केन्द्रीय संस्करण

व्यङ्ग्य : गुहार ! गुहार ! जय – पुरस्कार !

person explore access_timeमंसिर २२, २०७५ chat_bubble_outline0

‘पुरस्कार’ गुहार, पुकार, चित्कार र सौदाको प्रतिफल नभएर प्रतिभा, अभ्यास वा व्युत्पत्तिको पराक्रमबाट आर्जित सम्मान हो ।    शब्दको आसयलाई गौर गरेर हेर्दा ‘पुरस्कार’ क्षमतावान् पात्रलाई अगाडि गर्नु वा अघि सार्नु, इनाम– सम्मान गर्नु, पुज्नू भनेर शब्दकोशले होसपूर्वक अथ्र्याएको छ ।

कुनै  सुन्दर वा दिव्य सुकाम गर्ने गर्ने सुपात्रलाई सो काम गरेबापत प्रशंसास्वरूप दिइने पारितोषिक, असल काम गर्नेलाई समाजमा प्रतिष्ठित गर्न सम्मान र आदरस्वरूप दिइने वस्तु नै पुरस्कार हो । हिजोआज शब्दको मर्ममा शर्म  पचाएर कुकर्म छाद्ने पाखण्डवादका अनुचरहरू आपूm र आफन्तवादमा खुम्चेर पुरस्कारको विराट्तालाई इन्कार वा दुत्कार गर्दा साधक, व्याख्याता, आविष्कारक र कलाकारहरूका उत्साहमा एसिड वर्षा भइरहेको छ । नव अभिनव प्रतिभामा कलकलाउँदा उत्साह र दीर्घसेवीहरूको अविरलता देख्दा देख्दै पनि  मार्गमा  काँडैकाँडा बिछ्याउँछन्  नकटाहरू  ।

कतिपय ‘पुरस्कार’– चाकरी, खुसामद, धमौन्तरण, बण्डावाद र नश्लीयकै पेरिफेरिमा घुमिरहन्छन् भन्ने तीखो आरोप पनि छ ।  बौद्धिक बुभुक्षाभन्दा भौतिक क्षुधाकै चक्रमा घुम्ने, परमार्थभन्दा स्वार्थ नै  मुख्य मान्ने परम्पराकै जीर्ण हाकोडाकोमा  गजधम्म भई लाजै पचाएर रिङ्गेका दृश्यहरू पनि देखिन्छन् अभिनन्दन, सम्मान, अलङ्कार र पुरस्कारका रमिते कार्यक्रममा । उपाधि, विभूषण, तक्मा, नगद, जिन्सी, पदीय भर्ना, मनोनयन, नियुक्ति जे जस्तो भेट्टाए पनि आनाकानी नगरी हात पार्ने मुसुमुन्द्रे स्वभाव कतिपय पुरस्कृत पात्रहरूमा ध्वनित हुन्छ ।

कयौँ पुरस्कारकामीहरू जाँच मण्डली अर्थात् निर्णायक केन्द्रमा   प्रभाव, दबाब, सद्भाव र अभाव पनि देखाउँछन् भनी त्यही गुठी वा प्रतिष्ठानमा सम्बद्धहरू पनि बताउँछन् । कतिपय त पुकार, चित्कार, हुङ्कार गर्न खली खाएकाहरू बली बनेर जाली कलामा लाली लगाई नेपथ्य वा अन्तरङ्गमा दामवासना, कामवासना, हामवासनाका डसना बन्न तयार  हुँदै निर्णायक मण्डलीका मुख पात्रहरूलाई नचाएर प्रतिस्पर्धीलाई  विमुख बनाउँछन् अरे भन्ने पनि सुनिन्छ । 

मोहनदास करमचन्दजस्ता निस्पृह ऋषि व्यक्तित्व,  जसको गान्धीवादले संसारकै अशान्तिलाई थन्को लगाएर शान्तिको क्षितिज उघारिदियो । त्यस्तो  सौम्य पुरुष सबैभन्दा ठूलो नोबेल  शान्ति पुरष्कार पाउन योग्य नठहर्नु उदेक लाग्ने विषय हैन ? ‘हिन्दु मुसलमान भाइ भाइ हुन्, स्वतन्त्रता राष्ट्रको अनन्त यौवन हो, पाश्चात्य ढङ्गको शिक्षाले हामीलाई दास र गुलाम बनाउँछ, हलो र चर्खा भारतीय सभ्यताको आधार हो । वेद, बाइवल, कुरान सबै ईश्वरीय वस्तु हुन् ।’ यस्ता सार्वभौम मूल्यमान्यताका प्रयोगपरक  व्यक्तित्व,  शान्तिका अग्रदूत किन महाभूतजस्तो ठान्यो त अल्फर्ड नोबेल पुरस्कारको गुठीले पुरस्कारमा मुठी कसेर ? अमेरिकाका गान्धी भनेर चिनिने गान्धीका चेला मार्टिन लुथर किङ भने छानिए पुरस्कृत हुनेमा कतिपय बुज्रुक भन्छन् त्यो पुरस्कार पनि केही हदमा निश्चित धर्मबाट आकर्षित छ ।

त्यसै भएर त  विश्व हल्लाउने कलमवीर जाँ पाल सात्रले अक्कबक्क नभै निर्धक्क भने– ‘मेरा निम्ति नोबेल पुरस्कार आलुको बोरा बराबर हो ।’ आलुको बोरा कस्तो सटिक विम्ब ? यसैले गाउँ, नगर, जिल्ला, प्रान्त र राष्ट्रदेखि अन्तर्राष्ट्रिय स्तरसम्मका नानाथरी खोल हालेका सङ्घसंस्थाका पुरस्कारलाई पक्षपातले पक्षाघात बनाएको छ भन्दा बुट्टा भरेको झुट्टा  नभएर सत्य नै ठहर्छ । समाज सेवामा जो रुचि नै राख्दैन उही समाजसेवीमा अभिवन्दित हुने, कुशासनको पीडा दिनेहरू सुशासकको तक्मा भिरेर जात्रा मच्चाउने कुकामले कली धपक्कै बल्यो बा ! 


धार्मिक, राजनीतिक, सांस्कृतिक, साहित्यिक, सामाजिक, आर्थिक, कूटनयिक, व्यावसायिक र अन्य विविध क्षेत्रमा पुरस्कारका लागि पात्रताको छनोट गर्ने परिपाटीमा खाँटी निखार आउन नसक्नाका कारण सम्बन्धित क्षेत्रका  जिम्मेदारकै स्वार्थ, अहं तथा सङ्कीर्णता  हो । राजनीतिमा जब नाता, गुट, अन्धभक्त वा दाम कामका अनुचरलाई मनग्गे चर्न दिने नियतले पदीय पुरस्कार थमाइन्छ तब त्यहाँ राजनीति बाजनीति र उपहास नीतिमा रूपान्तरण भइहाल्छ ।

अनि कताको आदर्शको स्पर्श ? कताको मूल्यमान्यताको विमर्श ? गङ्गा बन्नुपर्ने राजनीति टुकुचा   भएर ठसठस कन्दै दुर्गन्ध फिँजाएर  अनैतिक रोगको सङ्क्रमण छर्छ । त्यस्तै धर्म र सांस्कृतिक अनुशीलनमा परिस्कृत हुने परिपाटीको घाँटी निमोठेर आँटी बन्ने नाममा पराइका  जीर्ण जडौरी नव अभिनव पुस्तामा थोपर्ने घटिया वृत्तिले पनि पुरस्कारको छुत्ति काटिरहेको छ । जसले विधर्म एवम् अपसंस्कृति भित्र्याएर धार्मिक वितण्डा र सांस्कृतिक अराजकताको  बाँदरे नाच नचाउँछ त्यही प्रवृत्ति यो दुनियाँमा पुरस्कारको ऋद्धि सिद्धि हासिल गर्छ गाँठे ?   

राजनीतिक भागबण्डामा प्राज्ञिक पदको अण्डा कोरलिँदा बौद्धिक चोरहरू प्राज्ञिक प्रतिष्ठानलाई रसातल पुर्याएर नीच स्वार्थका तलतल मेट्ने धुन्धुकारी वृत्ति मजैले मौलाउँदो रहेछ । अनि पुरस्कृत पात्रहरूको छनोटमा भनोट, कानेखुसी,  बाहुबल र दामको टेन्डरले कुपात्र अभिनन्दित, अभिवन्दित बन्ने कुसंस्कारले आकार लिइहाल्छ ।

 ‘कलौ वाचाल पण्डितः’ भन्ने व्यास वचन खेर नगई सतही, हाटहुटे र उखानका टाकटुकेहरूकै राइँदाइँ मच्चिने हुँदा कताको मौलिक सिर्जनाको संवर्धन ? कताको नव अनुसन्धानको प्रवद्र्धन ? सधैँ फोटोकपी, रफी वा गफी जनशक्तिमै  हाम्रो पुरस्कारको अपकार बिल्लीबास भएर  खल्तीखलाँस !! बौद्धिक चोरी गरेर प्राविधिक रूपले फुर्को झुन्ड्याउन सफल तर गवेषणा र अनुसन्धानमा जिरो भएकाहरू प्राज्ञिक संस्थानका हिरो बन्न पुगेका दृश्यहरूले कुन विवेकीको आँखा रसाउँदैन र वैराग छुट्दैन ? गुणवत्तामा  प्रतिस्पर्धा गौण बनेर जब आरक्षण, समावेशिता, लैङ्गिकता, नाता, दमडी र क्षेत्रीयता  प्रधान तथा जब्बर बन्दछन् वा बनाइन्छन् अनि त पुरस्कार मात्र तिरस्कारमा परेर बर्बाद सुरु भइहाल्छ । कसैको अनुचित चित्कार, आवेगी धिक्कार,  अहङ्कार वा हुङ्कारले पुरस्कार गाँजिँदा यसले कलङ्कको टीका लगाउन पर्ने थिति रहन्छ । बजारु सर्जक, टापटिपे  र खेताला पण्डाहरूका सिर्जनाका हाकोडाकोमा मोफसलका पसल ठण्डाराम भएर राम राम भन्न पर्ने थिति उत्तिकै चर्को छ ।

पुरस्कारको उपकार तब गर्न सकिन्छ जब शक्तिकेन्द्रमा रहेका टाउकाहरूका  हुङ्कार, पन्थ, वाद, लगाव, पूर्वाग्रह, लम्पसारवाद, दण्डवत् प्रणाम  र सम्प्रदायको सङ्कीर्ण किल्ला भत्काउने स्वतन्त्र र निर्भीक प्राज्ञिकताको सविता उदाउँछ । यसैले विलम्ब नगरी पुरस्कारलाई सुपात्रमा थमाउन एउटा भाश्वर–क्रान्ति अत्यावश्यक छ   ।

 ‘पुरस्कार’ यो शब्दको अस्मिता र गौरवलाई रौरवतिर बुझाएर कौरव बन्ने फुलबुट्टेवाद अवशाद, विशाद र पक्षपात हो भनेर छाती ठोक्ने हिम्मत हर क्षेत्रका  जिम्वालहरूसित  हुनै पर्छ । तिरस्कार, उपहास, बरबाद र अभिशाप बन्न हुन्न सबै क्षेत्रमा दिइने पुरस्कार । अनि मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जुहार, मुहार, पुकार, स्वीकार हुनसक्छ पुरस्कार ! सधैँ ‘गुहार ! गुहार !!  जय पुरस्कार ! भन्ने भाटतन्त्र टाट पार्न पर्छ । तब त न्याय पाउन सक्छ पुरस्कार शब्दले । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.