शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अत्यधिक आयातले चुलियो व्यापार घाटा, चार महिनामा पेट्रोल मात्र ६९ अर्बको आयात

बिहीबार, १३ मङ्सिर २०७५, १६ : २५
बिहीबार, १३ मङ्सिर २०७५

काठमाडौं– व्यापार घाटा बढ्दै जानेक्रमले चालू आर्थिक वर्ष (२०७५/०७६) को चार महिनामा पनि निरन्तरता पाएको छ । 

चार महिनामा देशले ५ खर्ब १३ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेकोमा ९४.३ प्रतिशत आयातित व्यापार भएको छ । जब कि यो चार महिनामा निर्यात भने ५.७ प्रतिशत मात्र रहेको छ, अर्थात २९ अर्ब २८ करोड रुपैयाँको मात्र सामान निर्यात गर्न सकेको छ । 

यद्यपि, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले निर्यात गत वर्षको तुलनामा १०.७ प्रतिशतले वृद्धि भएको जनाएको छ । ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ सामान आयात हुँदा निर्यातको यो अवस्था निकै निराशाजनक देखिन्छ ।

 निकासी थोरै मात्रामा भए पनि बढ्नुको कारण कच्चा धागो, ऊनीको गलैँचा र तयारी पोसाक निर्यातमा भएको वृद्धि नै हो । 

चार महिनामा २ अर्ब ९३ करोड ३१ लाख ३३ हजार रुपैयाँ बारबरको कच्चा धागो नेपालले निर्यात भएको छ । यो भनेको १९ प्रतिशतको वृद्धि हो भने कुल निकासीमा यसको योगदान १० प्रतिशत हो । 
यसैगरी ऊनीको गलैँचा २ अर्ब ७६ करोड ४९ लाख ४५ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । 

चार महिनामा यो वस्तुको निर्यात १७.९ प्रतिशतले वृद्धि हो । गत वर्षको यसै अवधिमा यस्तो सामान २ अर्ब ३४ करोड ४२ लाख ७१ हजार रुपैयाँ थियो ।

 अहिले सम्पूर्ण निर्यातमा यसको मात्र योगदान ९.४ प्रतिशत छ । तयारी पोसाक २ अर्ब ४० करोड रुपैयाँको निर्यात भएको छ । 

नेपालले निर्यात गर्ने ठाउँहरूमा भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, बेलायत, टर्की, चीन, बङ्गलादेश, इटाली जापान, फ्रान्स, क्यानडा, अस्ट्रेलिया, डेनमार्कलगायत रहेका छन् । 
 
चार महिनामा ६९ अर्बको पेट्रोलियम पदार्थ भित्रियो
नेपालमा सबैभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थ अग्रस्थानमा रहेको छ । चालु आर्थिक वर्षको चार महिनामा ६९ अर्ब ७ करोड ५८ लाख ४२ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ ।

यो भनेको गत वर्षको यसै अवधिको तुलनामा ६८.२ प्रतिशतले वृद्धि हो । गत वर्षको चार महिनामा ४१ अर्ब ७ करोड १५ लाख ३५ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । 

दोस्रो धेरै आयात हुने वस्तुमा फलाम तथा फलामजन्य उत्पादन देखिएका छन् । यस्तो वस्तु चार महिनामा ५८ अर्ब २० करोड ४१ लख ४१ हजार रुपैयाँ बराबरको भित्रिएको छ । 

 यो गत वर्षको तुलनामा ६२ प्रतिशतले वृद्धि हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक सुयेस खनालले फलाम धेरै भित्रनुले देशमा विकास निर्माणका कामहरू अघि बढिरहेको बुझ्न सकिने बताउँछन् । 

अरू सामानमा जस्तो धेरै फलाम भित्रनुमा आत्तिनुपर्ने अवस्था नरहेको उनको तर्क छ ।  

नेपालले भारत, चीन, फ्रान्स, यूएई, थाइल्यान्ड, इन्डोनेसिया, स्विटजरल्यान्ड, मलेसिया, क्यानडा, भियतनाम, अर्जेन्टिना, युक्रेनलगायतका देश रहेका छन् । 

चालु आर्थिक वर्षको चार महिनामा समग्र निर्यातमा केही सुधार देखिए पनि आयातमा अत्यधिक वृद्धिका कारण देशले चार महिनामा ४ खर्ब ५४ अर्ब ४७ करोड रुपैयाँ व्यापार घाटा बेहोर्नुपरेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप