शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनकपुरको डेरी आईसक्रिम फ्याक्ट्रीमा लुटपाट

आइतबार, २३ मङ्सिर २०७५, १४ : ३७
आइतबार, २३ मङ्सिर २०७५

जनकपुर– जनकपुरस्थित डेरी आईसक्रिम फ्याक्ट्रीमा लुटेराहरुको एक समुहले तोडफोडसहित लुटपाट गरेका छन् ।

जनकपुरको रेल्वेस्टेसनतर्फ रहेको ज्वाईस आईसक्रिम शनिबार राति करिब ९ बजे ५ जना लुटेराहरुको समुहले लुटेको हो । फैक्ट्रीमा एकजना स्टाफ खाना बनाइरहेको समयमा आएका उनीहरुले टिभी र केही फ्रिजहरु तोडफोड गरी गल्ला(दराज)बाट करिब १ लाख ९० हजार रुपैयाँ नगद लुटेर लगेको डेरी आईसक्रिमका सञ्चालक मनिष पूर्वेले जानकारी दिए ।  

फैक्ट्रीमा एकजना स्टाफ मात्रै रहेको बेलामा आक्रामक ढंगबाट आएका उनीहरुले एक थान एलसिडि लुट्नुका साथै एकथान कलर टिभीसहित ६ वटा फ्रिजमा समेत तोडफोड गरि लाखौँको क्षति गराएको पूर्वेले जानकारी दिए । 

उनले घटना भएको बेलामा रेल्वे प्रहरी चौकीलाई खबर गरेको र प्रहरी आएर पनि खासै चासो नदिएको गुनासो गरे । उनले फ्याक्ट्रीमा लुटपाट गरेर गईसकेपछि लुटेराले आफुलाई फोन गरि मारिदिने धम्कीसमेत दिएको बताए । डेरी आईसक्रिमका सञ्चालक पूर्वेले आज केहीबेर अघि रेल्वे प्रहरी चौकीमा  गई उजुरी दर्ता गराएपनि प्रहरीले वास्तविक लुटेरा पक्राउ गरी कारवाही गर्नेमा आफुलाई विश्वास नभएको गुनासो पोखे ।

यसकारण भयो घटना 

करिब ३ वर्ष पूर्व सञ्जितकुमार साहले सिरहामा खोलेको फ्याक्ट्रीमा मनिष पूर्वे काम गर्थे । सिप सिकेलगत्तै उनले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मा करिब ५० लाखको लगानीमा डेरी आईसक्रिम फ्याक्ट्री सञ्चालन गर्न थाले । नातामा सानीआमाको छोरा पर्ने सञ्जितकुमार साहले जनकपुरमा आएर पूर्वेको काम हेरेपछि उनले भन्दा मनग्य आय आर्जन गरेको र फ्याक्ट्रीबाट निकै प्रगति गरेको देखेपछि त्यहिबेला देखि मनमुटाव सुरु हुन थालेको बताइन्छ ।

त्यसपछि सञ्जितले मनिषलाई पाट्नरसिपमै काम गर्ने गरि सहमति गर्न उनले बेला–बेलामा लविंग समेत गरे र मनिषले अन्ततः मानेपनि । तर पाट्नरसिपमा काम सुरु गरेदेखिनै आन्तरिकरुपमा बाधा अवरोध गर्न थालेपछि मनिसले अन्तै फ्याक्ट्री खोल्न उनलाई सुझाए ।  त्यसलगत्तै सञ्जितले पनि अन्यत्रै अर्थात रेल्वे स्टेसनको वारिपटी फ्याक्ट्री खोले ।

उनले फ्यक्ट्री चलाएपछि निकै नाफामा जान थाल्यो । त्यसपछि उनीहरुले डाहा गरेर आक्रमण गरेको सञ्चालक मनिष बताउँछन् । ‘नियत नै ठिक नभएको र मैले प्रगति गरेको देख्नै नचाहेकोले मलाईनै शत्रु ठानेर मेरो व्यवसाय चौपट गर्ने उद्देश्यले ममाथि आक्रमण गरेको हो’ मनिषले बताए ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाले भने आक्रमणकारीको व्यापक खोजी कार्य भइरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप