शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इपिएल ट्रफी सार्वजनिक, हेर्नुहोस् १३ तस्विरमा

बिहीबार, २० मङ्सिर २०७५, १६ : ५४
बिहीबार, २० मङ्सिर २०७५

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपीएल) २०१८ को ट्रफी बिहिबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।

मङ्सिर २२ देखि पुस ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ शहरका ६ टोली विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्गस् ११, ललितपुर प्याट्रिअट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले समेत मान्यता दिएको छ । 

पृथु वास्कोटाको कप्तानीमा चितवन टाइगर्स, शरद भेषवाकरको कप्तानीको भैरहवा ग्लाडियटर्स, पारस खड्काको कप्तानीको विराटनगर वारियर्स, सोमपाल कामीको कप्तानीमा काठमाडौँ किङ्स–११, ज्ञानेन्द्र मल्लको कप्तानीमा ललितपुर प्याट्रियस र स्कटल्याण्डको राष्ट्रिय टिमका कप्तान समेत रहेका कायल कोत्जरको कप्तानीमा पोखरा राइनोज मैदानमा उत्रने छ ।

उद्घाटन खेलमा साबिक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रिअट्सबीच प्रतिस्पर्धा हुनेछ ।  

राउण्ड रोविन लिगमा हुने प्रतियोगिताको पहिलो दिन उद्घाटन खेल मात्र हुने र दोस्रो दिनबाट लिगको दुई–दुई खेल हुनेछन् । 

यस पटक विदेशी खेलाडी र चियरलिडर्सले इपीएललाई भव्य बनाउने आयोजकहरुको दाबी छ । 

कप्तानका आ–आफ्नै दावी 

ट्रफी सार्वजनिक कार्यक्रममा सबै टोलीका कप्तानले उपाधि आफ्नै टोलीले जित्ने दावी गरेका छन्् । विराटनगरका कप्तान पारस खड्काले आफ्नो टिम सन्तुलित रहेकोले राम्रो खेल्दै उपाधि रक्षा गर्ने बताए । विराटनगर अघिल्लो संस्करणको विजेता टोली हो । गतबर्ष विराटनगरले भैरहवालाई एक रनले हराउँदै उपाधि जितेको थियो । 

यसैगरी ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले टोलीमा ठूला नामका खेलाडी भन्दा पनि भएका खेलाडीले राम्रो खेल्नुपर्ने बताए । उनले आफ्नो टोलीमा ठूला नामका खेलाडी नभएपनि राम्रो प्रर्दशन गर्ने दाबी पनि गरे । 

यसैगरी काठमाडौँका कप्तान सोमपाल कामीले गतवर्षको गल्तीलाई सच्याएर यसपटक उपाधि जित्ने लक्ष्य रहेको बताए । उनले  आयरल्यान्डका केभिन ओब्रायनको आगमनले टोलीको आत्माविश्वास बढेको पनि बताए ।

चितवनका कप्तान पृथु बास्कोटाले युवा खेलाडी राम्रो लयमा रहेको कारण प्रतियागितामा राम्रो प्रर्दशन गर्ने बताए । भैरवाहका कप्तान शरद भेषवाकरले आफ्नो टोलीमा राम्रा र अनुभवी खेलाडी भएको दावी गरे । उनले टिम सन्तुलित रहेकोले उपाधिनै अन्तिम लक्ष्य भएको बताए । 

पोखराका कप्तान कोट्जरले नेपालको इपीएल खेल्न आफु आतुर रहेको प्रतिक्रिया दिए । उनले नेपालका दर्शक विश्वमै प्रख्यात रहेकाले दर्शनको मन जित्ने खेल पस्कने बताए । 

आयोजकले यसपटक पुरस्कार राशीको घोषणा भने गरिसकेको छैन । निर्देशक अख्तरले विगतको भन्दा पुरस्कार कमी नहुने र केही दिनमै घोषणा गरिने बताए । शनिबार देखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर र विराटनगर भिड्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप