शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्मला हत्यामा प्रदीपलाई दोषी देखेको प्रहरी फेरि एकाएक ब्याक, सीआईबीका डीआईजी र एसपीको कुरा बाझियो

मङ्गलबार, २५ मङ्सिर २०७५, १५ : ०९
मङ्गलबार, २५ मङ्सिर २०७५

काठमाडौँ । मङ्सिर १९, २०७५ । एक–दुई गरेर केही सञ्चार माध्यममा ब्रेकिङ समाचार आयो, ‘निर्मलाको हत्यारा काठमाडौंबाट पक्राउ !’ प्रहरी स्रोतको हवाला दिएर लेखिएको उक्त समाचार कसैले पुष्टि गरिसकेका थिएनन् । 

छिनभरमै अर्को एउटा अनलाइन सञ्चार माध्यममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पुष्टि गरेको भन्दै निर्मला पन्तको छिमेकी युवाले बलात्कारपछि हत्या गरेको समाचार बाहिरियो । 

अनि फेरि अर्को अनलाइन सञ्चार माध्यमबाट अभियुक्तको नाम ब्रेक भयो । साँझपख प्रहरी स्रोतबाट चुहिएको सूचना अनुसार प्रदीप रावल (वर्ष १८) लाई महाराजगञ्ज प्रहरीको हिरासतमा राखेर केन्द्रीय अनुसन्धान ब्युरोले इन्टेरोगेसन गरिरहेको खुल्यो । 

सोही साँझ हामीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई सम्पर्क गरेर सोधेका थियौँ, के हत्यामा संलग्न भनिएको प्रदीप रावल पक्राउ परेका हुन् ? 

प्रहरी महानिरीक्षक खनालले स्पष्ट जवाफ दिएनन्, अस्पष्ट जवाफ दिँदै उनले भने, ‘अँ, सङ्केत त्यतैतर्फ छ, तपाईंहरूले मिलाएर बुझ्नुस नँ, सार्वजनिक मुद्दामा थप गरेर सोधपुछ भइरहेको छ क्यारे, सङ्केत त्यतैतिर छ ।’ 

यति भनेका प्रहरी प्रमुख खनालले प्रदीप रावलको नाम चाहिँ लिएनन् । 

रातोपाटीसँग कुरा गर्नुअघि केन्द्रीय अनुसन्धान ब्युरोमा पुगेका खनालले रावललाई भेटेर फर्केका थिए । त्यसो त त्यसभन्दा अगाडि दुई पटक खनाल सीआईबीमा पुगेका थिए । केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार निर्मला बलात्कारमा शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको खबर पाउना साथ प्रहरी प्रमुख खनाल सीआईबीमा पुगेर बुझ्ने गरेका छन् ।

मङ्सिर २०, २०७५ । प्रदीप पक्राउ परेको पर्सिपल्ट प्रदीपले ‘कुरा गर्दा उत्तेजित भएपछि निर्मलालाई उखुबारीमा लगेर बलात्कार गरेर मारेको’ साविती बयान दिएको समाचार एक दैनिक पत्रिकामार्फत ब्रेक गराइयो । 

प्रहरीले यसरी पटक–पटक झिनो सूचना चुहाउँदै प्रदीपको बारे आम जनधारणा बुझ्न मिडिया ट्रायल गरिरहेको थियो । तर सामाजिक सञ्जालदेखि सडकसम्म प्रदीप र अर्का बालक विशाल चौधरी (१६ वर्ष) लाई पनि प्रहरीले फसाउन खोजेको आवाज उठ्न थालिसकेको थियो । 

सोमबार सङ्घीय संसदका दिगो विकास तथा सुशासन समितिमा जवाफ दिन उपस्थित भएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रदीपको नाम त लिएनन् तर निर्मला पन्त अनुसन्धान न्यारो डाउन हुँदै गएको दाबी गरे । सांसहरूलाई जवाफ दिँदै उनले भने, ‘अनुसन्धान हुँदैछ, अनुसन्धान साँघुरिएको छ ।’ 

सीआईबीका डीआईजी र एसपीको कुरा बाझिएपछि...

केन्द्रीय अनुसन्धान ब्युरोले ७ दिनदेखि सोधपुछ गरिरहेका प्रदीपले पहिलो ‘म त झ्याप थिएँ, मलाई त थाहा नै छैन्’ भन्ने बयान दिएका छन् । प्रदीप लागू औषध सेवनकर्ता हुन् । 

प्रहरी स्रोतका अनुसार पछिल्लो समय उनले ‘मलाई काटे नि काट्नुस्, मारे नि मार्नुस्, मैले हुँदै होइन्’ भन्न थालेको प्रहरी स्रोतको भनाइ छ । 

प्रदीपसँगै केन्द्रीय अनुसन्धान ब्युरोले १६ वर्षीय विशाल चौधरीमाथि पनि अनुसन्धान गरिरहेको छ । उमेर नपुगेका कारण विशाललाई हिरासतमा राखिएको छैन ।

प्रहरीले अहिलेसम्म १३ जनाको डीएनए परीक्षण गरिसकेको छ । पछिल्लो सयम प्रदीप, विशाल र अर्का एकजनाको डीएनए परीक्षणका लागि ‘ब्लड स्याम्पल’ पठाइएको छ ।

निर्मला बलात्कारपछि हत्या प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख (डीआईजी) निरज शाही र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख (एसपी) कुवेर कडायतको कुरा बाझिएको छ । 

मङ्गलबार रातोपाटीसँग कुरा गर्दै केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख निरज शाहीले अनुसन्धान क्रमशः चलिरहेको उल्लेख गर्दै भने, ‘हामीले त यहाँबाट प्राविधिक कुराहरूमा मात्र सपोर्ट गरिदिने हो, बाँकी अनुसन्धान जिल्लाले गरिरहेको छ ।’ 

‘अहिले कतिजना शङ्कास्पदहरूसँग सोधपुछ भइरहेको छ ?’ भन्ने जिज्ञासामा आफूलाई केही थाहा नभएजस्तो गरी डीआईजी शाहीले भने, ‘हामीले त यहाँ सोधपुछ गर्दैनौँ, सोधपुछ जति हुन्छ उतै हुन्छ, ल्याएको ल्याइछ उता त धेरै छन् ।’ 

प्रदीप र विशालको डीएनए रिपोर्ट आए नआएको सम्बन्धमा डीआईजी शाही भन्छन्, ‘डीएनए रिपोर्ट आए नआएको हामीलाई थाहा हुन्न, विधि–विज्ञानबाट सीधै जिल्लामा जान्छ । त्यसपछि मात्र हामीले थाहा पाउँछौँ, बीचमा कसैले खोल्नै मिल्दैन ।’ 

निरज शाहीको प्रतिक्रियापछि हामीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख (एसपी) कुवेर कडायतलाई सम्पर्क गर्यौँ । ‘अहिले कतिजनासँग सोधपुछ भइरहेको छ ?’ भन्ने जिज्ञासामा कडायतले भने, ‘काठमाडौँमा त्यही दुई जनासँग मात्र इन्टेरोगेसन भइरहेको छ, शङ्कास्पदहरूलाई ल्याएर सोधपुछ त गर्छौँ तर अरूलाई थुनामा राखेको छैन ।’ 

निर्मला हत्यामा संलग्न भनिएका रावल ग्यारेजबाट समातिए, छुटे अनि फेरि समातिए !

निरज शाहीले अनुसन्धानको सबै काम कञ्चनपुरमा भइरहेको बताए पनि एसपी कडायतले जिल्लामा हैन काठमाडौँबाट सबै काम भइरहेको बताए । उनले भने, ‘सोधपुछ लगायतको अनुसन्धान काठमाडौँमा भइरहेको छ, यहाँ हैन ।’ 

प्रदीप रावल र विशाल चौधरीको डीएनए रिपोर्ट आइनपुगेको उनले जानकारी दिएका छन् । 

ककसले गर्दैछन् निर्मला हत्या अनुसन्धान ? 

बहुप्रतीक्षित निर्मला पन्त बलात्कार–हत्या अनुसन्धानको नेतृत्व केन्द्रीय अनुसन्धान ब्युरोको निर्देशक (डीआईजी) निरज शाहीले गरेका छन् । 

शाहीको प्रत्यक्ष कमान्डमा रहनेगरी प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा कञ्चनपुरमा काविल अफिसरहरूको अर्को एउटा टोली खटिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत प्रहरी नायव उपीरक्षक (डीएसपी) कमल थापा, महानगरीय अपराध महाशाखामा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) दुर्गा दाहालसहित १५ जनाको टोली कञ्चनपुरमा बसेर निर्मला बलात्कार–हत्या अनुसन्धान गरिरहेका छन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत डीएसपी कृष्ण ओझा निर्मला प्रकरणमा अनुसन्धान अधिकृत तोकिएका छन् । 

काठमाडौंमा केन्द्रीय अनुसन्धान ब्युरोको टिमसँग जोडिएर आप्र (आर्थिक प्रशासन) महाशाखाका प्रमुख (एसएसपी) प्रकाश अधिकारीले काम गरिरहेका छन् । 

केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार ब्युरोका डीएसपी निरन्जनदत्त भट्ट र ब्युरोमा वन्यजन्तुबारे अनुसन्धान गर्दै आएका अनुपम राणाले पनि निर्मला हत्या प्रकरणको अनुसन्धान गरिरहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप