शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राजस्थान विधानसभाका लागि मतदान शुरु

शुक्रबार, २१ मङ्सिर २०७५, १३ : ५०
शुक्रबार, २१ मङ्सिर २०७५

जयपुर– भारतको राजस्थानको विधानसभाका लागि मतदान शुरु भएको छ । एकसय ९९ स्थानका लागि यहाँ दुई हजारभन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् । 

चुनाव आयोगका अनुसार राज्यमा ५१ हजार ६६७ वटा मतदान केन्द्रहरु राखिएका छन् । चुनावमा करिब चार करोड ७४ लाख ८० हजारले मतदान गर्नेछन् । राज्यका २०० निर्वाचन क्षेत्रमध्ये एकसय ९९ स्थानका लागि चुनाव हुन लागेको हो । बहुजन समाज पार्टीका उम्मेदवारको निधन भएका कारण अल्वार निर्वाचन क्षेत्रमा चुनाव स्थगित भएको छ । 

भारतीय जनता पार्टी (भाजपा) र कङ्ग्रेसबीच कडा टक्कर हुने अनुमान गरिएको यस चुनावमा दुवै पार्टीले कम्तीमा १०१ स्थान जित्ने दाबी गरेका छन् । 

सन् २०१३ मा भएको विधानसभा चुनावमा भाजपाले १६३ स्थान जितेर पूर्ण बहुमतको सरकार बनाएको थियो । कङ्ग्रेस २१ स्थानमा खुम्चिएको थियो । 

यसवर्ष, राज्यकी मुख्यमन्त्री बसुन्धरा राजेले कङ्ग्रेसबाट कडा टक्करको सामना गरिरहनुभएको चुनावी प्रारम्भिक सर्वेक्षणमा देखिएको छ । कङ्ग्रेसले भाजपा नेतृत्वले राज्यको विकासमा उल्लेखनीय योगदान नदिएको भन्दै निरन्तर आलोचना गरिरहेको छ । 

राजस्थानमा कङ्ग्रेसका तर्फबाट भावी मुख्यमन्त्रीको नाम सार्वजनिक नगरिएको भन्दै आलोचना पनि हुने गरेको छ । तर, चुनावमा बहुमत प्राप्त गरेमा कङ्ग्रेसका तर्फबाट राजस्थान कङ्ग्रेसका अध्यक्ष सचिन पाइलट र राजस्थानका पूर्व मुख्यमन्त्री अशोक गहलोटमध्ये एकजना नै मुख्यमन्त्री हुने देखिएको छ । 

भाजपाले भने वर्तमान मुख्यमन्त्री बसुन्धरा राजेमाथि नै विश्वास गरेको छ । उनले राज्यमा गरेका कार्यहरुका बारेमा प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाहले खुलेरै प्रशंसा गरेका छन् ।

यसपटकको चुनावमा सुरक्षाका दृष्टिबाट सात हजार ७९१ मतदान केन्द्रलाई संवेदनशील मानिएको छ । चुनाव आयोगले राज्यको चुनावमा एक लाख ४५ हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । 

चुनावको मतगणना आगामी डिसेम्बर ११ तारिखमा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप