शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मैथिल महिलाको मधुश्रावणी पर्व

बुधबार, ११ साउन २०७४, ०९ : ४५
बुधबार, ११ साउन २०७४

जनकपुरधाम  - मिथिलाञ्चलमा मैथिल महिलाको सांस्कृतिक पर्व मधुश्रावणी टेमी विधि गरी आज सम्पन्न भएको छ । 

सामाजिक सांस्कृतिक परम्परामा आधारित यो पर्व वैवाहिक जीवनको प्रवेशमा पहिलो वर्ष धुमधामसँग मनाइन्छ भने त्यसपछि प्रत्येक वर्ष सो अवसरमा कथा सुन्ने सुनाउने परम्परा रहेको छ । 

तेह्र दिनसम्म मनाइने यस पर्वमा मैथिल पुत्री विभिन्न गीत गाउँदै श्रीमान्ले ल्याए वा पठाएको फरिया, घोघट लगाएर सखीहरूसँग फूलबारीमा फूल टिप्दै लोकाचारलाई रागात्मक धरातलमा उभ्याउने गर्छन् । 

वर्षा ऋतुमा सर्पको भूमिमा आगमन र विचरणले मानव जीवन त्रस्त हुनुले नाग–नागिन र प्रकृतिको प्रतीक हुने कारणबाट पनि प्रेरित यो पर्व मुख्यतः शिव, पार्वती तथा नाग–नागिनको पूजामा केन्द्रित रही मनाइने चलन छ । 

मौना पञ्चमीदेखि शुरु भई तृतीया तिथिका दिन समापन हुने यो पर्व मैथिल समुदायका ब्राह्मण, कायस्थ, देव र सोनार जातिमा मनाइने गरिएको पाइन्छ । पर्वमा प्रत्येक दिन गौरी तथा नाग–नागिनको पूजा गरी शिव, पार्वती र नागसँग सम्बन्धित कथा सुनाउने गरिन्छ । 

गौरीलाई दाम्पत्य जीवनको संरक्षिका र नागलाई नारीको पतिका रूपमा मानिएकाले यस पर्वमा गौरी तथा नाग–नागिनको विशेष पूजा आराधना गर्ने गरिएको संस्कृतिविद् डा रेवतीरमण लाल बताउँछन् । 

वैदिक भावनानुकूल र सांस्कृतिक परम्परामा आधारित यो पर्वको उद्देश्य सुखी एवं दीर्घ दाम्पत्य जीवन भएको पनि उनी स्पष्ट पार्छन । प्राध्यापक डा पशुपतिनाथ झाका अनुसार गौरी दाम्पत्य जीवनलाई सुखी बनाउने मात्र होइन मनकामना पूर्ण गर्ने देवी पनि छन् । 

मिथिलाकी राजकुमारी सीताद्वारा गौरी पूजन गरिएकाले नै भगवान श्रीरामजस्ता पति पाइन् भन्ने धार्मिक आस्था पनि देखिन्छ । वाल्मिकी रामायणका अनुसार गौरी पूजनका लागि सीताले फूल टिप्ने क्रममा रामसँग भेट भएको थियो । 

पर्वमा कतिपय कथा शिव पार्वतीको वैवाहिक, रोमाञ्चक प्रसंग एवं ठट्यौली भरिएका कारण नारी जीवनमा पतिप्रतिको स्नेह, सौहार्दतालाई प्रगाढ बनाउन प्रेरित गर्दछ भने सर्पकी आमा विसहरा र उनको वंशका बारेमा चर्चित कथाले नागको पूजा गर्ने भावनालाई अभिप्रेरित गर्ने जनविश्वाससमेत पाइन्छ । 

यो पर्व कहिलेदेखि शुरु गरिएको हो भन्न सकिने तथ्य नरहे पनि शिव पुराणको प्रसंगअनुसार मधुश्रावणी नामक नवविवाहिताले शिवलाई आफ्नो पतिलाई कुष्ठरोग भएको ब्यथा सुनाउँदा शिवले तिनलाई यस प्रकारको व्रत गर्न सुझाव दिए । शिवको सुझावअनुसार उनले व्रत गरेपछि पति निको भई स्वस्थ भए । त्यसै दिनदेखि प्रत्येक नवविवाहिताले यसलाई अनुपालन गर्दै परम्परागत रूपमा मनाउँदै आएको बुझिन्छ । 

यस पर्वमा मौनापञ्चमी एवं विसहराको जन्म कथा, मनसा र मंगला गौरीको कथा, पृथ्वीको उत्पत्ति, समुद्र मन्थन, सतीको पवित्रताको कथा, शिवको पारिवारिक कथा, गंगा उत्पत्ति, गौरीको जन्म र कामको कथा, गौरीको तपस्या, गौरी विवाहका जन्तीको कथा, कार्तिक र गणेशको जन्म, सन्ध्या र लीलीको विवाह, सुकन्या, बालवसन्त र गोसाउनीको कथा, राजाश्रीकर र गणेशद्वारा सुहाग मन्थनको कथा श्रवण गरिन्छ । 

पर्वको अन्तिम विधि टेमी विधि हुन्छ । यसमा बेहुलीको आँखा छोपी घुँडा र खुट्टा डाम्ने गरिन्छ । सामान्य अर्थमा यो विधि अव्यवहारिक, अन्धविश्वासी, रूढिवादी परम्परामा आधारित भएको देखिएपनि एउटा खास धार्मिक, सांस्कृतिक मान्यताको प्रतीक मानिएको छ । सो विधिले डाम्दा हुने पीडा जतिकै दाम्पत्य जीवनमा पर्न सक्ने दुःख, कष्ट, पीडा खप्ने हुनुपर्दछ भन्ने अर्थमा अथ्र्याएको पाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप