मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रमुख पाँच पार्टीमा झाँगिदो ‘गुटगत’ खेती

शुक्रबार, २१ मङ्सिर २०७५, १२ : ०९
शुक्रबार, २१ मङ्सिर २०७५

काठमाडौँ– मुलुकको समृद्धि र विकासमा केन्द्रित हुनुपर्ने प्रमुख राजनीतिक दलहरू आफैभित्रको ‘गुटगत’ राजनीतिमा रुमल्लिएका छन् ।

सत्तारुढ पार्टी नेकपादेखि प्रतिपक्ष काँग्रेससहित राष्ट्रिय दल मान्यता प्राप्त सबै पार्टी र ससाना पार्टीहरूसमेत गुटगत झमेलामा रुमल्लिएका छन् । यसले राजनीतिक दल र उनीहरूको नेतृत्वमा बनेको सरकारबाट जनताले अपेक्षा गरेको विकास, समृद्धि र सुशासन जस्ता चाहाना क्रमशः ओझेल पर्दै गएका छन् । विधिवत रूपमा राजनीतिक सङ्क्रमण अन्त्य भएको एक वर्ष वित्दासमेत दलहरूले आफ्ना घोषणापत्र र जनअपेक्षाअनुसार काम नगर्दा आमसर्वसाधारण निराशामुक्त हुन सकेका छैनन् ।

अहिले नेकपा र काँग्रेस मुलुकका प्रमुख २ ठूला पार्टी हुन् । यीबाहेक सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने अन्य दुई दल पनि छन् । 

गत मङ्सिरमा भएको आम निर्वाचनमा राष्ट्रिय पार्टी बनेका ५ दलमध्ये तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्र एकीकरण गरेर एउटै पार्टी (नेकपा) बनेपछि गत जेठ महिनायता संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीको सङ्ख्या चारवटा मात्रै छ । जसमध्ये सबैभन्दा ठूलो दल पनि नेकपा नै हो । उसैको नेतृत्वमा नौ महिनायता इतिहासमा अहिलेसम्मकै ठूलो जनमत प्राप्त र शक्तिशाली सरकार चलिरहेको छ । 

दोस्रो ठूलो दल प्रमुख प्रतिपक्षको भूमिकामा छ । सङ्घीय संसदमा रहेको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी नेपाल हो । यो पार्टी सङ्घीय सरकारमा सहभागी नभए पनि प्रदेश २ को प्रदेश सरकारको हिस्सेदार छ । चौथो ठूलो दल हो सङ्घीय समाजवादी फोरम । यो पार्टीबाट पनि सङ्घीय सरकारमा दुई जना मन्त्री छन् । यसकारण यो पार्टी पनि हाल सत्तारुढ दलको कित्तामा पुगेको छ ।  

सङ्घीय निर्वाचनमा एक सिट मात्रै जितेको अर्को पार्टी हो राप्रपा । जसका एक मात्र सांसद राजेन्द्र लिङ्देन हुन् । गत निर्वाचनमा थ्रेस होल्डको व्यवस्था गरिएकाले राप्रपाले ३ प्रतिशत मत नल्याएपछि यो पार्टीलाई निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता दिएको छैन । थ्रेसहोल्डका कारण राप्रपासँगै अन्य धेरै पार्टीको अस्तित्व कमजोर बनिसकेको छ । 

भनिन्छ, संसदीय व्यवस्थामा मुलुक हाँक्न सत्तारुढ र प्रतिपक्षी दुवै दलको भूमिका महत्त्वपूर्ण रहन्छ । संसदीय व्यवस्थामा सत्तापक्षपछि प्रमुख प्रतिपक्षको भूमिका खोजिन्छ । अहिलेको अवस्थामा सत्तापक्ष र प्रतिपक्ष कोही पनि आफ्नो मजबुत भूमिका निर्वाहमा कमजोर देखिएका मात्रै होइनन्, दुवै पक्षले आफ्नै सङ्गठनसमेत राम्ररी चलाउन सकेका छैनन् । 

नेकपामा सक्रिय तीन गुट

सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी नेकपा गुटगत राजनीतिक खेतीमा सबैभन्दा अगाडि छ । यो पार्टीमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा अर्का नेता माधवकुमार नेपालका आआफ्नै गुुट सक्रिय छन् भने नेता बामदेव गौतमले पनि अर्को एउटा सुषुप्त गुट व्युँत्याउँदै गएका छन् । यद्यपि गौतमले हाल नेकपामा ओली, प्रचण्ड र नेपाल गुट सक्रिय रहेको सार्वजनिक नै गरिसकेका छन् । एकताअघि पनि तत्कालीन एमालेमा ओली र नेपाल गुट सक्रिय रहेका थिए । पार्टी एकतापछि गुटगत राजनीति अन्त्य हुने अपेक्षा गरिए पनि अपेक्षाविपरीत एकीकृत पार्टीभित्र समेत गुट उपगुटको चलखेल अत्यधिक बढेको भन्दै कतिपय नेकपाका नेताहरूबाटै गुनासो सुन्न थालिएको छ । 

त्यसो त नेपकपाको पार्टी विधानको धारा ५७ मा पार्टीभित्र गुटबन्दी र षडयन्त्र गरे अनुशासनको कारवाही गरिने व्यवस्था छ । तर गुटलाई प्रश्रय दिन नेकपाका वरिष्ठ नेताहरू नै लागेकाले उनीहरूमाथि कसले अनुशासनको डण्डा बर्साउने भन्ने प्रश्नको जवाफ नहुँदा गुटगत राजनीतिले थप प्रश्रय पाएको छ । यो पार्टीको विधानमा प्रष्ट भनिएको छ, ‘पार्टीभित्र गुटबन्दी तथा षडयन्त्र गरेको प्रमाणित भए कुनै पनि कमिटी वा निकाय र तिनका पदाधिकारी तथा सदस्यमाथि अनुशासनको कारवाही हुनेछ ।’ 

तर यो कागजी दस्तावेजविरुद्ध शीर्ष नेता नै सामेल भएको पछिल्लो उदाहरण पार्टी एकताका क्रममा भएको भागबण्डा र त्यसमा नेताहरूबाट आएको प्रतिकृया नै पर्याप्त हुन्छ । नेकपाको सचिवालय गठन, प्रदेश पदाधिकारी नियुक्ति र सरकारी निकायमा हुने राजनीतिक नियुक्तिमा बढेका असन्तुष्टिका स्वरहरू पनि गुटगत राजनीतिका उदाहरण मानिन्छन् । पार्टी एकताको घोषणापछि १९ जेठमा कास्कीको ढिकुरपोखरी पुगेर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकतापछि गुट उपगुटको खेल तथा आफ्नो स्वार्थ पूरा गर्ने छुट कसैलाई नहुने चेतावनी दिएका थिए । तर, प्रचण्डको यो चेतावनी ढिकुरपोखरीमै सीमित बनेको छ । यसरी गुटको खेती मौलाएकै कारण पार्टी एकता घोषणा भएको ६ महिना वित्दासमेत एकीकरण प्रकृया टुङ्गोमा पुग्न सकेको छैन ।  

यति मात्रै होइन, यो पार्टीमा महासचिव विष्णु पौडेल तथा रामबहादुर थापा पनि आआफ्नो गुट तयार पार्ने क्रममा छन् । तत्कालीन एमालेमा सानो गुट चलाएका झलनाथ खनालको भने पार्टीमा खासै प्रभाव नभएको नेताहरू नै बताउँछन् ।

चुनावमा चाउरिएको काँग्रेस गुटमा मौलायो 

दोस्रो ठूलो दल काँग्रेसमा पनि गुटको राजनीति गज्जबले मौलाएको छ । गुुटगत राजनीतिकै कारण गत वर्ष सम्पन्न तीनै तहको निर्वाचनमा काँग्रेसले अपेक्षाकृत नतिजा ल्याउन नसकेको भन्दै काँग्रेस स्वयम्ले स्वीकार गरिसकेको छ । निर्वाचनअघिसम्म सबैभन्दा ठूलो आकारको काँग्रेस गुटकै कारण चाउरिएपछि निर्वाचन सकिएको एक वर्ष वित्न लाग्दासमेत एक गुटले अर्का गुटप्रति कटाक्ष गर्ने र औँलो ठड्याउने प्रवृत्ति कम हुन सकेको छैन । 

गत असारमा हेटौँडामा भएको काँग्रेस जिल्ला सभापतिहरूको भेला होस् या अघिल्लो केन्द्रीय समिति बैठक । ती दुवैमा काँग्रेसमा गुटको असर छर्लङ्ग देखिन्थ्यो । उपसभापतिमा विजय गच्छदारको मनोनयन, भ्रातृ सङ्गठन नेविसङ्घको विधान अनुमोदन, विभागहरूको गठनदेखि विधानमा सभापतिलाई कति अधिकार दिने भन्नेमा समेत काँग्रेसमा गुटगत खेती मौलाएको घाम जत्तिकै भएको छ । 

उता, निर्वाचन सकिएको एक वर्षसम्म पनि पार्टीले चुनावमा हार्नुको कारण के हो भन्ने प्रश्नमा कुनै पनि नेताले कार्यकर्ताको चित्त बुझाउन सकेका छैनन् । त्यति मात्रै होइन, कमजोर सङ्गठन, स्वेच्छाचारी नेतृत्व, नियन्त्रण र सन्तुलनको अभाव, नेतामुखी नीतिजस्ता कारण पार्टी कमजोर भएको विषयमा अहिलेसम्म सो पार्टीको केन्द्रीय समिति बैठकमा गम्भीर छलफल नै हुन सकेको छैन । बरु एकले अर्कालाई दोषको बिल्ला बोकाएर आफू पानीमाथि ओभानो हुने प्रवृत्ति र शैली काँग्रेसमा ज्युँकात्यँु देखिन्छ । 

काँग्रेसमा रामचन्द्र पौडेल र सभापति शेरबहादुर देउवा गुट चर्चामा रहे पनि पछिल्लो समय महामन्त्री शशांक कोइरालाले समेत आफ्नो गुट चलाइरहेका छन् । उनले देउवा र पौडेल समूहका असन्तुष्टहरूलाई समेटेर आफ्नो गुुटलाई संस्थागत गर्ने प्रयास जारी राखेका छन् । यही गुटको बलका आधारमा महामन्त्री कोइराला आगामी १४औं महाधिवेशनमा सभापति पद हत्याउने योजनामा लागेका छन् । यद्यपि कोइरालाले काँग्रेसमा आफू गुटगत राजनीतिको पक्षमा नरहेको भन्दै आफूलाई तटस्थ देखाउने प्रयास पनि गरिरहेका छन् । कोइरालापछि काँग्रेसमा कृष्ण सिटौलाको गुट पनि सक्रिय नै छ । 

पहिला कोइराला र देउवा गुटमा विभक्त काँग्रेस अहिले पौडेल, सिटौला, कोइराला गुटमा खण्डित छ । गएको चुनावमा पनि यिनै गुटले एकअर्कालाई सिध्याउने काम गर्यो । शीर्ष नेताको गुटगत राजनीति बुझेका गगन थापालगायतका केही युवा नेताहरूले निर्वाचनपछि काँग्रेसलाई पुनः जीवन दिने भन्दै भेला र छलफल गरे पनि उनीहरूका योजना र कार्यक्रम जहाँको त्यहीँ छन् ।

राजपामा महतो र महन्तको गुट 

हाल संसदमा तेस्रो ठूलो दल बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा त गुट व्यवस्थापन गर्न नसक्दा एक पार्टीमा ६ जना अध्यक्ष बनेका छन् । तराई मधेसका यी दुई दल राजपा र फोरममध्ये सबभन्दा बढी गुटको राजनीतिमा राजपा नेपाल नै फँसेको सो पार्टीका नेताहरू नै बताउँछन् । ६ वटा पार्टी मिलेर बनेको राजपा नेपालमा हाल दुईवटा गुट सक्रिय छन् । यो गुटगत राजनीतिले गर्दा पार्टी आन्तरिक विवादमा फँसेको छ । 

पछिल्लो समय अध्यक्षमण्डलको संयोजक बन्नलाई यो पार्टीमा ठाकुर र महतोबीच बढेको तिक्तताले पार्टीमा गुटबन्दी थप मौलाएको छ ।

राजपामा एउटा गुटको नेतृत्व अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले गरेका छन् । उनको गुटमा महेन्द्रराय यादव, शरतसिंह भण्डारी र राजकिशोर यादव छन् भने अर्को गुटको नेतृत्व अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरले सम्हालेका छन् । उनको गुटमा अनिलकुमार झा मात्र रहेका छन् । 

यसअघि महन्थ ठाकुरसँग राजकिशोर यादव, महेन्द्र राय यादव र अनिल झा थिए भने राजेन्द्र महतोसँग शरतसिंह भण्डारी थिए । राजपा नेपालको यो गुटगत राजनीतिले सो पार्टीको महाधिवेशन लगायतका महत्त्वपूर्ण पार्टी गतिविधि शून्य जस्तै भएको कार्याकर्ताहरू बताउँछन् । 

फोरममा राई र यादव एकातिर श्रेष्ठ अर्कोतिर 

त्यस्तै, फोरम नेपाल पनि विगतमा गुटगत राजनीतिले गर्दा तहस नहस भएको पार्टी भनेर चिनिन्छ । सो पार्टीमा रहँदा विजयकुमार गच्छदारले सक्रिय गुट चलाएका थिए । पछि उनी पार्टी फोरेर अलग भए । त्यसपछि जेपी गुप्ताले छुट्टै गुट बनाएर बसे । गुप्ता पनि सो पार्टीलाई फोरेर अलग भए । गुटगत राजनीतिबाट कमजोर भएका फोरम नेपालपछि अशोक राइको सङ्घीय समाजवादी पार्टीसँग एकीकरण गरी सङ्घीय समाजवादी पार्टी बन्यो । अहिले पनि यो पार्टीमा दुई गुट कायमै छन् । 

फोरममा अन्य पार्टीमा जस्तो खुलम्खुल्ला गुट नचलाए पनि पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भित्रभित्रै आफ्नो गुट चलाइरहेको छन् । अशोक राई र उपेन्द्र यादव एकठाउँमा छन् उनीहरू दुईजनामा कुरा मिल्छ । तर त्यही राजेन्द्र श्रेष्ठसँग उपेन्द्र यादवको त्यति कुरा मिल्दैन । 

प्रतिनिधिमा अशोक राई चुनाव हारेका थिए । वरिष्ठ नेताले चुनाव हारेपछि त्यसको सन्त्वनाका लागि श्रीमतीलाई समानुपातिक सदस्य बनाउने कुरा उठ्यो । तर राजेन्द्र श्रेष्ठले विरोध गर्दै राईकी श्रीमतीलाई सांसद हुन नदिएको आरोप पार्टीभित्र लाग्दै आएको छ । यही कारण राई र यादव एक कित्तामा र श्रेष्ठ अर्को कित्तामा उभिन पुगेका हुन् । त्यसो त पछिल्लो समय सरकारमा जाने विषयमा पनि यादव र श्रेष्ठबीच निकै ठूलो हानाथाप भएको थियो । यादव आफै मन्त्री खान गएपछि श्रेष्ठ यादवसँग थप चिढिएका छन् ।

राप्रपामा पनि छ किचलो 

सङ्घीय संसदमा एक सिट मात्र जितेको कमल थापा नेतृत्वको राप्रपामा पनि किचलो बढेको छ । गत निर्वाचनको मुखमा तीन टुक्रा बनेका राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीबीच एकता गर्ने या नगर्ने भन्नेमा तीनवटै पार्टीमा एकरूपता देखिँदैन छैन । तीनमध्ये थापा नेतृत्वको राप्रपामा सबैभन्दा बढी गुटगत राजनीति मौलाएको नेताहरूले नै बताएका छन् । अध्यक्ष थापाले गुटको संरक्षण मात्रै गरेको भन्दै धेरैजसो नेताहरू असन्तुष्ट  छन्, जसका कारण अध्यक्ष थापाले गत असोज तीन गते बोलाएको विशेष बैठक नै सो पार्टीका वरिष्ठ नेताहरूले बहिष्कार गरे ।

थापाले बोलाएको बैठकलाई राप्रपा नेता लोकेन्द्रबहादुर चन्द, बुद्धिमान तामाङ, टङ्क ढकाल, दिलविकास राजभण्डारी, जयन्त चन्दलगायतका धेरै नेताहरूले बहिष्कार गरेपछि हाल राप्रपामा थापा एक्लैजस्तो बनेका छन् । पछिल्लो समय तीनवटै राप्रपा एकीकरण प्रक्रिया थालिए पनि अन्ततः नेताहरूको महत्त्वकाङ्क्षाका कारण एकता प्रक्रिया नै भडिन पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप