शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ब्रिटिस आर्मी भविन्द्र राईको जीवन : किताबमा मात्रै मासिक २० हजार खर्च

शनिबार, १५ मङ्सिर २०७५, १२ : ४६
शनिबार, १५ मङ्सिर २०७५

‘बेलायतमा रहे पनि नेपालकै सपना देख्छु,’ ब्रिटिस आर्मीमा कार्यरत सार्जन्ट भविन्द्र राईले सुनाए, ‘नेपाल नै सम्झिरहेको हुन्छु । नेपाललाई बिर्सन सकिँदैन ।’ 

‘आर्मी करिअर’ मा संसार घुमेका उनको मान्यता छ, ‘नेपाललाई नेपालजस्तै बनाउनुपर्छ । नेपालीमा ‘ग्रोथ अफ ह्याप्पिनेस’ हुनुपर्छ । खुसी र सुखी नेपाली देख्ने चाहना छ ।’ गोरखा सैनिकबाट अवकाश लिएपछि नेपाल फर्केर गाउँठाउँमै व्यवसाय गरी रमाउने योजना बनाएका १४ वर्षदेखि बेलायती सेनामा कार्यरत भविन्द्र राईसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी : 

मेरो खाना
बेलायतमा रहे पनि नेपाली खाना नै खाने गरेको छु । गोर्खाली पल्टन भएकाले ब्रिटिस र नेपाली दुवै खानेकुरा पाइन्छन् । मैले नेपाली खाना छान्ने गर्छु । खाना कम खान्छु । खानाभन्दा सलाद धेरै लिन्छु । पास्ता र तरकारी पनि त्यत्तिकै खान्छु । त्यति मन नपर्ने भएकाले मासुचाहिँ कम खाने बानी छ । पल्टनमै रहे पनि महिनामा एकपटक परिवारसहित रेष्टुरेन्टसम्म पुगेर खाने गर्छौं । रेष्टुरेन्ट पुगिहाल्दा चाइनिज र जापानी खानेकुरा  रोजाइमा पर्छन् । 

मेरो पोसाक
ब्रिटिस आर्मीको कपडा धेरैप्रकारका हुन्छन् । ‘र्याङ्क बेस’ मा लगाउने कपडा पनि हुन्छ । तालिम र विशेष समारोहमा लगाउने कपडा फरक–फरक हुन्छन् । त्यसबाहेक जिन्स, टी–सर्ट र ब्लेजर लगाउन मन पर्छ । त्यसका लागि वर्षमा २० हजार रुपैयाँजति खर्च होला । कपडा किनेर सिलाउँदा महँगो पर्ने भएकाले प्रायः रेडिमेड कपडा नै प्रयोग गर्छु । 

मेरो फिटनेस
पल्टनमा धेरै फिटनेस गर्नेमध्ये पर्छु । पल्टनमा सामूहिक रूपमा गरिने शारीरिक अभ्यासबाहेक सातामा पाँच दिन जिम जान्छु । दैनिक स्वीमिङ गर्छु । रनिङ गर्न परिगयो । हाइकिङ गइरहन्छु । दैनिकजसो बिहान–बिहान योगा पनि गर्छु ।    

मेरो अध्ययन
दुई विषयमा स्नातक गर्दै छु । युनिभर्सिटी अफ न्युक्यासलबाट ‘लिडरसिप अफ मेनेजमेन्ट’ र युनिभर्सिटी अफ पोस्र्टमाउथबाट ‘बिजनेस लिडरसिप अफ मेनेजमेन्ट’ मा स्नातक गर्दै छु । दुवै विषयमा स्नातक गर्ने छात्रवृत्ति ब्रिटिस आर्मीबाट पाएको हुँ ।

‘टप अफ दी हिल’ नामक इटालियन नोबल भर्खरै पढिसकें । ननफिक्सन बुक पढ्न जाँगर चल्छ । जुन पायो त्यही किताब पढ्न मन लाग्दैन । अटो बायोग्राफी पढ्न त्यत्तिकै आनन्द लाग्छ । मेरो सबैभन्दा धेरै खर्च किताबमा हुन्छ । अडियो बुक त्यत्तिकै महँगा हुन्छन् । किताबमा मात्रै मासिक २० हजार रुपैयाँ खर्च हुन्छ । 

पाठ्यक्रमबाहेक नेपाली किताब पनि पढिरहेको हुन्छु । नेपाली लेखकमा राजन मुकारुङ, खगेन्द्र संग्रौला र देश सुब्बाको लेखनशैली असाध्यै मन पर्छ ।     

मेरो घुमफिर
घुमफिरमा पनि त्यत्तिकै खर्च गर्नेमध्येमा पर्छु । पल्टनमा तीन–तीन महिनामा बिदा पाइन्छ । बिदाको समय सदुपयोग गर्दै परिवारसँग घुमफिरमा निस्किरहन्छौं । ब्रुनाईमा रहँदा साउथ एसिया पूरै घुमियो । नेपालका ७७ जिल्लामध्ये अधिकांश जिल्ला टेकेको छु । 
घुमेकामध्ये जापान, फ्रान्स र नेपालको लाङटाङ असाध्यै मन पर्यो । मलाई अमेरिका र जर्मनी जाने रहर छ । 

मेरो फुर्सद
बेलायती सेनामात्रै नभएर अध्ययनमा जुटेकाले फुर्सद निकाल्न गाह्रो हुन्छ । पल्टनमा रहँदा चाँडो उठ्ने र राति अबेरसम्म पढ्छु । तालिममा जाँदा भने त्यसो गर्न सम्भव हुँदैन । म सार्जन्ट हुँ । ड्युटीमा अधिकांश समय कम्प्युटरमै बिताउनुपर्छ । पाठ्यक्रमको पाठ्यपुस्तक पढ्न कम्प्युटरकै सहायता लिनुपर्छ । ‘आर्मी करिअर’ मा रहेकाले भनेजति समय परिवारलाई दिन नसके पनि दिने प्रयत्न गर्दै आएको छु । फुर्सद पाइहालेमा अध्ययन गर्छु । छोरीसँग रमाउँछु । कहिलेकाहीं चलचित्र हेर्छु ।   
मेरो खेलकुद
पल्टनमा सामान्यतया भलिबल, फुटबल र बास्केटबल खेल्छु । स्की (स्कीबाट पल्टनको रिप्रिजेन्ट) गर्छु । प्याराग्लाइडिङ र ग्लाइडिङ (दुवैको पाइलट हुँ) गर्छु । माउन्टेरिङको लिडर्स हुँ । डाइभिङ पनि गर्छु ।      
मेरो मोबाइल
मैले आइफोन सेभन प्रयोग गर्दै आएको छु । त्यतिबेला यसको १ लाख ५५ हजार रुपैयाँ परेको थियो । मोबाइल फेरी–फेरी बोक्ने बानी छैन । मेरो मोबाइलमा एजुकेसन एप्लिकेसन बढी छ । सोसल मिडिया युज गरेको छैन ।   

मेरो टीभी
पल्टनघरमा सामसुङ टीभी भए पनि हेर्दिनँ । ४० इन्चको टीभीको चार–पाँच सय पाउन्ड परेको थियो ।

मेरो चलचित्र
पछिल्लो समय नेपाली चलचित्र ‘दुई रुपैयाँ’ हेरेको थिएँ । इंग्लिसमा ‘अ स्टार इज बर्न’ हेरें । हलसम्मै पुगेर चलचित्र हेर्न आनन्द लाग्छ । इंग्लिसमा ब्राड्ली कुपरको अभिनय जीवन्त लाग्छ । हिन्दी चलचित्र नहेरे पनि आमिर खान मन पर्छ । नेपालीमा दयाहाङ राईको अभिनय लोभलाग्दो छ । 

मेरो रोग
आजसम्म स्वस्थ छु । मानिस सक्रिय हुनुपर्छ । मानसिक र शारीरिक रूपमा आराम लिन जान्नुपर्छ । यतिमात्रै गर्न सकेमा सधैं स्वस्थ रहन सकिन्छ । 

मेरो भाषणशैली
भर्ती भएपछि दुईदेखि तीन वर्षसम्म ‘लोयर र्याङक’ मा रहन्छौं । त्यसपछि ‘प्रमोसन कोर्स’ गर्दै जानुपर्छ । हामीले ‘स्पीच’ भन्दा ‘इन्सट्रक्टर’ कोर्स गर्दै जानुपर्छ । प्रशिक्षकले प्रशिक्षण दिनुपर्छ । मैले प्रशिक्षण दिँदा दिन खोजेको कुरा प्रस्ट्याउन सक्छु । प्रशिक्षण दिँदा अहिलेसम्म विवादमा तानिएको छैन ।  

मेरो मापसे
म मादक पदार्थबाट टाढै छु । 

मेरो संगीत
रोजगारीको प्रकृतिअनुसार यात्रामा निस्किरहनुपर्छ । त्यतिबेला गीत–संगीत सुन्ने गर्छु । एक्स ब्यान्ड, मन्त्रलगायतका नेपाली गीत सुन्छु । लेडी गागालाई सुन्न छाडेको छैन । म कहिलेकाहीं गुनगुनाउँछु । गुनगुनाउँदा आफ्नो स्वर साह्रै नराम्रो सुनिन्छ । 

मेरो भूल
जीवनमा यहाँसम्म आइपुग्दा पश्चाताप लाग्नेगरी गल्ती गरेको छैन । तर, आईए पढ्दा त्यति मिहिनेत नगरेको समय सम्झँदा दुःख लाग्छ । त्यतिबेला पढाइमा मिहिनेत नगर्दा ‘आर्मी करिअर’ मा प्रभाव पारेको थियो । त्यसैले पल्टनमा पुनः पढ्न थालेको हुँ । 
आर्मीमा ‘डिसिजन मेकिङ सार्प’ हुनुपर्छ । गलत निर्णयले मानिसको जीवन जान सक्छ । तसर्थ, सधैं सचेत रहनुपर्छ । 

मेरो घर
पल्टनमा पल्टनघरमा बस्दै आएको छु । ललितपुरमा रहेको घर सन् २००८ मा किनेको हुँ । बनेको घर किन्दा ६१ लाख रुपैयाँ परेको थियो । 

मेरो राशी
मेरो राशी आफैंलाई थाहा छैन । आफैंले नगरे पनि आमाबुवाले ग्रहदशा, ग्रहशान्ति गराइदिनुभयो कि ?
मेरो सौन्दर्यचेत
कपालमा वाक्सको जेल लगाउँछु । अनुहारमा सन्सक्रिम प्रयोग गर्छु । 

मेरो प्रेम
प्रेमलाई मागीबिहेमा रूपान्तरण गरेका हौं । प्रेमप्रस्ताव मैले राखेको थिएँ । 

मेरो सपना 
बेलायतमा रहे पनि नेपालकै सपना देख्छु । नेपाल सम्झिरहेको हुन्छु । ‘आर्मी करिअर’ मा संसार घुमें । देखें । तर, नेपाल बिर्सन सकिँदैन । नेपाललाई संसारको विकसित देशजस्तो बनाउनुपर्छ भन्ने होइन । तर, नेपालीमा ‘ग्रोथ अफ ह्याप्पिनेस’ होस् । नेपाली सधैं खुसी र सुखी भएको देख्ने चाहना छ । त्यतिमात्रै होइन, एउटा मुलुक हुनाका लागि आधारभूत आवश्यकता होस् । सरकारी कार्यालय पुगेका सेवाग्राहीको काममा ढिलासुस्ती नहोस् । सेवाप्रदायक र सेवाग्राहीलाई आचारसंहिताले बाँधोस् ।

बेलायतबाट अवकाश लिएपछि नेपाल फर्केर गाउँठाउँ (हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम) मै व्यवसाय गरेर रमाउँछु । विदेशमै ‘सेटल’ हुने योजना छैन ।  

मेरो मृत्यु
मृत्यु ध्रुवसत्य हो । टारेर टार्न सकिँदैन । ‘आर्मी करिअर’ मा मृत्यु नजिक–नजिक पुगेको घटना दुर्घटना भनिसाध्य छैन । 

सन् २००७ मा अफगानिस्तानमा थिएँ । हामी गस्तीमा निस्केका थियौं । हाम्रा दोभाषे मभन्दा पछाडि थिए । म अघि बढें । पछाडि रहेका दोभाषले लुकाएर राखिएको माइन टेकेछन् । माइन पड्केर उनको ज्यान गयो । त्यतिबेला सेकेन्डले मात्रै मेरो ज्यान जोगिएको थियो । त्यस्ता घटना थुप्रै छन् । 

मृत्यु सहज होस् । मेरो मृत्यु हुँदा कसैले ऊ असल थियो भनिदिए पुग्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप