शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कृतज्ञता र लोकतन्त्र

शनिबार, १५ मङ्सिर २०७५, १३ : ४४
शनिबार, १५ मङ्सिर २०७५

मानव समाजमा कृतज्ञता प्रवुद्ध संस्कृतिको उपज हो । लोकतन्त्र तथा लोकतान्त्रिक विकासका लागि त यो अपरिहार्य आवश्यकता नै हो । 

मानिसमा कृतज्ञता सुन्दर अलङ्कार हो । पशुहरुमा पनि कृतज्ञता त हुन्छ त्यो शब्द र व्यवहारको विशिष्टतामा व्यक्त हुँदैन ।

 जस्तै कुकुर तथा घोडाजस्ता कतिपय पशुहरु आफ्ना स्वामीप्रति कृतज्ञ देखिन्छन् । स्वामीबाहेकका अन्य विभिन्न हितैषीहरुप्रति कृतज्ञ नहुन पनि सक्छन् ।

 प्रकृतिप्रति कृतज्ञ नहुन सक्छन् । प्रायः पशुहरुमा विश्लेशण क्षमताको अभाव हुन्छ । धेरैजसो पशुहरुमा कृतज्ञताभाव पनि देखिँदैन । मानिस पनि सवै कृतज्ञ हुन्छन् भन्ने छैन । कृतज्ञता जन्मजात गुण पनि होइन । 

बुढापाकाहरु भन्थे–दानशीलता, प्रियवादिता, धीरता, उचितज्ञता र कृतज्ञता संस्कृतिमा पाएर अनि अभ्यासमा उतारेर सहज बनाउन सकिने गुणहरु हुन् ।  यसैले संस्कारविहीन मानिसको कृतज्ञताप्रति प्रायः मानिसकै विश्वास छैन ।

 वर्षौंको सामन्ती राज्यव्यवस्थाबाट सिर्जित सामन्ती मनोवृत्तिका कारण हाम्रो पारिवारिक संस्कृतिमा त कृतज्ञता प्रायः छैन नै । 

राजनीतिक संस्कृतिमा पनि छैन । दलहरुको पाठ्यसामग्रीमा कृतज्ञताको अध्ययन खण्ड समाविष्ट नै रहेन । 

जनताका प्रजातन्त्रका लागि क्रियाशील रहने भनिएको वाम राजनीतिमा कृतज्ञता अनिवार्य चरित्र नै हुनु पर्ने थियो र पनि छैन । आफ्ना समर्थक, सहयोगी र मतदाता जनताप्रति नेता कार्यकर्ता कृतज्ञ देखिँदैनन् ।

 हिजो भूमिगतकालमा आफ्नो ज्यान धरापमा राखेर आश्रय, सेवा र सहयोग प्रदान गरेका जनसामान्यलाई सत्तामा पुगेपछि नेताले चिन्नै छाडेका दृष्टान्त राजनीतिक दलहरुका सन्दर्भमा बग्रेल्ती पाइनसक्छन् । 

यसैले मानव समाजमा कृतज्ञताभावलाई उच्च संस्कार र लोकतान्त्रिक संस्कृतिको प्रकाशमा फुल्ने मानवीय चेतनाका रुपमा पनि लिन सकिन्छ । राजनेताहरु स्वार्थान्धताबाट बाहिर निस्केर सुसंस्कृत र साँच्चिकै लोकतान्त्रिक उज्यालोमा यात्राशील नबन्दासम्म तिनीहरुबाट जनताले कृतज्ञताको अपेक्षा गर्नु अरिङ्गालको गोलोबाट मधुरतम महको अपेक्षा गर्नुजस्तै भएको छ  ।

  कृतज्ञता कपिराइटको सम्मान पनि हो । आफूभन्दा पहिले कसैले गरेको कामलाई ससम्मान उनकै नाममा उद्धृत गरेर अगाडि बढ्नु कपिराइटको सम्मान हो । 

विद्वत्ताको सम्मान हो । कामको सम्मान हो । काम गर्नेहरुको सम्मानमा नै लेखिन्छ, इतिहास । इतिहासमा टेकेर वर्तमान उत्तरोत्तर उज्ज्वल भविष्यतिर अगाडि बढ्छ । यो मानव सभ्यताको कथा पनि हो । जगत्गुरु कार्लमार्क्सले आफूभन्दा अगाडिका उल्लेखनीय सबै दार्शनिकहरुलाई श्रेय दिएर त्यसै जगमा द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादको संरचना ठड्याउनु भएको छ । यो कृतज्ञताको संस्कृति हो । तिनै जगत्गुरुका नेपाली चेलाहरुले कृतज्ञताको सामान्य पाठ पनि नसिकेको देख्दा उदेक लाग्छ । 

नेपालमा विशेषतः संसदीय कम्युनिष्टहरुको राजनीतिमा कृतज्ञताको अनिकाल व्यापक रूपमा देखिँदै आएको छ । आफूभन्दा अघिल्लो पुस्ताको प्रयासलाई नामेट पार्न निमित्त आमूल गलत इतिहास लेख्ने र प्रचार गर्नेसम्मका प्रयत्नहरु पनि आजको नेपालमा यिनीहरुको विशिष्टता नै बनेको देखिएको छ ।

 यिनीहरुको परिपाटीमा हरेक नीति, राजनीति दर्शन, संघर्ष र उपलब्धिको इतिहास दलका नेता आफैँबाट शुरु हुन्छ । मानौं उनीहरु नेता हुनुअघि मुलुकमा सभ्यताको नामोनिसानै थिएन । 

मानिसहरु जङ्गलबाट भर्खरै बस्तीमा छिरेका थिए । समाजमा इतिहासचेत छिरेकै थिएन । यहाँ जेजति भयो त्यो सबै यसै पछिल्लोपुस्ताका नेताहरुको पराक्रमको करामात हो !

हिँडिसक्यो पाइलो मेट्यो । खोला त¥यो लौरो बिस्र्यो । उपयोग ग¥यो हुत्ता लगायो । यो हाम्रो लोक परम्परा होइन । हाम्रो त ढिकीजाँतो कुचोे र हलो कोदालोको पनि पूजा गर्ने परम्परा हो । घर बनिसकेपछि वास्तुदेवका रुपमा जगका ढुङ्गाहरुको पनि पूजा गरेर मात्र गृहप्रवेश गर्ने परम्परा हो । हाम्रो परम्परामा कृतज्ञताको भाव घनीभूत छ । पूर्वजहरुप्रति गरिने आदर सम्मान कृतज्ञताकै अभिव्यक्ति हो । गुन बिर्सनु हुँदैन, गुनको बदला गुनले तिर्नुपर्छ, गुनकटुवा बन्न हुँदैन यी हाम्रा लोकमान्यताका अभिव्यक्तिहरु हुन् ।

नेताहरु एक घण्टाको भाषणमा ३०० पटक म भन्छन् । मेरो पार्टी, मेरो सपना, मेरो प्रयास, मेरो निर्णय ! मानौं यस जगत्मा क्रियाशील उनी केवल उनी मात्र छन् । 

नेताहरु कसका सहयोगमा कसरी कहाँ उभिएका छन् , कसको बलमा बोल्छन्, कसको उपार्जन खाएका छन् , सबै बिर्सन्छन् । 

 कृतज्ञ मन मस्तिष्कले यसरी साच्नै सक्दैन । हामीले राति सुत्नु बिहान उठ्नु र उभिनुमा पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा धेरैको सहयोग रहेको हुन्छ । समाजमा कुनै म एक्लो छैन । सहयोगनिरपेक्ष छैन । बरु सामन्ती परिवेशमा हुर्केका राजाले सम्बोधन गर्दा हामी भन्थे ।

 कम्युनिष्ट नेताहरु हामी भन्दैनन् । हाम्रो भन्दैनन् । यो नेताहरुको स्वभावमा कृतज्ञताको संस्कार संस्कृति कत्ति पनि नहुनुको जीवन्त अभिव्यक्ति हो । नेपालको वाम राजनीतिमा विशेषतः यस राजनीतिका नेता कार्यकर्ताहरुमा कृतज्ञताको संस्कृति अद्यावधि विकसित नहुनु, सधैं निषेध र मपाइँको संस्कृति प्रभावी रहेको देखिनु हामी जनताका लागि खुसीको कुरा होइन । 

 यो वाम राजनीतिकोे सौन्दर्य होइन । यो त कुरुपता हो । अरुका योगदानहरुप्रति कृतज्ञ हुन नसक्नु साँस्कृतिक रुपमा प्रगतिशील हुन नसक्नु नै हो । अझ पूर्वजहरुको योगदानहरुको उपेक्षा गर्नु भनेको आफू उभिएको जग र जमिनको उपेक्षा गर्नु पनि हो । यो उपेक्षा नेपालका विशेषतः संसदीय कम्युनिष्टहरुमा बढीनै प्रभावी देखिएको छ ।

हिजो भूमिगत हुँदा कहाँ क–कसले कति सेवा सहयोग र त्याग गरे त्यसप्रति आजका सत्तासीनहरुमा कृतज्ञताभाव छैन । योगदानीहरु भेट भए पनि यिनीहरुले चिन्दैनन् । 

नेपाली कम्युनिष्टहरुको राजनीतिक संस्कृतिमा आफूलाई सिकाउने सघाउने र अगाडि बढाउने पूर्वज कम्युनिष्टहरुप्रति र आफ्ना साक्षात् गुरुजनहरुप्रति पनि आदरभाव छैन । 

आज एकथरी कम्युनिष्टहरु सत्ताको धुरीमा पुगेका छन् । हिजो क–कसका योगदान र वलिदानले यिनीहरु आज त्यहाँ छन्, त्यो हेक्का नहुनु भनेको उनीहरुमा कृतज्ञताको सर्वथा अभाव हुनु नै हो । 

शब्दान्तरमा भन्नुपर्दा यो पराकाष्टाको कृतघ्नता नै हो । यसो भन्नुपर्दा हामी सर्वसाधारण जनतालाई दुःख लाग्छ । तर यथार्थ यस्तै दुःखद छ ।

नेपालमा जनताले कम्युनिष्टहरुलाई धुरी चढाएका हुन् । यस अभियानमा हजाराँैको ज्यान गएको छ । लाखौंलाखले कष्ट भोगेका छन् । नेपाली कम्युनिष्टहरुको अघिल्लो पुस्ता त जग निर्माणकै पुस्ता हो । त्यस पुस्ताका कर्मठ कामरेडहरु धेरै त विदेह भइसक्नुभएको छ । केही आज पनि बाँकी हुनुहुन्छ । उहाँहरुकै योगदान एवम् वलिदानको परिणामस्वरुप आज सदन, सडक, घर र जङ्गल जताततै कम्युनिष्टहरु छन् ।

 सत्तासीन कम्युनिष्टहरुमा यो तथ्यवोध किन छैन त्यो यिनीहरुको आजको क्रियाकलाप हेरेर पनि बुझ्न त सकिन्छ, बुझेर सन्तोष मान्न सकिँदैन । आज यिनीहरु सामन्ती तामझाममा ढल्केका छन् । एउटा सिन्को भाँच्दा पहाडै सम्याएको प्रचार गरेर फुस्स फूल्ने आत्मरतिमा डुबेका छन् । आफ्ना प्रियजनहरुबाट जन सामान्यमाथि भएका जघन्य अन्याय अत्याचारको ढाकछोपमा भुटभुटिएका छन् । 

सीमित स्वार्थका लागि जङ्गल मासेर जनताको प्राणवायु पनि सक्याउने अभियानमा लागेका छन् । विकास र विनाशबीचको फरक छुट्याउने विवेक गुमाएर हुइँकिएका छन् ।

 यिनीहरुका दृष्टिमा जनता त केवल भ¥याङ मात्र हुन् । तलामा उक्लेपछि फेरि अर्को तलामा उक्लन नपर्दासम्म भ¥याङको के काम ? यसैले यिनीहरु जनताको टाउकोमा कुल्चेर जनताकै रगतपसिनाको कमाइ खर्चेर जनतालाई भ्रम बाँड्न सकेकोमा आत्मतृप्त देखिएका छन् ।

 यिनीहरु अहिले जनताको ढुकुटी खर्चेर विदेशी धर्मतुम्बीहरु जुटाउने र तिनीहरुको आशीर्वाद थापेर राज्यभोग गर्ने सपनामा उत्रेका समेत् देखिएका छन् । 

यिनीहरुको  आत्महन्ता चुरीफुरी देखेर जनताका आँखा र कानलाई लाज लागेको छ ।

यो यस्तो अवस्थामा पनि यस वर्ष नेपालमा नयाँ पुराना स्वप्नशील कम्युनिष्ट मित्रहरुले अक्टोबर क्रान्ति शतवार्षिक समारोह संयोजक समिति निर्माण गरेर त्यसको प्रयासमा वर्षभरि मुलुकका विभिन्न भेगमा विभिन्न समारोहहरु गर्नुभयो । 

 नेपालमा कम्युनिष्ट पार्टीको गठन र विकासमा आफ्ना योगदान प्रदान गर्नुभएका र आठ दशक उमेर पार गरिसक्नुभएका वरिष्ठ र अति आदरणीय कामरेडहरुलाई  सम्मान योजनासहित यही शनिबार राजधानीमा गीत संगीत र साहित्य वाचनसहितको भव्य उत्सव आयोजनाका साथ अक्टोबर क्रान्ति शतवार्षिकीको समारोह समापन सत्र पनि आयोजना गर्नु भएको देख्न पाइएको छ ।

 यो देख्न पाउँदा हामीलाई हाम्रो मुलुकमा कम्युनिष्टप्रेमी संघर्षशील जनता मात्र छैनन्, जगत्गुरु कार्लमार्क्सको शिक्षालाई हृदयङ्गम गरेर चल्ने जनहितैषी कम्युनिष्ट मनिषीहरु पनि छन् । तिनमा कृतज्ञताका संस्कृतिको अभैm त उन्मूलन भएको छैन भनेर अलिकति भने पनि सन्तोष र प्रसन्नताको सास लिन सकिने स्थिति प्राप्त भएको छ । 

यो अन्धकारकाबीच उज्यालोको आरम्भ हो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुक्तिबन्धु
मुक्तिबन्धु
लेखकबाट थप