शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आन्दोलन गर्न पनि वास्तविक सङ्गठन चाहिन्छ : कमल खनाल (अन्तर्वार्ता)

सोमबार, २४ मङ्सिर २०७५, १३ : ५३
सोमबार, २४ मङ्सिर २०७५

नयाँ शक्ति नेपालले  आफूलाई वैकल्पिक शक्तिका रूपमा आफूलाई उभ्याउने दाबी गरेको छ । सोही अनुरूप सो पार्टीले देशव्यापी रूपमा संगठन विस्तारलाई तीव्रता दिएको छ । यस क्रममा नयाँ शक्ति नेपालले प्रदेश ५ मा पनि पछिल्लो समय आफ्ना गतिविधि बढाएको छ । प्रस्तुत छ  यिनै विषयमा केन्द्रित रहेर नयाँ शक्ति नेपालका प्रदेश ५ का संयोजक कमल खनालसँग रातोपाटीका तेजेन्द्र केसीले गरेको कुराकानीः 

पार्टीको प्रदेश संयोजक बन्नुभएको छ, नयाँ शक्ति पार्टीका कामकारवाही कसरी अगाडि बढाउनुहुन्छ  ? 
प्रदेश ५ मा नयाँ शक्ति पार्टी स्थापनाकालदेखि सङ्गठनको स्वरूप राम्रो भएको मानिन्छ । यस प्रदेशका १२ जिल्लामध्ये १० वटामा पार्टी कार्यालय छन् र बुटवलमा प्रदेश कार्यालय छ । बाँकी दुई जिल्लामा सम्पर्क कार्यालय र संयोजक बनाएर काम गरिरहेका छौँ । निर्वाचनका समयमा हाम्रो पार्टी १० जिल्लामा परिचालन भएको थियो । रोल्पा र पाल्पामा हाम्रो सङ्गठनले पूर्णता पाउन नसकेको हो । ती ठाउँमा यही महिनाभित्र पार्टी कार्यालय स्थापना गर्ने र सङ्गठनको पूरा संरचना खडा गर्ने योजना छ । अब हामी वडा तहसम्म सङ्गठन निर्माण गर्दै काम गर्ने योजनामा छाँै । मेरो ध्यान पनि केन्द्रको नीति र निर्देशनसँगै सङ्गठन निर्माणमा केन्द्रित हुन्छ । अर्कोतिर अन्य कामभन्दा वडाभन्दा तल पार्टीको कमिटी गठन गर्ने, जनवर्गीय सङ्गठन र भ्रातृ सङ्गठनको विस्तारमा जोड दिने छु । यो महिनामा ठाउँ ठाउँमा दौडाहा अभियान नै सञ्चालन गरिन्छ । तसर्थ प्रदेश समितिको सल्लाह, सुझाव र आवश्यकताका आधारमा काम आगडि बढाउँदै जाने छौँ । यस आधारमा प्रदेशमा नयाँ शक्ति पार्टीको साङ्गठनिक अवस्था ठिकै छ । चुनावको परिमाणले पनि हाम्रो सक्रिय सहभागिता देखाउँछ । 
  
प्रदेशको सङ्गठन सुधारका लागि खास के गर्नुहुन्छ ?
अहिले सङ्गठन सुधारका लागि सदस्यता विस्तारको अभियान सञ्चालन हुँदैछ । विगत निर्वाचनमा हाम्रो वडा, नगर हँुदै क्षेत्रसम्म एक प्रकारको सङ्गठनको संरचना रहेको थियो । अहिले हामी पार्टी सदस्यता विस्तार र सङ्गठन निर्माणमा लागेका छौँ । संरचनागत रूपमा हेर्दा पार्टी सदस्यहरू वार्ड, गाउँपालिका हँुदै नगर कमिटी तहसम्म तयार भएका छन् । हामीले आगामी दिन अधिवेशन गर्नका लागि सदस्यता अभियान वार्ड तहबाट सुरु गर्छौं ।

वडा सम्मेलनबाट नै नेतृत्व चयन गर्ने विधि बनाउने छौँ ।  हाम्रो बेसिक सङ्गठन छ कि छैन भन्ने थाहा पाउनका लागि वार्ड सम्मेलनबाटै पार्टीको महाधिवेशन गर्ने योजना बनाएका छौँ । हाम्रो पार्टीको काठमाडौंमा प्रथम महाधिवेशन गर्दा यो प्रदेशमा साढे ७ हजार सदस्य रहेका थिए । तर त्यसमा पछि केही साथीहरू सक्रिय भएका छैनन्, केही अन्य पार्टीमा प्रवेश गरेका पनि छन् । अन्य पार्टीबाट हाम्रो पार्टीमा केही आएका छन् तसर्थ वडा सम्मेलनबाट सदस्यता र सङ्गठनको मूल आधार स्पष्ट पार्ने तयारी छ । 

सदस्यता विस्तार अभियान अब दुई महिनासम्म सञ्चालन गर्ने छौँ । यो अभियानमा हाम्रो लक्ष्य ८ हजार पार्टी सदस्य बनाउने हो । 

हाम्रो पार्टीभित्र यही प्रदेशका साथीहरू पनि अर्को पार्टीमा जाने र अर्को पार्टीबाट हाम्रोमा आउने क्रम चल्यो । यो क्रम अहिले पनि जारी छ । दुई हप्ता अगाडि पनि हाम्रो पार्टीका  केही नेता आउनु भएको छ । हाम्रो पार्टी अन्य पार्टीभन्दा फरक बनाउन स्थापना भएको हो । वैकल्पिक शक्तिका रूपमा हाम्रो पार्टीलाई स्थापित बनाउने क्रममा लोभीपापीहरू जाने आउने हुन्छन् । तर मूल मर्म बुझेकाहरू अनन्त हाम्रो पार्टीमा टिकिरहन्छन्, आउँछन् । 

नयाँ शक्तिका अलि ठूला, प्रदेश र जिल्लास्तरका नेता पनि अन्य पार्टीमा प्रवेश गरेका छन् । नयाँ शक्तिलाई साथ छाडिरेहको जस्तो देखिन्छ नि हैन ? 
हिजो अर्को पार्टीबाट आएर तुरुन्तै लाभ लिन खोज्नेहरू निर्वाचनको बेला पार्टीबाट बाहिरिएका छन् । उनीहरूले हाम्रो पार्टीलाई राम्रोसँग बुझ्न नसकेर हो । हाम्रो पार्टी तुरुन्तै सत्तामा जाँदैन । अर्कोतिर हिजो सत्तामा बसेकाहरूलाई अहिले छिट्टै खाऊँ जल्दै मरौँ जस्तो गरी लाभ लिन नसक्ने देखेर पार्टी केहीले छाडेका हुन्छन् । मूलतः देशलाई आर्थिक उन्नतितर्फ लैजाने र मुलुकमा सुशासन कायम गर्ने उद्देश्यका साथ हामीले काम गरेका छौँ ।

समृद्धितर्फ लैजानका लागि धैर्य पनि चाहिन्छ । विगतमा सत्ताको आड र लाभ लिएकाहरू पार्टीमा टिक्न नसेका मात्र हुन् । त्यो क्रममा केही २०, ४० जना बाहिरिनु नौलो विषय होइन । फेरि पार्टीमा जोडिन पनि आएका छन् । निरन्तरताका पार्टी नेपाली काँग्रेस, पुरानो माओवादी, एमालेभित्र पनि वैकल्पिक शक्ति रुचाउने व्यक्तिहरू छन् । उनीहरूले पुराना पार्टीबाट सम्भव नभएपछि नयाँ शक्ति पार्टीले मुलकलाई समृद्धिमा लैजाने विश्वास गरेर आएका छन् ।

यो प्रदेशमा माले समाजवादी पार्टी भर्खरै हाम्रो पार्टीमा समायोजन भएको छ, जसको यो प्रदेशमा समानुपातिक मत ११ हजार थियो । त्यो पार्टी हाम्रो प्रदेशका १२ वटै जिल्लामा जोडिएको छ । नेकपा मालेको वर्गीय समिति हाम्रो पार्टीमा जोडिएको छ । मालेका पाल्पा र रूपन्देहीका जिल्लास्तरका नेतासँग पनि छलफल चलिरहेको छ । छिट्टै उनीहरूसँग एकता हुन्छ । हाम्रो बहस ठूला नेताहरूसँग छैन । तल्लो तहका इमानदार नेताहरू त्यो पार्टीमा लागेर के पाउनुभएको छ भन्ने बहस छ । वडा तहबाट नै सङ्गठन बलियो बनाउने काममा लागेका छौँ । त्यहीअनुसार पार्टीमा जोड्न लागेका छौँ । वडा र टोलमा पुगेर उनीहरूसँग छलफल गर्दैछौँ । तराईका जिल्लाहरू नवलपरासीदेखि बर्दियासम्म छिटै पुग्दैछौँ । 

 अन्य राजनीतिक गतिविधि के गर्नुहन्छ  ? 
आन्दोलन गर्न पनि वास्तविक रूपमा सङ्गठन चाहिन्छ । दुईवटा चुनावमा सानो पार्टी भए पनि अनुभव केही बटुलेका छाँै । पहिलो काम सङ्गठन निर्माण, दोस्रो काम राजनीतिक धु्रवीकरण र तेस्रोमा सामाजिक आन्दोलनलाई प्राथमिकता दिएका छौँ । अहिले हामीले सामाजिक आन्दोलनतर्फ निर्मला पन्तको काण्डलाई आन्दोलनका रूपमा अगाडि बढाएका छाँै । यो प्रदेशका बुटवलदेखि भालुवाङसम्म हामीले पोस्टर टाँस्ने काम गरेका छौँ । सवारी साधनमा पनि पोस्टर टाँसेर विरोध गरेका छौँ । अब हामी बर्दियादेखि परासीसम्म रिले अनसन गर्दैछौँ । यो प्रदेशमा भएका भ्रष्टाचारका विरोध गर्ने काम पनि हुन्छ ।

तपार्इंको पार्टीप्रति जनताले के आशा गर्न सक्छन् ? 
हाम्रो पार्टीसँग जोडिने दुईवटा कारण छन् । पहिलो समृद्धिको नारा छ । अर्को व्यक्तिलाई समृद्धि, राष्ट्रलाई समृद्धि बनाउने हो । अर्को चाहिँ सुशासन र सदाचार नै हो । हामी भ्रष्टाचार मुक्त समाज निर्माण गर्न चाहन्छौँ ।  नयाँ पिँढीलाई सुशासन चाहिन्छ । अबको ५ वर्षपछि समाज सदाचार बन्नुपर्छ । नयाँ  पुस्ताले पनि त्यही चाहन्छ । हामीले नयाँ पुस्ताको हितका लागि राम्रो समाज निर्माण गर्ने काम गर्छाैँ । अहिले युवाहरूलाई काँग्रेसको को नेता छ,  एमालेको कुन नेता छ भन्ने थाहा छैन । उनीहरू त समाजमा भएका बेथितिहरू रोक्न चाहन्छन् । 

प्रदेश सरकारका कामलाई नयाँ शक्तिले कसरी हेरेको छ ? 
ओली सरकारले जनतालाई राहत हुने काम गरेको छैन । व्यापार घाटा छ । अन्य काम पनि यस्तै छन् । प्रदेश सरकारले दुईवटा नीति तथा कार्यक्रम ल्याएको छ । यो प्रदेशमा भ्रष्टाचार वृद्धि भएको तथ्य आएको छ । प्रदेश सरकारले के काम गरेको छ, जनतालाई थाहा छैन ।

प्रदेश सरकार छ कि छैन ? कुनै काम देखिँदैन । जनताले प्रदेश सरकारले गरेका कामको केही प्रत्याभूति पाएका छैनन् । कम्तीमा प्रदेश ५ मा आगामी ५ वर्षपछि उद्योग कस्तो बन्ने, पर्यटनमा कस्तो बन्ने, विकास निर्माण के बन्ने आदि योजनाको काम त गर्न सकिन्थ्यो । तर त्यो केही पनि भएको छैन । तलब भत्ता खाने मात्र काम मन्त्री र सांसदले गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप