शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तपाईको आजको राशिफल

सोमबार, २४ मङ्सिर २०७५, ०६ : १२
सोमबार, २४ मङ्सिर २०७५

वि.सं. २०७५ साल मङ्सिर २४ गते । सोमबार । इस्वी सन् २०१८ डिसेम्बर १० तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग शुक्ल पक्ष । तिथि तृतीया,  २३ घडी ४८ पला,  बेलुकी ०४ बजेर १६ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र पूर्वाषाडा,  ०८ घडी २१ पला,  बिहान १० बजेर ०५ मिनेट उप्रान्त उत्तरषाडा । योग वृद्धि,  ३७ घडी ४९ पला,  बेलुकी ०९ बजेर ५२ मिनेट उप्रान्त ध्रुव । करण गर,  बेलुकी ०४ बजेर १६ मिनेट उप्रान्त वणिज । आनन्दादिमा उत्पात योग । चन्द्रराशि धनु,  बेलुकी ०४ बजेर ४० मिनेट उप्रान्त मकर ।  मानव अधिकार दिवस ।

काठमाडौंमा सूर्योदय ०६ बजेर ४५ मिनेट,  सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट । दिनमान २५ घडी ५७ पला ।
 
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)  काम गर्दा ख्याल गर्नुहोला काममा सपोर्ट गर्नेभन्दा फसाउने मानिसहरू हाबी हुनेछन् । बनेका योजनाहरू बौद्धिकताको कमीले लागू गर्न नसक्दा बन्न लागेका कामहरू अलपत्र हुनेछन् । धार्मिक तथा तीर्थस्थलको यात्रा गरी मनलाई शान्त पार्न सकिनेछ । माया प्रेममा अरूकै नकारात्मक टिप्पणीले गर्दा मनमुटाब बढ्नेछ । साँझबाट समय राम्रो आउँने हुनाले व्यापार व्यावसायमा लगानी बढाई मनग्गे नाफा कमाउन सकिनेछ । पैत्रिक धन तथा सम्पत्तिको परिचालन गरी आम्दानी बढाउन सकिनेछ ।
 
 बृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो) नचाहँदा नचाहँदै नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ भने अप्रिय घटनाको सामना गर्नुपर्नेछ । व्यापारमा समय दिए पनि आम्दानी न्यून हुने हुँदा आवश्यकता टार्न मुस्किल पर्नेछ । पढाइतिर मन नजाने तथा अरूकै पोल्टोमा नतिजा पर्नेछ । प्रेममा धोका हुने तथा घरपरिवारमा आफन्तसँग सामान्य कुरामा नै ठूलो विवाद हुनेछ । साँझपख धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेको छ । धर्म तथा अध्यात्म क्षेत्रमा मन जाने तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्नेछ ।
 
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन तथा धातु सङ्ग्रह गर्न सकिनेछ । पढाइ लेखाइमा सफलता प्राप्त हुनेछ भने अध्ययनकै लागि राम्रो स्थानमा स्थानान्तरण हुने अधिक सम्भावना रहेको छ । माया प्रेममा एकअर्काको भावना बुझ्न सकिने हुँदा एउटै बाटो हिँड्न सकिनेछ । भौतिक सम्पत्ति जुट्नुको साथै विलाशी जीवन व्यातित गर्न सकिनेछ । साँझपख समय मध्यम रहेकाले भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
 
 कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)  अध्ययनमा समय दिन नसके पनि अतिरिक्त ज्ञान गुनका कुराहरू प्राप्त गर्न सकिने समय रहेको छ । तपाईंको नराम्रो सोच्नेहरू आफै किनारा लाग्नेछन् । सत्रु परास्त हुनेछन् भने ठूलाबडाको आशीर्वादले अगाडि बढ्न सहज हुनेछ । परिवारमा मेलमिलापको भाव बढ्नेछ भने एकअर्काबीच आत्मीयता वृद्धि भएर जानेछ । मामा तथा मावली पक्षका मानिससँग भेटघाट हुने हुनाले मन प्रसन्न रहनेछ । साँझपख व्यावसायिक यात्रा हुने योग रहेको छ ।
 
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) पढाइ लेखाइमा प्रसस्त समय दिए पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने अवस्था रहनेछ । सामाजिक काम गर्ने अवसर आए पनि जस नपाउँदा मन खिन्न हुनेछ । आफन्त तथा सन्तान पक्षले अनावश्यक झन्झट दिनेछन् भने माया प्रेममा  आफ्नो मायालुलाई विश्वासमा लिन बढी नै समय खर्चिनुपर्नेछ । स्वास्थ्यमा सामान्य समस्या आई दैनिक कामहरू प्रभावित हुनेछन् ध्यान दिनुहोला । साँझपख समय राम्रो रहेकाले व्यापारमा वृद्धि भएर जानेछ भने न्यायिक निर्णयहरू तपाईंकै पक्षमा फैसला हुनेछन् ।
 
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) व्यापार व्यावसायमा लगानी गर्न नसकिने तथा आम्दानी कम हुँदा आर्थिक समस्याले दिन गुज्रिनेछ । पढाइ लेखाइ तथा यस्तै क्रियाकलापमा राम्रो मिहिनेत गरे मात्र परिणाम तपाईंकै पक्षमा पार्न सकिनेछ । आफन्त तथा आमासँगको सम्बन्ध सुधार गर्दै अगाडि बढ्न सके फाइदा हुने योग रहेको छ । कृषि, सहकारी तथा पशुपालन व्यावसायबाट भने आम्दानी केही मात्रामा बढाउन सकिनेछ ।
 
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)  पुराना समस्याहरूलाई केही समय दिएर सल्ट्याउन सकिनेछ भने नयाँ नयाँ रोजगारीका अवसर सिर्जना गरेर मनग्गे आम्दानी गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने छोटो दूरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । विद्यार्थीहरूले आफ्नो प्रतिस्पर्धीलाई सजिलै हराउन सक्नेछन् भने पढाइ लेखाइमा भनेजस्तो नतिजा ल्याउन सकिनेछ । अदालती निर्णयहरू तपाईंकै पक्षमा आउने हुनाले मन प्रसन्न रहनेछ । साँझपख सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
 
बृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू) लामो समय लगाएर गरिएको कामको नतिजा तपाईंको पक्षमा नआउने हुनाले मन दुःखी हुनेछ । बन्द व्यापारमा सोचेजस्तो आम्दानी नहुन सक्छ । आम्दानीभन्दा खर्च बढ्ने हुनाले आर्थिक व्यावस्थापनमा गडबड हुनेछ ।  प्रणय सम्बन्ध चिसिने अधिक सम्भावना रहेको छ भने आफन्तसँग नै मनमुटाव बढ्नेछ । साँझपख समय राम्रो रहेकाले दाजुभाइ तथा छिमेकीबाट सहयोग प्राप्त हुनेछ । लेखनकला तथा साहित्य क्षेत्रमा तपाईंको राम्रो उपस्थिति रहनेछ ।
 
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) राम्रा तथा सामाजिक काम गरी अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठूलो काम बन्ने हुँदा आर्थिक रूपमा सबल होइनेछ । थोरै स्रोत साधन प्रयोग गरी असीमित आवश्यकता पूरा गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहानेहरूका लागि दिनले साथ दिने हुँदा मीठा मीठा कुरा गरी समय व्यतित गर्न सकिनेछ । पढाइमा प्रगति हुने तथा नतिजा तपाईं आफ्नै पोल्टोमा पर्नेछ । साँझपख खानपानमा ध्यान दिनुहोला ।
 
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) लामो समयदेखि थाँती रहेको आर्थिक मुद्दाहरू हल भएर जानेछन् । लामो दूरीको विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूले मनग्गे रुपैयाँ पैसा कमाउन सक्नेछन् । स्वदेश तथा विदेशमा उत्पादित सामानको व्ययावसाय फस्टाएर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडि बढ्ने योग रहेको छ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना भए पनि अन्तत एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिने समय रहेको छ ।
 
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)  प्राकृतिक स्रोत साधन,  सरकारी स्रोत तथा अन्य भौतिक सम्पत्तिको प्रयोगमार्फत यथेष्ट आम्दानी बढाउन सकिनेछ । नयाँ प्रकृतिको व्यापार व्यावसायमा लगानी गर्ने वातावरण बन्ने हुनाले मनग्गे धन लाभ हुने योग रहेको छ । पुराना कामबाट भनेभन्दा बढी नै आम्दानी हुने छ । माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ भने घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । विद्या तथा प्रतिस्पर्धामा अरू दिनभन्दा राम्रो प्रगति गर्न सकिनेछ । साँझपख लामो दूरीको यात्राको तय गर्न सकिनेछ ।
 
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)  राजनीति तथा समाज सेवामा समय दिनेहरूले राज्यबाट पद प्रतिष्ठा पाउने ग्रहयोग रहेको छ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे रुपैयाँ पैसा कमाउन सकिनेछ भने नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेको छ । बुबा तथा आफन्तबाट सहयोग पाइने हुनाले महत्त्वपूर्ण कामहरू समयमै फत्ते गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप