मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा मन्दिर तोडफोड र राष्ट्रपति प्रकरणको चार वर्ष :  आरोपितहरूको यस्तो छ पीडा

शनिबार, २२ मङ्सिर २०७५, १० : ४३
शनिबार, २२ मङ्सिर २०७५

जनकपुर– चार वर्ष वित्न लाग्दा पनि जनकपुरको जानकी मन्दिर तोडफोड प्रकरणको मुद्दा किनारा लाग्न सकेको छैन ।

राष्ट्रपति विद्यादेवी भण्डारी जानकी मन्दिरमा उपस्थित हुने क्रममा भएको तोडफोडमा संलग्न दाबी गर्दै दर्जनौँमाथि लिखित जाहेरीका आधारमा मुद्दा दायर भएको थियो । 

विवाह पञ्चमीका अवसरमा भारतको नाकाबन्दी र मधेस आन्दोलन जारी रहेका बेला राष्ट्रपति भण्डारीलाई आन्दोलनकारीले जनकपुर नआउन दिएको चेतावनीविपरीत मन्दिर आएपछि मन्दिर तोडफोड हुनुका साथै स्थिति तनावग्रस्त भएको थियो ।

त्यसैबेला दायर मुद्दाको फैसला अहिलेसम्म नहुँदा अभियुक्तहरूले समयमा अदालतले फैसला नगर्दा आफूहरूमाथि अन्याय भएको गुनासो गरेका छन् । 

उनीहरूले मुद्दा फैसलामा भएको ढिलाइले इच्छाएको अध्ययन गर्नबाट समेत वञ्चित हुनुपरेको तथा तारेख र पेसीमा निरन्तर धाउनुपर्दा जीवन नै बर्बाद भएको सुनाए । 

अभियुक्तमध्येका विवेकचन्द्र अधिकारीले ४ देखि निरन्तर तारेख र पेसीका लागि हालसम्म ७० पटक धनुषा जिल्ला अदालत धाइसकेका बताए । प्रहरीले समातेर बुझाएका र आफै अदालतमा हाजिर भएकाले समेत ७० हजार रुपैयाँ धरौटी बुझाएर अदालत धाइरहेका छन् । 

अभियुक्तहरूको मुद्दाको पक्षमा बार एसोसिएसन जनकपुरले वकालत गरिरहेको छ । यो मुद्दामा विगत ४ वर्षदेखि सुशील कर्ण, अशोक प्रसैला र शिलादेवी झा प्रसैलालगायतका अभियुक्तहरू अदालत धाइरहेका छन् । मुद्दाको पेसी निरन्तर भइरहेको छ ।

वि.सं.२०७१ मा जनकपुरसहित तराई–मधेसमा तेस्रो मधेस आन्दोलन चलिरहँदा विवाहपञ्चमी महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर आउने पक्कापक्की भएपछि जनकपुरमा आन्दोलन चर्किएको थियो । ०७१ पुस १ गते आन्दोलनकारीले जानकी मन्दिरलाई टार्गेट बनाएर आन्दोलन गरेपछि प्रहरी र सेनाको बाक्लो उपस्थिति गराइएको थियो भने सर्वसाधारण श्रद्धालु भक्तजनका लागि मन्दिर प्रवेशमा निषेध नै गरिएको थियो । 

प्रत्येक वर्ष हुने विवाहपञ्चमी महोत्सवमा हजारौँको सङ्ख्यामा भारतका विभिन्न प्रान्त तथा आन्तरिक भक्तजनको बाक्लो उपस्थिति हुने गर्छ । 

सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीको जानकी मन्दिर प्रवेशलाई आन्दोलनकारीहरूले विरोध जनाउँदै कालो झण्डा प्रदर्शन, ढुङ्गामुढादेखि चर्का नारा लगाएका थिए । सोहीबेला राष्ट्रपति भण्डारी मन्दिरबाट बाहिरिएलगत्तै आक्रोशित आन्दोलनकारीकोे एक हुल मन्दिरको गर्भगृहमै प्रवेश गरी तोडफोड समेत गरेको थियो । 

त्यही क्रमममा प्रदेश नम्बर २ का बहालवाला आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवसमेतको अगुवाइमा करिब ५ दर्जन आन्दोलनकारीहरू मन्दिरभित्र पुगेर चर्को नाराबाजी गरेको थियो । त्यसमध्ये केही आन्दोलनकारीहरूले भने मन्दिरभित्रको मूलद्वारमा प्रवेश गरी गर्भगृह तोडफोड गरेका थिए । 

धरपकड कसरी भयो ?
सो घटना भएको केही छिनमै धनुषा रमदैया भवाडी वडा नम्बर ४ का २२ वर्षीय विवेकचन्द्र अधिकारीलाई प्रहरीले समात्यो । हजुरबुवा रामपुकार यादवसँग जानकी मन्दिर दर्शन गर्न पुगेका उनलाई सादा पोसाकका प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषा लग्यो । राति सामान्य सोधपुछपछि बेलुकातिर उनलाई प्रहरीले छोड्यो ।

घटनाको अर्को दिन बाह्र बिघा रङ्गभूमि मैदानबाट ल्याब असिस्टेन्टको परीक्षा सकेर प्राक्टिकलका लागि अस्पताल गइरहेका अशोककुमार प्रसैलालाई सादा पोसाकका प्रहरीले समात्यो । उनी गाउँबाट अध्ययन गर्न जनकपुरस्थित मोडेल कलेजमा आएका थिए । जनकपुरको बारेमा राम्ररी थाहासमेत नभएका उनलाई प्रहरीले जबर्जस्ती मन्दिर तोडफोडमा संलग्न रहेको बयान दिन बाध्य बनायो । ‘कसैलाई चिन्दिन भनेपछि प्रहरीले जाडोयामको मौसममा मेरो शरीरको लुगा नै फुकालेर कुटपिट गर्यो । त्यसपछि विभिन्न प्रलोभन देखाएर कागजपत्रमा सहि छाप गर्न लगायो’, प्रसैला भन्छन्– ‘त्यसमा के लेखेको थियो केही पनि थाहा छैन ।’ उनलाई प्रहरीले समातेको २२ दिनपछि अदालतमा हाजिर गराएर छाड्यो । त्यतिबेलादेखिको तारेख पेसीमा उनी धाइरहेका छन् ।

कसरी प्रहरीको फन्दामा परे अशोक ?
जनकपुरमा आन्दोलन चलिरहँदा उनी शारदा इन्स्टिच्युटमा ल्याब टेक्निसियन अध्ययन गर्दै थिए । त्यसको परीक्षा रामानन्द चोकस्थित क्याम्पसमा सेन्टर थियो । विवाहपञ्चमीकै दिन अन्तिम परीक्षा थियो । परीक्षा सकेर साथीहरूसँग मन्दिर दर्शन गर्दै घर जाने निधो गरे । सोहीअनुसार मन्दिर आउँदा उनलाई सोनारपट्टीको गल्लीमै प्रहरी र सेनाले रोक्यो । त्यहाँ करिब २ घण्टासम्म बसे । त्यसपछि प्रहरी र सेनाले बाटो छोडेपछि उनी मन्दिर गए । दर्शन गरे र फर्के । 

परीक्षा सकेर प्राक्टिकलका लागि उनी जनकपुर अञ्चल अस्पतालमा जानुपथ्र्यो । त्यही बेला रङ्गभूमि मैदानबाट अशोक पक्राउ परे । 

अशोकलाई प्रहरीले पक्राउ गरेर केही कागजातमा गराएको सहीछापले नै गर्दा जनकपुरका अधिकांश युवा पनि राष्ट्रपति प्रकरणमा मुछिन पुगे । 

विवेक चन्द्र अधिकारीलाई प्रहरीले पक्राउपछि रिहा गरेको थियो । तर पनि उनी अनभिज्ञ थिए । राष्ट्रपति भण्डारीको किन जनकपुरमा विरोध हुन्छ भनेर । तर अदालतले घरमै समन (पत्र) पठाएपछि उनी अदालतमा हाजिर भए । उनी अदालतबाट धरौटी भुक्तान गरी तारेक पेसी लिइरहेका छन् ।

१२ कक्षा उत्तीर्ण गरी होटेल मेनेजमेन्ट अध्ययन गर्न अस्ट्रेलिया जाने इच्छाअनुसार जिल्ला अदालतमा पत्र दिई अनुमति लिँदासमेत उनले अध्ययनका लागि अनुमति पाएका छैनन् । ‘अध्ययन गर्न जान पनि नपाएको ठूलो पीडा छ’ उनको गुनासो छ । 

तेस्रो मधेस आन्दोलन चलिरहँदा उनी नेकपा क्रान्तिकारी माओवादीको जिल्ला सदस्य थिए । क्रान्तिकारी माओवादीले पनि संविधान पुनः लेखनको माग गर्दै देशव्यापी आन्दोलन गरिरहेको थियो । त्यही क्रममा मधेसवादी दल र क्रान्तिकारी माओवादीबीच संयुक्त आन्दोलन गर्ने सहमतिअनुसार जनकपुरमा मोहन वैद्य नेतृत्वको माओवादी पनि आन्दोलनमै थियो । जनक चोकतर्फ विरोध प्रदर्शन भइरहेको थियो ।

मन्दिरलाई प्रहरी र सेनाले विभिन्न घेरामा मन्दिरको सुरक्षा तथा विभिन्न चोकबाट मन्दिर आउने बाटो ब्लक गरेको थियो । उनी मन्दिर बाहिर रहेको प्राङ्गणबाटै घर फर्के । तर त्यसको अर्को दिनदेखि प्रहरीको विशेष टोलीले उनलाई खोज्न थालेपछि उनी जनकपुर छाडेर केही दिन लुकेरै बसे । कति लुक्ने भन्दै केही महिनापछि उनी पनि अदालतमा हाजिर हुने मनसायमा पुगे । तर बीचमै तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिको कार्यक्रममा पुग्दा उनलाई सादा पोसाकका प्रहरीले समात्यो र अर्को दिन अदालतमा पेस गरी धरौटीमा रिहा भई हालसम्म तारेक र पेसीमा धाइरहेका छन् ।

नेपाल परिवार दल धनुषाको नेतृ रहेकी शिलादेवी झालाई आन्दोनलसँग खासै मतलब थिएन । जनकपुरस्थित थापा चोकमा सिलाइको पसल खोलेर काम गर्ने श्रीमान् कृष्णकुमा साहका लागि पसलमा खाना लगिन् । उनले श्रीमान्लाई खाना खुवाइसकेपछि जानकी मन्दिरमा दर्शन गर्दैै घर जाने सोच बनाइन् ।

त्यतिबेलासम्म राष्ट्रपति भण्डारी गएको करिब आधा घण्टा वितिसकेको थियो । उनी त्यस दिन मन्दिर दर्शन गरी घर पुगिन् । तर पुस ९ गते सिलाइ पसलमा मुजेलीया चौकीबाट केही प्रहरी आए । एसपीले बोलाएको छ भनेर जिल्ला प्रहरी कार्यालय धनुषा लगे । ‘मलाई २९ दिनसम्म थुनामै राखियो सोधपुछ गर्यो’ उनी भन्छिन् । अहिले उनी मुद्दाबाट बच्नलाई सङ्घीय समाजवादी फोरम नेपालमा प्रवेश गरेकी छिन् ।  

राजनीतिक संरक्षण
अहिले राष्ट्रिय जनता पार्टी र सङ्घीय समाजवादी फोरम नेपालको प्रदेश नम्बर २ मा संयुक्त सरकार छ । सङ्घीय सरकारसँग राजपा नेपाल र फोरमले पटक पटक गरेको सम्झौता लागू नभएको अवस्था छ ।
प्राचीन स्मारक संरक्षक ऐन २०१३ को दफा १२ क कसुरको अभियोगमा जानकी मन्दिर तोडफोड मुद्दामा राजपा नेपालका केन्द्रीय सदस्य रामजी राय, विमला देवी र सीता चौधरीसमेत हाजिर भइसकेका छन् ।
उनीहरूले पनि अदालतमा ७० हजार रुपैयाँ धरौटी भुक्तानी गरी तारेक र पेसी लिइरहेका छन् ।

अभियुक्तमध्येका तत्कालीन सद्भावना पार्टीका धनुषा जिल्ला नेता रामचन्द्र चौधरीको २ वर्षअघि छठ पर्वका दिन करेन्ट लागेर मृत्यु भएको छ भने राजपा नेपालका नेतृ सरिता कुमारी शर्माको पतिको नाम र ठेगाना फरक परेकाले अदालतले हाजिर लिन मानेको छैन । हाजिर लिन नमानेपछि उनी यस मुद्दाबाट बच्न सफल भएकी छिन् । त्यस्तै मधेस क्रान्ति फोरमका अध्यक्ष नवीन यादव भने अहिले पनि फरारकै सूचीमा छन् । उनी जनकपुरमा नै निर्धक्क आफ्ना दैनिकीमा व्यस्त रहेको बारे प्रहरी बेखबर छ । 

अदालती प्रगति
जानकी मन्दिरको गर्भगृहमा प्रवेश गरी तोडफोडको संलग्नताबारे उपस्थित रहेका वादीको तर्फबाट हाजिर भएकाहरूको बकपत्र अदालतमा छ ।

प्रत्यक्षदर्शीहरू विश्वनाथ दास वैष्णव, राम प्रकाश ठाकुर, उमेश भण्डारी, सूर्यनारायण बहादुर थापा लगायतको बयानमा विवकेचन्द्र अधिकारी, अशोककुमार प्रसैला, सुशील कर्ण र शिला झा लगायतकाहरू मन्दिरको गर्भगृहमा तोडफोड नगरेको बयान दिएका छन् । यिनीहरूले तोडफोड नगरेको बकपत्रमा भनेका छन् ।

बकपत्रको क्रममा वादीका तर्फबाट बयान दिइनेहरूले आफूलाई प्रहरीले जानकी मन्दिर परिसरभित्र पस्नै नदिएको र तोकिएका प्रतिवादीहरू मन्दिरभित्र प्रवेश नगरेको तथा यिनिहरूलाई आफूहरू नचिने भनेका छन् । इजलास न. ३ का युवराज गौतमसमक्ष बकपत्र भएको अधिवक्ता कौशलेन्द्र लाल कर्णले जानकारी दिए ।

आरोपित भनिएका सुशील कर्ण, शिला झा, अशोक प्रसैला यादव र विवेक चन्द्र अधिकारी लगायतकाहरूको तर्फबाट अधिवक्ताहरू चन्द्रप्रकाश मैनाली, रामचन्द्र महतो, कौशलेन्द्र लाल कर्ण, श्याम यादव, दीपेन्द्र साह, कृष्ण झा, अब्दुल अजिज लगायतले बहस गर्दै आएका छन् । यस मुद्दामा यही पुस २ गते पेसी तोकिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप