बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

साउदीले यमनमा चलाइरहेको घोर मानव अधिकार विरोधी ‘अदृश्य’ युद्ध

सोमबार, २४ मङ्सिर २०७५, १४ : ०९
सोमबार, २४ मङ्सिर २०७५

न्यु योर्क टाइम्स, डेक्ल्यान वाल्स

लाल सागरको तटको एक बलौटे किनारमा रहेको भिलाको गेटहुँदै एक युद्धबाहन गर्जंदै भित्रन्छ । कम्पाउन्डभित्रै पौडीपोखरी रहेको विलासी स्वामित्व अहिले एउटा मैदानी हस्पिटलमा बदलिएको छ । सोही हस्पिटलअघि रोकिएको एक पिकअप बाहनबाट पसिनाले भिजेका युवा लडाकुहरू हामफाल्छन् । ओर्लिएर उनीहरू गाडीमा ल्याइएका आफ्ना घाइते कमरेडहरूलाई उठाउँछन् । अनुहारबाट रगत चुहिरहेका तिनका साथीलाई उनीहरू हतारमा इमरजेन्सी वार्डतर्फ लिएर जान्छन् । 

घाइतेमध्ये एक इब्राहिम अवादको नाक स्रापनेलको एक टुक्राले तासिएर दाइने आँखामा अड्केको छ । मोटोघाटो देखिने अवाद समय समयमा पीडाका चित्कार निकाल्छन् । “हमिद, मलाई यो टाउको भारी भइरहेको छ,” छेउमा रहेका आफ्ना साथीलाई पीडामिश्रित स्वरमा भन्छन् । 

साउदी नेतृत्वमा यमनमा भइरहेको युद्धले तीन वर्ष टेकेको अवस्थामा हजारौं नागरिकहरू मारिएइसकेका छन् । संयुक्त राष्ट्रको भनाइमा हाल जारी यस युद्धले ‘विश्वको सबैभन्दा खराब मानवीय सङ्कट सिर्जना गरेको’ छ ।

साउदी अरबले एक गठबन्धनको नेतृत्व गरेर आफ्नो दक्षिणमा रहेको गरिब छिमेकी माथि तीन वर्षदेखि भीषण बमबारी गरिरहेको थियो । तर यति विनासकारी युद्धमाथि पश्चिमी राष्ट्र भर्खर आलोचना हुन थालेको छ । त्यो पनि एक फरक प्रसङ्गसँग जोडिएर घटनामा प्रकाश परेपछि । 

अमेरिकी नागरिकसमेत रहेका पत्रकार जमल खसोग्गीको टर्कीमा रहेको साउदी वाणिज्य दूतावासमा हत्या भयो । हत्यामा साउदी युवराज मोहम्मदकोको संलग्नता हुन सक्ने चर्चाबीच पश्चिमी समाजमा मोहम्मदका अन्य कारवाहीहरूमाथि पनि चर्चा सुरु भयो । 

खसोग्गीको हत्यामा संलग्नताको आशङ्का गरिएका युवा युवराज मोहम्मदका अन्य कार्यहरूको पनि मूल्याङ्कन हुँदा उनले तीन वर्षअघि सुरु गराएको यमनमाथिको बर्बर बम हमलाको पनि पश्चिममा प्रश्न उठेको हो । साउदी अरबको एक अर्को नीति असफलतातर्फ अघि बढिरहँदा, यमनका लागि भने यो युद्ध प्रलय सावित भइरहेको छ । 

यमनभन्दा बाहिर भने यस विनाशकारी युद्ध धेरै हदसम्म बेवास्तामा परिरहेको छ । 

साउदी अरबले विदेशी पत्रकारहरूलाई उत्तरी यमनमा जान निषेध गरेको छ । यमनको यस क्षेत्रमा सबैभन्दा ठूलो हवाई हमलामा नृशंसता र गहिरो भोकमरीको समस्या देखिएको छ । 

केहीअघिसम्म अधिकांश अमेरिकाबासी र बाँकी विश्वका मानिसलाई पनि यमनमा युद्ध जारी छ भनेर थाहासमेत थिएन । यो युद्धमा अमेरिकाको अप्रत्यक्ष संलग्नता रहेको छ । आफ्नो घनिष्ट क्षेत्रीय सहयात्री साउदी अरबको नेतृत्वमा भइरहेको बमबारीमा प्रयोग भइरहेका युद्ध जहाजलाई अमेरिकाले त्यो क्षेत्रमा रहेका आफ्नो सैन्य आधारबाट इन्धन भर्ने व्यवस्था मिलाएको छ । त्यति मात्र होइन, अहिलेको अमेरिकी संस्थापनले यसै युद्धलाई मध्यनजर गरेर साउदी अरबलाई उलेख्य हतियार बेचिरहेको छ । यसका साथै अमेरिकी गुप्तचर संस्थाले सूचना दिएर साउदी नेतृत्वको गठबन्धनलाई युद्धमा सहयोग गरिरहेको छ । 

केही अमेरिकी सिनेटरले अमेरिकी सरकारको एक गरिब देशीमाथि भइरहेको यस युद्धमा अमेरिकाको सहकार्यको विरोध गरिरहेका छन् । उनीहरूले यमन युद्धलाई युद्ध अपराधको संज्ञा दिँदै अमेरिकालाई यसबाट बाहिरिन आग्रह गरिरहेका छन् । 

जुन महिनादेखि यो युद्ध लाल सागरको तटमा रहेको बन्दरगाह सहर हुदेदामा केन्द्रित भएको छ । न्युयोर्क टाइम्सका रिपोर्टरहरू समुद्री किनारमा रहेको राजमार्गको कठिन यात्रापछि अक्टोबर महिनामा यस रणभूमि पुगेका थिए । उक्त राजमार्गमा जुनै बेला बमबारी हुनसक्ने अवस्थामा खतरा मोलेर रिपोर्टरहरू हुदेदाका लागि हिँडेका थिए । 

त्यहाँ युद्धमा लडिरहेका र मरिरहेका यमनीहरूमाझ रहेर न्युयोर्क टाइम्सका रिपोर्टरहरूले युवराज मोहम्मदले चलाइरहेको युद्धलाई नजिकबाट अवलोकन गरेका छन् । यहाँ सोही भ्रमणमा अवलोकन गरिएको युद्धभूमिको केही चित्र बयान गरिएको छ । 

०००

सन् २०१५ मा तत्कालीन राजकुमार मोहम्मदले साउदी युद्धजहाजलाई हुथी विद्रोहीहरूले कब्जा गरिरहेको पश्चिम यमनमा बमबारी गर्न पठाए । उनले हुथीहरूलाई साउदीको क्षेत्रीय प्रतिद्वन्दी इरानको थपनाको रूपमा हेरेका छन् । यही कारण उनी आफ्ना सत्रुको बलियो उपस्थिति आफ्नो छिमेकमा चाहँदैन थिए । 

यमनको उत्तर पश्चिम भागमा रहेको पहाडी क्षेत्रमा बसोबास गर्ने सिया समुदायको गुरिल्ला आन्दोलनको नाम हो हुथी । 

सन् २०११ को अरब बसन्तपछिको हलचलमाझ यमनमा उनीहरू शक्तिमा आएका हुन् । सन् २०१४ मा यमनको राजधानी साना कब्जा गरेको केही पछि नै उनीहरूले यमनका तीन सबैभन्दा ठूला सहरहरू कब्जा गरे । इरानले सैन्य सामग्रीहरू आपूर्ति गरेर हुथीहरूको विस्तारमा सहयोग गरेको विश्वास गरिन्छ । 

सन् २०१५ देखि साउदी अरब र संयुक्त अरब एमिरेटले एक सैन्य गठबन्धनको नेतृत्व गरिरहेका छन्, जसले हुथीहरूलाई सत्ताच्युत गरेर एक अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त सरकार पुनस्र्थापना गर्ने लक्ष्य लिएको छ । 

तर सुरुमा गरिएको तीव्र विजयको वाचा तीन वर्ष लम्बिँदा पनि अन्त्यको कुनै सङ्केत देखिएको छैन । बरु यो युद्धले गर्दा यमनीहरूमा अत्यन्त नृशंस आपत् निम्त्याएको छ । यही युद्धका कारण यमनले यो तीन वर्ष बीचमा व्यापक भोकमरीदेखि इतिहासकै सबैभन्दा खराब हैजा महामारीसमेत भोग्यो ।  

हुदेदाको युद्ध एक असङ्गत लयमा जारी छ । त्यहाँ बिहान झिसमिसे र साँझको युद्ध चर्कन्छ । त्यो समय दुवै पक्षका लडाकुहरू एकअर्काको युद्धमोर्चमा मोर्टार सेलहरू बर्साउँछन् । 

त्यसको केही मिनेटभित्रमा पिकअप ट्रकहरू मैदानी हस्पिटलमा लाइन लाग्न थाल्छ र तिनले आफूले बोकेर ल्याएका घाइते लडाकुहरू ओराल्न थाल्छन् । धुलाम्मे र रगताम्म घाइते लडाकुमध्य अधिकांशलाई स्राप्नेल र स्नाइपरका गोली लागेको हुन्छ । 

अस्पतालमा लडाकुपछि घाइते नागरिकहरूको लाइन लाग्छ । मोर्टार सेलको मार खाएका आमाहरू, अत्यन्त कुपोषित र थप झाडापखालाबाट ग्रसित बालबालिकाहरू, बारुदी सुरुङमा खुट्टा उडेका वृद्धहरूलाई ठाउँ मिलाउन अस्पतालका कर्मचारीहरू दौडधूप गर्न थाल्छन् । 

यही वर्षको जुनमा यमनी चिकित्सकहरूले हुदेदाको दक्षिणी कुना दुरेहीमीमा एउटा मैदानी हस्पिटल स्थापना गरेका छन् । हाल एमिराटी रेड क्रिस्सेन्टको सहयोगमा चलिरहेको यो हस्पिटल पुग्दा त्यहाँको हावामा एउटा विचित्र र नियन्त्रित अराजकताको गन्ध पाइन्छ । 

अन्यत्र जस्तो यो अस्पतालमा बन्दुक र लागू पदार्थ निषेधित छैन ! हामी पुग्दा त्यहाँको इमेरजेन्सी कक्षमा एके–४७ बोकेका युवा लडाकुहरूको भीड जम्मा भएको थियो । उनीहरू छेउमा उभिएर आफ्ना घाइते साथीहरूको जीवनरक्षामा तल्लीन चिकित्सकहरूलाई भयग्रस्त हेरिरहेका थिए । 

केही नर्सहरू ‘खाट’ भनिने यमनीहरूमाझ लोकप्रिय लागू पदार्थ पत्ता चपाइरहेका हुन्छन् । रातमा शयनकक्षमा भेला भएर उनीहरू एक अर्कालाई कथा र चुटकिला भनेर रमाइलो गर्छन् र साथमा दुष्मनको गोलीबाट बच्छन् । 

हामी त्यहाँ पुग्नुअघि एक हुथी ड्रोन उनीहरूको कक्षमाथि विस्फोट भएको उनीहरूले बताए । ड्युटीमा रहेका ३४ वर्षे डा. हज्जा अब्दुल्लाले हामीसँगको कुराकानीमा युद्ध कम भएको बेला समुद्रमा पौडी खेल्न गएको एक समयको प्रसङ्ग सुनाए । उनका अनुसार पौडिएर केही अघि मात्र पुगेका के थिए, उनले समुन्द्रमा तैरिरहेको समुन्द्री बारुदी सुरुङ आफूतर्फ बग्दै आएको देखे । “त्यसपछि म हतार हतार त्यहाँबाट बाहिरिएँ,” उनले भने । 

सन् २०११ मा अरब वसन्तका विरोधले यमन र अन्य अरबी मुलुकलाई छोपेको बेला डा. अब्दुल्ला त्यसले ल्याउनसक्ने परिवर्तनको सम्भावनालाई लिएर उत्साहित थिए । 

“मैले त्यो क्रान्ति फ्रेन्च क्रान्ति जस्तो हुने सोचेको थिएँ । यसले ढोकाहरू खोल्ने आशा गरिएको थियो ,” उनले भने, “तर हामीहरू त नर्कमा आइपुगेका छौँ ।”

साउदी नेतृत्वको गठबन्धनले हुदेदाको बन्दरगाहलाई कब्जा गरेर हुथीहरूले हाल प्राप्त गरिरहेको करोडौँ डलरको मासिक कर विमुख गर्ने सोच राखेको छ । यसो गर्न सके मात्र विद्रोहीहरू वार्ताको टेबलमा आउने उनीहरूले बताइरहेका छन् । 

हुदेदा एक भोकाइरहेको देशको प्रवेशद्वार पनि हो । 

यमनको २.६ करोड जनसङ्ख्यामध्ये तीन चौथाइ कुनै प्रकारको सहयतामा बाँचिरहेका छन् र यी सहायताको अधिकांश भाग यही बन्दरगाहबाट यमन भित्रिन्छ ।

ठूलो अन्तर्राष्ट्रिय दबाबपछि गठबन्धनले पश्चिमी अधिकारीहरूलाई उक्त सहर र त्यहाँको बन्दरगाहमा जारी लडाइँ रोक्ने प्रतिबद्धता जनाएको छ । उसले आफूहरूको प्रयास सहरलाई घेराबन्दी गर्ने मात्र हुने बताएको छ । अहिले आएर दुवै पक्ष सहरको बाहिरी घेरामा आफ्ना अवस्था बलियो बनाउन केन्द्रित भएका छन् । 

उनीहरूबीच दोहोरो भिडन्त भइरहँदा कसैले पनि कुनै थप जमिन जितिरहेको छैन । यसले युद्ध लम्बिने र यमनको मानव अधिकारको अवस्था झन् खराब हुने देखिन्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप