उनी काठमाडौमा भएपनि राजपा नेपालसँग सम्बन्ध विच्छेद गरे जस्तो व्यवहार गरिरहेको सो दलमा चर्चा छ ।
राजपा नेपालका एक नेताले भने, ‘उहाँ पार्टी कार्यालय आउन पनि छाड्नु भएको छ, नत्र यसअघि उहाँ नियमित कार्यालय आउने जाने गर्नुहुन्थ्यो । अहिले त राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरसँग फोनमा कहिले काही कुरा गर्नुहुन्छ नभए आउनु हुन्न ।’
उनले राजपा नेपालमा आफ्नो सम्मानजनक उपस्थिति चाहेका छन् । अध्यक्ष मण्डलमा आफूभन्दा कनिष्ट नेताहरु भएको दावी उनको छ  । त्यसलै उनले आफू पनि अध्यक्ष मण्डलमै हुनुपर्ने चाहना राख्दै आएका छन् । 
अध्यक्ष मण्डलले पनि उनलाई अध्यक्ष मण्डल या पार्टीमा सम्मानजनक उपस्थिति गराउन छलफल गरिरहेको स्रोतले जनाएको छ । आमन्त्रित सदस्यको रुपमा उनलाई अध्यक्ष मण्डलमा सहभागि गराउने गरी छलफल भइरहेको स्रोतले जनाएको छ ।
साउन सात गते राजधानीमा आयोजित एक कार्यक्रममा सहअध्यक्ष त्रिपाठी सहभागि भएका थिए तर उनले उपस्थितिमा राजपा नेपाल नलेखि खाली छाडेका थिए । बरु सो कार्यक्रममा उनले राजपा नेपालको आलोचना नै गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप