शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी समाचार प्रभावः नगरकोट जाने पर्यटकलाई राहत

बुधबार, १९ मङ्सिर २०७५, १९ : ५६
बुधबार, १९ मङ्सिर २०७५

 नगरकोट । पर्यटकीय स्थान नगरकोट जाने पर्यटकले केही समय यता तिर्दै आएको दोहोरो कर हाललाई चाँगुनारायण नगरपालिकाले तिर्नु नपर्ने नीति ल्याएको छ ।  

भक्तपुरको चाँगुनारायण नगरपालिकाले गत वर्षदेखि र काभ्रेको मण्डनदेउपुर नगरपालिका असोज २९ गतेदेखि आ–आफ्नो स्थानमा पर्यटकसँग कर लिँदै आएका थिए । 

दुई स्थानमा कर असुली हुँदै आएका विषयमा रातोपाटीले लगातार समाचार प्रकाशित गर्दै आएको थियो । 

फरक–फरक सडक भएर नगरकोट जाने पर्यटकहरुसँग तेलकोट, कलमसी र नगरकोटचोक नजिकै तीन स्थानमा चाँगुनारायण नगरपालिकाले लिँदै आएको प्रवेश शुल्क हाललाई नलिने निर्णय गरेको छ ।चाँगुनारायण मन्दिर जाने पर्यटकसँग भने प्रवेश कर यथावत रहने चाँगुनारायण नगरपालिकाले जनाएको छ । 

चाँगुनारायण नगरपालिका नगरप्रमुख सोमप्रसाद मिश्रले रातोपाटीसँग कुरा गर्दै भने, ‘नगरपालिकाको बैठकबाट नै २५ गते मंगलबारदेखि कर नलिने निर्णय गरेका छौं ।’ 

बिहिबार नगरकोटमा काभ्रेको मण्डनदेउपुर, बनेपा, काठमाडौंको शंखरापुर र भक्तपुरका चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधी बसेर नगरकोटको विकासमा लागि छलफल हुने मिश्रले बताए । 

उता मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाइवाले चाँगुनारायण नगरपालिकाको आधिकारीक धारणा आएपछि मात्र अरु निर्णय गरिने जानकारी दिए ।

नगरसभाले गरेको निर्णय भएकाले आफूले अहिले केही भन्न नमिल्ले समेत नगरप्रमुख वाइवाले बताए । 

दुई स्थानमा कर लागु भएसँगै नगरकोट जाने सार्क राष्ट्रका पर्यकटहरुले ४ सय २६ र अन्य राष्ट्रका नागरिकले ६ सय ३९ रुपैयाँ तिर्दै आएका थिए ।

भक्तपुर र काभ्रेको करिब ३ सय मिटर फरकको दूरीमा नै दोहोर कर तिर्न परेपछि पर्यटकहरुमा गलत सन्देश गएको स्थानीय गुनासो रहेको थियो । नगरकोटका दुवै नगरपालिकामा गरेर करिब एकसय होटल तथा रेष्टुराहरु सञ्चालित छन् । जसमा सामान्यदेखि तारे होटलहरु समेत रहेका छन् । 

यसअघि प्रकाशित समाचार पढ्नुहोस् । 

चाँगुनारायण र मण्डन देउपुर नगरपालिकाबीच समन्वय अभाव : नगरकोटमा ३ सय मिटर दुरीमा दोहोरो कर

भक्तपुरको चाँगुनारायण नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा नगरकोट जाने पयर्टकसँग प्रवेश शुल्क भनेर ५१ लाख रुपैयाँ उठाउन ठेक्कामा दिएको थियो । यो आर्थिक वर्ष २०७५÷७६ को लागि ३ करोडमा (कर बाहेक) ठेक्का दिएको छ  । 

अनुमति प्राप्त ठेकेदारले चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६ तेलकोट र वडा नम्बर ८ को कलमसी भन्ने स्थानमा बसेर पर्यटकहरुसँग शुल्क लिँदै आएका थिए । जसमा चाँगुनारायण मन्दिर जानेबाट समेत ठेकेदारले शुल्क लिन पाउँछन् । 

स्थानीय बासिन्दा, पर्यटन व्यवसायी र राजनीतिक पार्टी लगायतका सबैको सुझावलाई मनन गर्दै नगरपालिकाले उक्त निर्णय गरेको हो । 

नगरकोटका समस्या
नगरकोट जाने मुख्य सडकको रुपमा रहेको कमल विनायक नगरकोट सडकको अवस्था निकै कष्टकर छ । पानी पर्दा हिलो हुने र घाम लाग्द धुलो हुने गर्दछ । 

अर्कातिर होटल व्यवसायलाई आवश्यक पानी समेत किनेर चलाउनुपर्ने बाध्यता छ । विभिन्न सरकारी निकायमा दर्ता भएर आएका व्यवसायीले राज्यलाई कर तिरेपछि सुविधा नभएको पर्यटन व्यवसायीहरु बताउँछन् । 

फोहोर व्यवस्थापन समेत चुनौती बन्दै गइरहेको छ । सूर्योदय, सूर्यअस्त र हिमाल हेर्न मात्र पर्यटक जाने गरेको र बसाई लम्बाउने अन्य केही कुरा नभएको स्थानीयहरुको भनाई छ । 

एउटै गन्तव्यमा दुई स्थानमा फरक–फकर स्थानीय सरकारले रोकेर बाह्य मुलुकका पर्यटकहरुसँग प्रवेश शुल्क लिँदा गलत सन्देश गएको भन्दै स्थानीय बासिन्दा र पर्यटन व्यवसायीहरुले आन्दोलन गर्दै आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप