शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीखण्डको व्यावसायिक खेती

मङ्गलबार, १० साउन २०७४, १३ : ५९
मङ्गलबार, १० साउन २०७४

डडेल्धुरा । जिल्लामा पहिलो पटक बहुमूल्य जडीबुटीे श्रीखण्डको व्यावसायिक खेती शुरु गरिएको छ । 

जिल्लाका विभिन्न गाउँपालिकाका कृषकले श्रीखण्डको बिरुवा उत्पादन गरेर खेती गर्न थालेका छन् । नर्सरी स्थापना गरी श्रीखण्डका बिरुवा उत्पादन गर्न थालेको भागेश्वर गाँउपालिका–४ का खेमराज जोशीले बताए । उनले बगरकोटमा नर्सरी स्थापना गरेका छन् । 

“जीवन निर्वाह गर्न बिरुवा उत्पादन गर्न शुरु गरेको हुँ,” उनले भने । नर्सरीमा ५०० बिरुवा उमारेका जोशीले प्रतिबिरुवा रु ३०० का दरले बिक्री गर्न थालेका छन् । उनले भारतबाट बीउ ल्याई गत फागुनमा नर्सरी स्थापना गरेका हुन् । एउटा रुख तयार हुन १० देखि १५ वर्ष लाग्छ । प्रतिरुखबाट रु तीन लाखसम्म आम्दानी गर्न सकिन्छ । बाँझो जमिनलाई हराभरा बनाउन र आर्थिक रुपमा सबल बन्न श्रीखण्ड लगाउन थालेको जोशीको भनाइ छ । 

श्रीखण्डको बिरुवा उत्पादनमा अजयमेरु गाउँपालिका भद्रपुरका उज्ज्वलदत्त पनेरु समेत सक्रिय हुनुभएको छ । धार्मिक पूजा र चन्दनका रुपमा मात्रै नभई श्रीखण्ड औषधिका रुपमा समेत प्रयोग गर्ने गरिन्छ । यसको महत्व बुझेपछि जिल्लाका अन्य ठाउँका किसानले समेत श्रीखण्ड रोप्न थालेका छन् ।

“बाँझो जमिनमा बिरुवा लगाउन थालेकी छु,” अजयमेरुकी राजेश्वरी भट्टले भने । 

श्रीखण्डबाट हस्तकलाबा वस्तु, अगरबत्ती, पाउडर, तेल बनाउन प्रयोग गरिन्छ । पानीमा मिसाएर श्रीखण्ड खाएमा टाउको दुखेको, ज्वरो आएको, शरीरका भाग सुन्निएको, छालाको चिलाइ, लुतो, पिसाब पोल्ने, रगत बढी बग्ने, स्मरणशक्ति कमजोर भएका, छारे, मुटुरोग निको हुने बताइन्छ । 

सडक अवरुद्ध हुँदा खच्चरको प्रयोग 

ग्रामीण क्षेत्रमा सडक अवरुद्ध बनेपछि खच्चरको प्रयोग गर्न थालिएको छ । वर्षाका कारण ग्रामीण सडक अवरुद्ध भएसँगै खच्चर व्यवसायीले काम पाउन थालेका छन् । 

जिल्लाका विभिन्न ग्रामीण सडक अवरुद्ध हुँदा दैनिक उपभोग्यदेखि अन्य सामग्री बोक्ने भरपर्दो माध्यम खच्चर बनेका छन् । सामग्री ढुवानी गर्न खच्चरको विकल्प नभएको भागेश्वर गाउँपालिका–४ आरुकुडाका खच्चर व्यवसायी हरि भाट बताउँछन् । वर्षात्को समयमा खच्चर व्यवसायी काम पाउँदा खुशी भएका छन् । 

खच्चरमा सामग्री ढुवानी गर्दा सामान्यतया प्रतिकिलोमिटर किलोको रु सातदेखि रु १० सम्म लिने गरिन्छ । दुर्गम ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य सामग्रीदेखि अन्य सामग्री ढुवानी गर्न खच्चरको प्रयोग गरिँदै आएको छ । खच्चर मार्फत सामग्री ढुवानी गर्न थालेपछि दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ भने यातायातका सवारीसाधन सञ्चालनमा नआउँदा सर्वसाधारण पैदल हिँड्न बाध्य छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप