शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्रीको ताल उस्तै : समयलाई किन महत्त्व दिँदैनन् ओली ?

सोमबार, २४ मङ्सिर २०७५, ११ : ०८
सोमबार, २४ मङ्सिर २०७५


काठमाडौँ– प्रसङ्ग  १– मङ्सिर २२ गते शनिबार । दिउँसो ३ बजेका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आह्वान भएको थियो । तर ३० मिनेट ढिला हुँदा पनि बैठक सुरु नभएको भन्दै बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ बालुवाटारबाट बाहिरिए । उनीहरूको आक्रोश थियो–प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले समयमा बैठक सुचारु गरेनन् । 

पार्टी बैठक छाडेर ओली अन्य भेटघाटमा लागेको चार नेताको आरोप थियो । महासचिव विष्णु पौडेलका अनुसार अध्यक्षद्वय परामर्शमा रहँदा केही मिनेट मात्रै सचिवालयको बैठक ढिलो भएको थियो । पार्टी एकीकरणका बाँकी कामलगायतका विषयमा छलफल गर्ने कार्यसूची थियो । चार नेता निस्केपछि नौ सदस्य रहेको सचिवालयमा पाँच जना नेताको मात्रै बैठक बस्यो । बैठकले मङ्सिर २९ गते स्थायी समितिको बैठक बोलाउने निर्णय गर्यो । 

पार्टी बैठक बहिष्कार गरेको अर्को दिन आइतबार नेता खनालले एक कार्यक्रममा समयबारे बोलेका थिए । ‘कहिलेकाहीँ ३ बजे भनेर बोलाइन्छ, ६ बजे सुरु हुन्छ । आज पनि यस्तै हो कि भनेर हामी हिँड्यौं । तहल्का मच्चियो ।’ जब कि बैठक बहिष्कारपछि रातोपाटीसँगको कुराकानीमा नेता गौतमको प्रतिक्रिया पनि अध्यक्षले समयको पालना नगरेको बताएका छन् । ‘यसअघि पनि बैठक बोलाएर सधैँ एक–दुई घण्टा ढिलाइ गर्ने गरिन्थ्यो । आज पनि त्यस्तै स्थिति देखिपछि हामीले यसरी नबसौँ भन्ने निर्णय गर्यौं ।’ नेता गौतमले भने, ‘हामी निस्केपछि सामान्य बहुमतको कोरम पुर्याएर निर्णय गरिएको छ ।  यसले कोरम पुग्यो भने बैठक बस्नुपर्छ भन्ने मान्यता स्थापित गरेको छ । अब एक जना अध्यक्षको उपस्थितिमा समयमै बैठक सञ्चालन गर्नुपर्छ । 

प्रसङ्ग २– प्रधानमन्त्री एवम् पार्टी अध्यक्षले समयलाई ध्यान नदिएको विषयमा पार्टीका चार जना शीर्ष नेताले बैठक बहिष्कार गरेपछि यसले नेकपामा मात्रै होइन, सबै क्षेत्रमा ठूलै चासो जगाएको थियो । पार्टी नेताले बैठक बहिष्कार गरेको २४ घण्टा नवित्दै प्रधानमन्त्री ओलीले समयलाई ख्याल नदिएको अर्को घटना बाहिर आयो । सङ्घ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्ने निकाय अन्तर प्रदेश परिषद्को पहिलो बैठक आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बोलाइएको थियो । 

प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा गृहमन्त्री, अर्थमन्त्री, सम्बन्धित प्रदेशका मुख्यमन्त्री सदस्य हुन्छन् । बैठकमा सङ्घीय सरकारका अन्य मन्त्री पनि आमन्त्रित रहने व्यवस्था छ । देशका सबै शक्तिशाली व्यक्ति सहभागी हुने बैठक भएकाले बैठकको हरेक सेकेन्ड महत्त्वपूर्ण हुन्छ नै । तर बिहान बिहान ११ बजे बोलाइएको बैठकमा प्रधानमन्त्री ओली डेढ घण्टा ढिला पुगे । बैठक सुरु गरेर प्रधानमन्त्री फेरि बाहिर निस्किए । खाना खान निस्केका प्रधानमन्त्री डेढ घण्टापछि मात्रै फर्के । 

संविधान, कानुन, बजेट र नीति कार्यक्रम कार्यान्वयन तथा अधिकारको व्यावहारिक बाँडफाँटका सम्बन्धमा देखिएका विवाद समाधान गर्न लामो समयदेखि यो परिषद्को बैठक माग गरिएको थियो । प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले केन्द्र सरकारसँग बसेर किनारा लगाउनुपर्ने विषयमा ध्यान नदिएको गुनासो गर्दै आएका थिए । यस्तो महत्त्वपूर्ण बैठकमा प्रधानमन्त्री ओलीले समय व्यवस्थापनमा ध्यान नदिएपछि बैठकका सहभागीबीच अनौपचारिक कुराकानी भयो, ‘पार्टी नेता समयै विषयमा बैठक बहिष्कार गरे । त्यसबाट पनि प्रधानमन्त्रीले पाठ सिक्नु भएनछ । यति महत्त्वपूण बैठकलाई पनि बेवास्ता गर्नुभयो ।’

समयलाई ख्याल नगर्ने प्रधानमन्त्री ओलीको पुरानै बानी 

प्रधानमन्त्री ओलीले समयलाई ध्यान नदिने बारे यसअघि पनि धेरै पटक प्रश्न उठ्ने गरेका छन् । ‘समय’लाई लिएर शनिबार नेकपाभित्र भएको बबन्डरबाट पनि ओली टसको मस भएका छैनन् । जसको उदाहरण आइतबारको अन्तरप्रदेश परिषद्को कार्यक्रमा ढेड घण्टा ढिला पुग्नुले पुष्टि गर्छ । आफू दोस्रो पटक प्रधानमन्त्री भएको एक महिनापछि प्रधानमन्त्री ओलीले सिंहदरबारमा मन्त्री र सचिवहरूलाई वैशाख ४ गते संयुक्त रूपमा निर्देशन दिएका थिए । 

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार असाधारण दायित्व बोकेको भन्दै परम्परागत मानसिकताबाट माथि उठेर काम गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्री ओलीले वर्तमान सरकार नेपालको पहिचान बदल्ने लक्ष्यमा रहेकाले यसका लागि नीति निर्माण तहमा बस्नेहरूको सोचाइ पनि परिवर्तन हुनुपर्ने बताएका थिए । ‘तपाईंहरूले समयको ख्याल गर्नुहोला । हरेक मिनेटको समयलाई सदुपयोग गरेर काम गर्नुस् । काम गर्दा लक्ष्य निर्धारण गर्न र लक्ष्य प्राप्त भए नभएको ख्याल गर्नुस् । तर यस कारण, यदि यस्तो भएर भएन भन्ने छुट अब कसैलाई छैन ।’

समयलाई लिएर यति कठोर निर्देशन दिने प्रधानमन्त्री ओली आफै चाहिँ समयप्रति बेपर्वाह बन्दै गएका छन् । उनी आफै मन्त्रिपरिषद्का बैठकमा कहिलेकाहीँ एक–दुई घण्टा ढिला पुग्छन् । एक त ढिला पुग्छन्, त्यसमा पनि प्रधानमन्त्री ओलीले कहिलेकाहीँ मन्त्रिपरिषद्को बैठकमा यति लामो भाषण दिन्छन् कि मन्त्री नै थाक्छन् ।

समयसँग प्रधानमन्त्री ओलीको पहिलादेखि नै त्यति राम्रो तारतम्य होइन । कार्यक्रम र भेटघाटको प्राथामिकता नछुट्याउने प्रधानमन्त्री ओलीको पहिलादेखिकै समस्या हो । तर दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीले यसमा सुधार गर्लान् भन्ने अपेक्षा थियो । अहिले पनि ओलीले यसपालि पनि समयमा खासै ध्यान दिएका छैनन् । ओलीको समयतालिकाले पार्टी सङ्गठनकै कार्यक्रम प्रभावित भएपछि यो मुद्दा अहिले उनकै पार्टी नेकपाभित्र ठूलो बहसमा छ ।

यस अघि पूर्वएमालेहरू ओलीको समयसँगको लापरवाहीबारे जानकार थिए । एकीकृत पार्टी भएपछि पूर्वमाओवादीका नेताहरूले पनि झेल्दै आएका छन् । प्रधानमन्त्रीको समय तालिकालाई लिएर नेकपाका अर्का अध्यक्ष प्रचण्ड पनि सन्तुष्ट छैनन् । १२ बजे पुग्नुपर्ने कार्यक्रममा ३ बजे पुग्ने प्रधानमन्त्री ढिला भएकोमा सामान्य क्षमायाचना पनि गर्न रुचाउँदैनन् । कहिले त उनी प्रमुख अतिथि भएका कार्यक्रममा अन्य नेताहरूले आफ्नो मन्तव्य सकेर हिँड्दा पनि उनी उपस्थित भएका हुँदैनन् । कार्यक्रममा सहभागी पनि उठेर हिँडिसकेका हुन्छन् तर प्रधानमन्त्री ओली कार्यक्रम स्थलमा पुग्दैनन् । कहिले त कार्यक्रम सञ्चालकले उखान चुड्किला सुनाएर सहभागीलाई भुलाउनुपरेका कार्यक्रम पनि भएका नेकपा नेताहरू नै बताउँछन् । 
  
बारम्बार बैठकमा एजेन्डा बन्यो ‘समय पालना’

शनिबारको सचिवालय बैठकमा चार नेताहरूले बैठक बहिष्कार गर्नुका पछाडि यसअघिका निर्णयलाई कार्यान्वय गराउन दबाबका लागि थियो पनि भनेका छन् । सचिवालयका सबैजसो बैठकमा र पार्टीका अन्य कार्यक्रममा समयसँग प्रधानमन्त्री ओली बेपरवाह हुन थालेपछि धेरै पटक एजेन्डाको रूपमा छलफल नै भएको थियो । 

गत साउनमा बसेको एक सचिवालयको बैठकले कार्यक्रम वा बैठकमा आउन ढिला हुने भए त्यसको पूर्वजानकारी दिनुपर्ने विषयमा छलफल गरेको थियो । त्यसयताका बैठकमा कसैलाई कुर्नुपर्ने भए बढीमा १५ मिनेट पर्खिने अनौपचारिक सहमतिसमेत भएको थियो । सचिवालय बैठकको संयुक्त वा आपसी सल्लाहमा दुईमध्ये एकले बैठक सञ्चालन गर्नसक्ने अधिकार पार्टी विधानमा छ । 

एक अध्यक्ष उपस्थित हुन ढिला भएमा कुरिरहनुपर्ने अवस्था भने छैन । तर ओलीविना अर्का अध्यक्ष प्रचण्डले र प्रचण्डविना ओली एक्लैले बैठक चाहिँ बसालेका छैनन् । शनिबारको सचिवालय बैठकमा चार शीर्ष नेताहरूको बहिष्कारले सामान्य बहुमतका आधारमा निर्णय गर्ने परिपाटी नेकपाले बसालेको छ । त्योसँगै बहिष्कारमा सहभागी नेता वामदेव गौतमले अध्यक्षहरूले समयको पालना गर्नुपर्ने र एक अध्यक्ष व्यस्त हुँदा अर्का अध्यक्षले बैठक सञ्चालन गर्नुपर्ने परिपाटीको सुरुवात हुनुपर्ने बताएका छन् । 

प्रधानमन्त्री ओली पार्टीका बैठक वा कार्यक्रममा मात्रै ढिला पुग्दैनन्, उनी अन्य कार्यक्रममा पनि ढिला पुग्ने गर्छन् । प्रधानमन्त्री प्रमुख अतिथि रहेका अधिकांश कार्यक्रमका धेरै आयोजक र सहभागीहरूले दिग्दारी भोगिसकेका छन् । कतिपय कार्यक्रममा त सबै वक्ता बोलेर सक्दासमेत प्रधानमन्त्री उपस्थित भएका हुँदैनन् । 

सचिवालयको कमजोरी

प्रधानमन्त्रीको दैनिकी निकै व्यस्त हुन्छ । हरेक कार्यक्रम र भेटघाटका लागि निश्चित समय छुट्याइएको हुन्छ । एउटा कार्यक्रम वा भेटघाटको समयतालिका तलमाथि पर्यो भने दिनभर त्यसको प्रभाव पर्छ । यसको व्यवस्थापन प्रधानमन्त्रीको निजी सचिवालयले गर्नुपर्ने हुन्छ । तर निजी सचिवालयले समयबारे प्रधानमन्त्रीलाई पटक–पटक नोटिस गराउँदैन । यहीँनेरबाट समस्या सुरु हुने गरेको सचिवालयका एक कर्मचारी बताउँछन् । त्यसो त समयका विषयमा ओलीको बानी नै पुरानो हो । नेकपाका एक स्थायी समिति सदस्य भन्छन्, ‘प्रधानमन्त्री भएर बालुवाटार बस्दा होस् वा पार्टी अध्यक्षको हैसियतमा बालकोट बस्दा नै किन नहोस्, ओली समयलाई त्यति महत्त्व दिँदैनन् । मैले कसलाई भेटेको छु, यसलाई कति समय दिनुपर्छ । भेट्न कोही मान्छे पर्खेर बसेका छन् भन्नेमा उहाँको ध्यान जाँदैन ।’ 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप