मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

युएईमा नेपाली अलपत्र प्रकरण : दुताबास र सरकारलाई ६ सुझाव

मङ्गलबार, १० साउन २०७४, ११ : ५७
मङ्गलबार, १० साउन २०७४

 युएई– दलाललाई औषतमा चार लाख रुपैयाँ बुझाएर पर्यटक भिषामा युएईमा अलपत्र परेका युवाका बिषयमा समाचार प्रकाशित भएपछि नेपाली दुतावास युएईले नेपाल पत्रकार महासंघ युएईबीच जुहारी नै चल्यो । यही बीचमा दुतावास र गृहमन्त्रालयलाई केहि सुझाव दिन आवाश्यक देखियो । 
सुझावः
१.जागिर लगाईदिने आश्वासन दिई रकम असुल गरि बिदेशमा लगेर युवाहरुलाई अलपत्र पार्ने काम निकृष्ट अपराध हो । यसका दोषिलाई कारवाही हुनुपर्छ । विद्यमान कानुनमा कमि कमजोरी भए नयाँ कानुन बनाएर भएपनि अबका दिनमा यस्ता घट्ना हुन नदिन तथा भए त्यस्ता घट्नामा संलग्न हुने सबै अपराधीलाई कडा कारवाही हुने वातावरण बनाउनुपर्छ । कुनै युवा ठगिएर बिदेशमा अलपत्र परेको खबर पाउनासाथ तत्काल उद्धार तथा दोषिलाई कारवाही गर्न परराष्ट मन्त्रालय तथा गृह मन्त्रालय सकृय हुनुपर्छ । यसका लागि नेपाली दुतावासले सकृय भुमिका खेल्नुपर्छ । हप्तौ विति सक्दा समेत नेपाल सरकारको चासो र प्रतिकृया नआउनु दुःखद छ । 
२. नेपाली दुतावास नेपाल सरकारको प्रतिनिधि मात्र होईन  युएईमा रहेका सबै नेपाली नागरिकको अभिभावक पनि हो । त्यसैले यहाँ समस्यामा परेका नेपाली नागरिकको तत्काल उद्धार गर्न सक्नुपर्छ । यस्तो अवस्थामा  कुन भिजामा आएको, किन आएको कल्ले ल्याएको भनेर समय काट्न जरुरी छैन । उद्धारसंगै घट्नामा संलग्नको पहिचान गरि कारवाही प्रकृया अगाडी बढाउनुपर्छ । कसैलाई ठगेर विदेशमा अलपत्र पारिएको समाचार कुनै पत्रकारले लेख्दा शाहसका साथ लेखेको हुन्छ । 
त्यसमा कमि कमजोरी भए सम्बन्धीत पत्रकार मिडियासंग प्रत्यक्षल सम्पर्क गरि सच्चाउन सकिन्छ । तर विज्ञप्ती जारी गरि पित पत्रकारिता भन्दा दुतावासको भुमिकाप्रति आम रुपमा आशंका जन्माउने काम भएको छ । आगामी दिनमा यस्ता कुरामा दुतावास सचेत हुनु पर्छ । काम कारवाहीमा  भएको ढिलाई र कृयाक्लाप पारदर्शी नहुँदा दुतावासको भुमिका प्रति उठेको जिज्ञासा र आक्रोस सम्बोधन गर्न दुतावास गम्भिर बन्नुपर्छ । 
३. लामो समयदेखि बहस भएपनि युएईमा पर्यटक भिजामा आएर अलपत्र पर्ने  समस्या रोकिएको छैन । यहाँ भएका  संघ संस्थाले मानवीय सहयोग स्वरुप त्यसरी अलपत्र परेकालाई सहयोग गर्दै आएका छन् । यो क्रम कहिलेसम्म चल्ने ? दुबईमा कोही अलपत्र पर्ने समस्यामा पर्ने बित्तिकै च्याउसरी उम्रिएका संघ संस्था कहाँ छन् के गर्दैछन् भनिन्छ । कुनै दलालले पैसा कमाईरहने अनि यहाँका संघ संस्थाले चन्दा उठाउदै सहयोग गरिरहने हो ? पकेटमा पैसा हुँदासम्म, भिजाको अवधि हुँदासम्म कसैलाई जानकारी नदिई चुपचाप बस्ने पैसा सकिएपछि भिजा सकिएपछि आजको भोली समस्या समाधान हुनुपर्छ भन्ने युवाहरुलाई हामीले कहिलेसम्म पीडितको कोटिमा राख्ने ? ठगिएर आएको युवाले एकसाता भित्रै थाहा पाउछ आफु ठगिएको कुरा । तर जानी जानी प्रलोभनमा परि आउने उपाए नलाएपछि बल्ल पीडित बन्नेहरुलाई मानवीय सहयोग ।(खाने बस्ने  बाहेक) अन्य कुरामा टिकट लगायतका लागि यहाँका मजदुरले चन्दा उठाएर सहयोग गर्न जरुरी छैन । 
४. आम नागरिक तथा समाजिक अगुवाहरुले  दुतावासले कारवाही नगरेको भन्दै दुतावासका कर्मचारी प्रतिनै आशंका ब्यक्त गरेको पनि देखिएको छ । दुतावास न्यायिक निकाय हो की होईन ? अपराधीलाई न्यायिक कठघरामा उभ्याउने गृह प्रसासनको अंग हो, यो बिषयमा पनि बहस गर्नुपर्छ । कुनै अपराधीलाई अपराधको सजाय दिलाउने कानुनी प्रकृया के हुन्छ त्यो बिषयमा पनि छलफल हुन जरुरी छ । दुतावासको स्थापना भए देखिनै यो बिषयमा प्रश्न उठ्दै आएको छ । आफ्नो काम कर्तब्य र अधिकारबारे दुतावासले प्रष्ट पार्न सक्नुपर्छ । बिगतमा भन्दा अहिले दुतावास स्थानीय संघ संस्थाहरु संग सहकार्यगरि नेपाली नागरिकलाई परेका समस्या  समाधानका लागि बढि कृयाशिल भएको देखिन्छ । कतिपय घट्नामा कमिकमजोरी हुँदा त्यसलाई सच्चाउन सचेत पार्न सकिन्छ । तर कर्मचारीको मनोबल घट्ने गरि तथानाम भन्ने सामाजिक सञ्जालमा लेख्ने काम राम्रो होईन । 
५. युवालाई पर्यटक भिजामा ल्याएर अलपत्र पार्ने काममा नेपालका मात्र होईन युएईमा रहेका दलालको पनि हात हुन्छ । त्यस्ता मानिसलाई नेपाल फिर्ता पठाउने गरि कारवाही गराउन दुतावासले चासो देखाउनुपर्छ । बिगत देखिनै यो समस्या देखिएको छ । तर नेपाली दुतावास युएईले अहिलेसम्म कुनै दलाललाई कारवाही गरि डिपोर्ट गरेको सुन्नमा आएको छैन । अहिले चर्चामा रहेको घट्नामा मुछिएका साजन भनिने प्रेम पाण्डेले ज्यान मार्ने धम्की समेत दिएको सार्बजनिक भएको छ । त्यसैले दुतावासले डिपोर्टको सुरुवात यहिबाट गर्नुपर्छ । 
६. प्रवासमा नेपालीले दुःख पाउने जति कारण छन् त्यसको ९० प्रतिशत कारण नेपालमा नै छ । पीडित भनिएका युवाले मुलुकमै गोप्य रुपमा कतिपय अवस्थामा प्रमाण पनि नलिईकन नेपालमै पैसा बुझाउछन् । कामका लागि पर्यटक भिजामा युएई आउन नेपाल सरकारले रोक लगाएको छ । तर, नेपालकै विमानस्थल प्रयोग गरि धमाधम युवाहरु आईरहेका छन् । यस्ता घट्नामा अध्यागमनका कर्मचारीको मिलेमतो प्रष्ट देखिन्छ । तिनिहरुलाई कहिले कारवाही गर्ने ? अहिले अलपत्र परेका युवाहरु कुन कुन समयमा अध्यागमनबाट पास भए त्यो बेला ड्युटीमा कोको थिए पत्ता लगाएर कारवाही गरिनुपर्छ । 
निष्कर्ष ः यहाँ रहेको नेपाली दुतावास तथा नेपाल पत्रकार महासंघ लगायतका संघ संस्थाहरु यहाँ रहेका नेपाली नागरिकको हितका लागि स्थापना भएका हुन र त्यसैका लागि क्रियाशिल छन् । काम गर्ने क्रममा जानीनजानी कमी कमजोरी हुन सक्छन् । एक अर्काका कमीकमजोरी देखाएर सामाजिक सञ्जाल फोहर पार्नु भन्दा आपसमा छलफल गरि मुख्य उद्धेश्य केन्द्रित हुनु नै सबैका लागि लाभदायक हुन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप