बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सीता–राम विवाह मण्डपको नखुलेको पाटो

सोमबार, २४ मङ्सिर २०७५, १७ : ५६
सोमबार, २४ मङ्सिर २०७५

जनकपुर– त्रेतायूगमा सितारामको विवाह भएको विश्वास गरिने जनकपुरको जानकी मन्दिरसँगै यस क्षेत्रमा पर्ने रंगभूमि मैदान लगायतका क्षेत्रलाई दुल्हीझैँ सिंगारपटार गर्ने गरिन्छ ।  तर जहाँ सीतारामको विवाह भएको स्थल रानीबजार छ, त्यहाँ भने त्यसको प्रभाव परेको छैन ।  रानीबजारमा स्थानीयवासीले भने परम्परा र सँस्कृतिकलाई जीवन्त राख्नका लागि सितारामको पुजापाठ गर्दै विवाहोत्सव मनाउने गर्दछन् ।

यसबेला जनकपुरमा धुमधामका साथ जानकी मन्दिरमा हिन्दु धर्मअनुसार धुमधाम तयारी भैरहेको छ । प्रत्येक वर्ष जानकी मन्दिरमा भव्यताका साथ सीता र रामको विवाह हुदैँ आएको छ ।

धेरैलाई अहिले पनि सीता र रामको विवाह हुने स्थान मणिमण्डप कुन हो भन्ने कुराको थाहा छैन । यो किन ओझेल पर्यो त्यसबारे कसैलाई थाहा छैन । धर्म र सांस्कृतिको कुरा गर्नेहरुले रामसीताको वास्तविक विवाह भएको स्थानलाई लोपोन्मुख अवस्थामा पु¥याएको आरोप स्थानीयवासीहरु लगाउँछन् ।

यही बीचमा जनकपुरको जानकी मन्दिर क्षेत्रलाई भने अहिले दुलहीझैँ रंगीचंगी सजाइएको छ । अर्कोतर्फ जानकी मन्दिरभन्दा करिब ४ किलोमिटरको दुरीमा रहेको रानीबजार भने सुनसान देखिन्छ । जबकी सीता र रामको विवाह भएको वास्तविक स्थल रानी बजारस्थित विवाह मण्डप भएको बताइन्छ । 

सीताराम विवाहमण्डप वर्षेनी सुनसान हुने गर्छ । यहाँका स्थानीयवासीलाई जानकी मन्दिरमा भईरहेको विवाहपञ्चमी महोत्सवले छोएको छैन ।  भोलीदेखि औपचारिकरुपमा रानीबजारस्थित विवाह मण्डपमा पनि राम र सीताको विवाहका कार्यक्रमहरु विधिवतरुपमा सुरु हुनेछन्, त्यसमा स्थानीयवासीले आफ्नै किसिमको परम्परा र चलन अप्नाउनेछन् ।

परम्पराअनुसार यहाँ मटकोर र सीता–रामको विवाह हुने गर्दछ । त्रेता यूगदेखि चलिआएको धार्मिक–साँस्कृतिक संस्कारलाई जीवन्त राख्नका लागि प्रतिकात्मक रुपमा मात्र सितारामको विवाह महोत्सव मनाउने गरेको सीताराम विवाह मण्डप मन्दिरका महन्त वासुदेव राय बताउँछन् ।  जानकी मन्दिरका उत्तराधिकारीको रुपमा रहेको छोटे महन्त रामरोशन दास वैष्णवले यो वर्षदेखि सिताराम विवाहका केही विधिहरु यही गर्ने आश्वासन दिएपनि हालसम्म कुनै चासो नदेखाएको गुनासो उनले गरे ।

‘जानकी मन्दिरको छुठ गुठ्ठी अन्तर्गत १८ विघा जग्गामा पर्ने यस विवाह मणिमण्डप यसै मन्दिरको अधिनमा रहेको छ । तर यस मन्दिरमा प्रत्येक महिना ३ किलो चिनी, अगरबत्ती र सलाई बाहेक जानकी मन्दिरले केहि पठाउने गरेको छैन,’ महन्त बासुदेव रायले बताए ।

महन्त बासुदेव रायका अनुसार त्रेता यूगमा रानीबजारस्थित मणिमण्डपमै सितारामको विवाह भएको थियो । जहाँ सीता र रामको विवाह सम्पन्न भएको थियो । त्यहाँ २ वटा तलाउ समेत छन् । जुन पोखरीमा सीतारामको विवाहमा आएका जन्तीले खुट्टा पखालेका थिए भने भगवान रामलाई पात निरछैत (कलशको पातलाई जलमा डुबाएर भगवान रामलाई शुद्ध गर्न छर्केको थियो) गरेर तलाउ बनाइएको थियो, ती पोखरी अहिले पनि देख्न सकिन्छ । 

अनौठो कथा

त्यस्तै एउटा रोचक कथा के छ भने भगवान राम विवाह गर्न आउँदा उनीसँग दुईवटा परी(सुन्दरी) पनि आएकी थिइन् । भगवान रामको विवाह सम्पन्न भएर फर्किएपछि उनीहरु यही मणिमण्डपकै छेउमा बास बसेका थिए । उनीहरुको बासस्थल त्यही बनाइएको थियो । तर पछि एकाएक विलिन भएर गएका उनीहरुले गाउँलेहरुलाई सपनामा आएर आफुहरुको पुजापाठ गर्न आग्रह गरेका थिए । उनीहरुले आफुहरुको पुजापाठ गरेमा केहि पनि विगार नगर्ने र पुजापाठ गर्नेको प्रगति हुने भनेपछि वेद स्थलको छेउमै मन्दिर बनाएर पुजा गर्ने चलन छ । अहिले डिहवार स्थलको रुपमा परीहरुलाई पुज्ने गरिन्छ । 

सिन्दुरदान स्थलको कथा
त्यस्तै करिब डेढ दशक अघि पुरानो वेद स्थलको छेउमै रहेको सिताराम विवाह स्थल जहाँ रामले सीतालाई सिन्दुरदान गरेका थिए, त्यहाँ स्वतः स्फुर्तरुपमा आफै सिन्दुर उत्पादन हुन्थ्यो । तर रानीबजारका स्थानीयवासीले त्यो सिन्दुर बजारमा लगेर बेच्न थालेपछि सिन्दुरको उत्पादन हुन छाडेको महन्त बासुदेव रायले बताए । यो घटना आफ्नै आँखाले हेरेको दावी गर्दै महन्त रायले भने– ‘गाउँलेहरुलाई मैले पटक पटक नबेच्न भन्दा पनि वास्तै गरेनन् । न त जानकी मन्दिर वा सरोकारवालाहरुले नै सिन्दुर उत्पादनको वास्तविकता बुझे । जसले गर्दा सिन्दुर उत्पादन हुन नै छाड्यो ।’

महन्त वासुदेव रायको कथा

सीताराम विवाह मणिमण्डपका महन्त बासुदेव राय तेश्रो पुस्ताको महन्त हुन् । उनी महन्त हुनुपूर्व उनका हजुरबुवा रामशंकर राय र उनका बुवा जुगेश्वर राय महन्त भइसकेपछि पुस्ता हस्तान्तरण अनुसार महन्तको पदावधि सम्हाल्दै बासुदेव महन्त बनेका हुन् । उनलाई पुर्खाले सुनाएका अनौठादेखि अहिलेसम्मका कथा र तितो घटना क्रमदेखि सबै कुराहरु  थाहा भएको बताउँछन् ।  उनी भन्छन्, ‘मलाई ज्ञात हुँदासम्म यहाँ मेरो बाजेको पालामा फुसको (माटो) मणिमण्डपको मन्दिर थियो । त्यसपछि बुवाको पालामा पनि फुसकै मन्दिर थियो । प्रत्येक वर्ष वर्षातको समयमा पानी पर्दा फुसको मन्दिर भत्किन्थ्यो र स्थानीयको सहयोगमा फेरी हामी मन्दिर बनाउँथ्यौ र विधिवतरुपमा पुजापाठ गर्ने गथ्र्यौ ।’

उनले थप भने, ‘मैले महन्तको पद सम्हाल्हेलपछि १ दसक अघिको कुरा हो । भारतको जयपुरबाट एक श्रद्धालु भक्तजन मणिमण्डप दर्शन गर्न आए । उनले मसँग कुराकानी गरे र त्यसपछि उनले नै पक्की मन्दिर बनाइदिए ।’ अहिले यहाँ पक्की मन्दिर निर्माण भएको ११ वर्ष भएको छ । त्यसपछि पुजापाठमा समस्या आएको छैन ।

यता आएर सीताराम विवाहको अनेकन प्राचिन ऐतिहासिक सामाग्रीहरु फेला पर्न थाल्यो । त्यो कुरा पुरातत्व विभागले थाहा पाएपछि केहि वर्ष अघि पुरातत्व विभागले मणिमण्डप स्थलको अनुसन्धानका लागि उत्खनन् समेत गर्यो । उत्खनन्पछि त्यहाँ अनेकन वस्तुहरु उपलब्ध भए । त्यसपछि मणिमण्डपबारे धेरै कुराहरु जनमानसमा प्रचार–प्रसार भए । त्योसँगै यो स्थान आकर्षक पर्यटकीय स्थलको रुपमा स्थापित भयो । अहिले यहाँ दिनहुँ सयकडौँको संख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्छन् । जसले गर्दा मन्दिरमा भेटी चढाउनेहरु पनि बढे आर्थिक अवस्थामा पनि केही सुधार भएको छ, तर पनि मणिमण्डपको सुरक्षा र संरक्षण तथा संबद्र्धनको लागि सरोकारवाला निकायहरुले बेवास्ता गरिरहेका छन् । 

पुरातत्व विभागले उत्खनन गरेपछि फेला परेको प्राचिन ऐतिहासिक वस्तु तथा सामाग्रीहरुले यस विवाह मणिमण्डपले गति लिएको छ ।  १८ विघा जग्गामा जनक दरबार निर्माण अन्तर्गत दुई वटा धर्मशाला, ऐतिहासिक तलाउहरु र वेद भवन लगायतकाहरु बन्ने निश्चित भएका छन् । जसमध्ये अहिले वेद भवन अर्थात मड़वा (विवाह मण्डप) निर्माण भइसकेको छ भने धर्मशालाको शिलान्यास भएको छ । 

जनक दरबार निर्माणको शिलान्यास भएपछि १८ विघामध्ये करिब १० विघा जग्गामा बसेका स्थानीयवासीको सहयोगमा जनकपुर बृहत्तर विकास क्षेत्र परिषदले घेराबार गरेर बसोबास गरिरहेका केहि परिवारलाई विस्थापित गरेको  छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप