शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याजदर बढाउने होडबाजीले बैंकर्सहरु नै त्रसित, सेयर बजार र उद्योग थला पर्ने चिन्ता

बिहीबार, २० मङ्सिर २०७५, १५ : ४४
बिहीबार, २० मङ्सिर २०७५

काठमाडौं– बाणिज्य बैंकहरु फेरिपनि ब्याजदर वृद्धिको प्रतिस्पर्धामा उत्रिएका छन् । 

बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसियसनले ब्याजदरमा कायम रहेको सहमति तोडेसँगै बैंकहरु एकपछि अर्को गर्दै ब्याजदर बृद्धिको मैदानमा आक्रामक देखिएका हुन् । 

मंगलबार मात्र बैंकर्स संघले सहमति हटाएपछि सबैभन्दा पहिला जनता बैंकले व्यक्तिगत मुद्दतीमा १२ प्रतिशत ब्याजदरको घोषणा गर्यो । 

यस्तै माछापुछ्रे बैंकले पनि साढे १२ प्रतिशत ब्याजदरको घोषणा गर्यो । बिहिबार मात्र कुमारी बैंकले १३ प्रतिशत ब्याज दिने योजना सार्वजनिक गरेको छ । 

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी बैंकहरुले निक्षेपमा बढाएको ब्याजको असर ऋणमा पर्ने बताउँछन् । यो बृद्धि धेरै समय नटिक्ने पनि उनको तर्क छ ।  

बैंकहरुले निक्षेपमा बढाएको ब्याजदरले थप ऋणको माग कम हुने उनले उल्लेख गरे । 

विगतका केही वर्षयता  लगातार लगानीयोग्य रकमको समस्या झेलिरहेको वित्तीय क्षेत्र अहिले पनि सोही समस्याबाट ग्रसित छ । एकातिर चाहेजति निक्षेप संकलन हुन सकिरहेको छैन भने अर्को तर्फ ऋणीले माग गरेजति ऋण पाउन सकिरहेका छैनन् । 

यता, ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली अहिलेको ब्याजदर बृद्धिले ग्राहकलाई आतंकित पार्ने काम भएको बताउँछन् । 

ज्ञवाली भन्छन्, ‘ब्याजदरको लगाम हटेको तीन दिनमै १३ प्रतिशत पुगिसक्यो भनेपछि यो अझै बढ्ने देखिएको छ । एक पटक श्रीलंकामा निक्षेपको ब्याजदर २४ प्रतिशतसम्म पुगिसकेको थियो । त्यस्तै अवस्था त आउने होइन भन्ने चिन्ता थपिएको छ ’। 

अहिले बैंकहरुले धेरै नाफा भन्दा पनि देशले लिएको आर्थिक बृद्धिदरको लक्ष्यलाई सहयोग पुग्नेगरी अघि बढ्नुपर्ने उनको धारणा छ ।  बैंकहरु प्रतिस्पर्धी भन्दा पनि संयमित भएर अघि बढ्नुपर्ने उनको भनाई छ । 

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेल बढ्दो ब्याजदर र घटिरहेको सेयरबजारका विषयमा सरकालाई व्यङ्ग्य गर्दै सामाजिक सञ्जालमा लेख्छन्,  ‘आकाश छुने ब्याजदर, धर्तीमा धसिएको सेयर बजार, कहालीलाग्दो मार्जिन कल के को संकेत हो सरकार ?’ बढ्दो ब्याजदरले  सेयर बजार झन् धरासायी हुन सक्ने उनको बुझाइ छ । 

कतिपयले निक्षेपको ब्याजदर वृद्धिले सेयरमा लगानी भन्दा मुद्दतीमा पैसा राख्दा फाइदा पुग्ने विश्लेषण गर्न थालेका छन् । 

यता, उद्योगी प्रवलजंघ पाण्डेले धमाधम निक्षेपको ब्याजदर प्रकाशित गर्ने बैंकहरुले नै केही समयपछि ऋणको ब्याजदर बढेको भन्दै एसएमएस पठाउन सक्ने औंल्याएका छन् । 

उनले सामाजिक सञ्जालमार्फत बढ्दो ब्याजदरले उद्योग व्यवसाय धरासायी बन्ने त होइन भन्ने शंका समेत व्यक्त गरेका छन् । 

बैकिङ विज्ञ अनलराज भट्टराई भन्छन्, ‘तरलताको संकट, ब्याजदरमा लडाईँ, महंगो कर्जा, उद्योग र व्यवसाय सञ्चालनमा कठिनाइ र विश्वासको संकटजस्ता नकारात्मक प्रभाव न्यून गर्न वित्तीय क्षेत्रमा व्यापक सुधारको खाँचो छ ।’ 

यसैबीच अस्वस्थ रुपमा बढेको ब्याजदरको विषयलाई लिएर अर्थमन्त्री डा युवराज खतिवडाले चासो व्यक्त गरेका छन् । 

 अर्थमन्त्रालयका एक अधिकारीका अनुसार यही विषयमा छलफल गर्न खतिवडाले आफ्नै संयोजकत्वमा गठित उच्च स्तरीय वित्तीय समन्वय समितिको बैठक समेत डाकेका छन् । 

सो बैठकले नै ब्याजदर र सेयर बजारबारे सम्बोधन गर्ने ती अधिकारीको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप