शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसको निश्कर्ष : कम्युनिष्टहरु राजा महेन्द्रको संरक्षणमा हुर्किएका हुन्

मङ्गलबार, २५ मङ्सिर २०७५, १६ : ०४
मङ्गलबार, २५ मङ्सिर २०७५

काठमाडौं– प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले नेपालका कम्युनिस्ट पार्टीहरु तत्कालीन राजा महेन्द्रको संरक्षणमा हुर्किएको अरोप लगाउँदै कम्युनिष्टहरुमा लोकतन्त्रप्रति विश्वास नरहेको जनाएको छ ।  

आगामी महासमिति बैठकमा पेश गर्न तयार गरिएको काँग्रेसको राजनीतिक दस्तावेजमा पार्टीहरुलाई हेर्ने दृष्टिकोणको सवालमा भनिएको छ – ‘पुष्पलाल र उनका अनुयायीहरू संसद प्रतिस्थापनको मागमा काँग्रेससँग सहमत भई संघर्षमा संलग्न भएपनि २०१८ पछि विभिन्न चिरामा विभाजित बहुसंख्यक कम्युनिष्ट समूहहरू राष्ट्रियताको तथाकथित नारामा प्रत्यक्ष–अप्रत्यक्ष राजा महेन्द्रको संरक्षणमा हुर्किएका हुन् । २०३६ सालको जनमत संग्रहमा समेत कम्युनिष्टहरू विभाजित नै रहे र उनीहरुको ठूलो तप्का पञ्चायतको पक्षमा प्रयोग भयो ।’ 

काँग्रेसले हाल संसदमा दुई तिहाइको शक्ति आर्जन गरेको नेपाल कम्युनिष्ट पार्टीलाई लोकतन्त्रको आवरणमा एकपछि अर्को गर्दै संविधानको भावना र मर्ममाथि प्रहार गरी शक्तिको दुरुपयोग गर्न थालेकोले उसको लोकतन्त्रप्रतिको विश्वास र निष्ठामा शंका गर्नुपर्ने अवस्था रहेको जनाएको छ । 

नेपाल कम्युनिष्ट पार्टीप्रति काँग्रेसको हेराई 

‘संसदमा दुई तिहाई सरहको शक्ति आर्जन गर्नासाथ लोकतन्त्रको आवरणमा  सत्तासीन नेपाल कम्युनिष्ट पार्टी एकपछि अर्को गर्दै सम्विधानको भावना र मर्ममाथि प्रहार गरी शक्तिको दुरुपयोग गर्न लागेको हुनाले उसको लोकतन्त्रप्रतिको विश्वास र निष्ठामा शंका गर्नुपर्ने अवस्था सिर्जना भएको छ ’ काँग्रेसले आफ्नो प्रस्तावित दस्तावेजमा भनेको छ ।  

उसले २००७ सालको जनक्रान्तिमा नेपालका कम्युनिष्टहरुको कुनै भूमिका नभएको पनि दावी गर्दै २००७ को परिवर्तनपछिको राजनीतिक वातावरणलाई विथोल्न कम्युनिष्टहरूको नकारात्मक भूमिकाले मद्दत पुगेको इतिहास रहेको उसले जनाएको छ  ।

काँग्रेसले २०१५ को संसदीय निर्वाचनमा सहभागी हुनु कम्युनिष्ट आन्दोलनको पहिलो सकारात्मक कदम भएको बताएको छ । ‘२०१७ मा राजा महेन्द्रले गरेको ‘कु’ पछि कम्युनिष्टहरू अनेक धारमा विभाजित भए । पुष्पलाल र उनका अनुयायीहरू संसद प्रतिस्थापनको मागमा काँग्रेससँग सहमत भई संघर्षमा संलग्न भएपनि २०१८ पछि विभिन्न चिरामा विभाजित बहुसंख्यक कम्युनिष्ट समूहहरू राष्ट्रियताको तथाकथित नारामा प्रत्यक्ष–अप्रत्यक्ष राजा महेन्द्रको संरक्षणमा हुर्किएका हुन्’ काँग्रेसको ठोकुवा छ ।  

त्यस्तै २०३६ सालको जनमत संग्रहमा समेत कम्युनिष्टहरू विभाजित नै रहे र उनीहरुको ठूलो तप्का पञ्चायतको पक्षमा प्रयोग भएको पनि काँग्रेसको दावी छ । 

आजको नेपाल कम्युनिष्ट पार्टीका रुपमा विकसित तत्कालीन माले, मसाल र अरु केही कम्युनिष्ट पार्टीले निर्दल बहुदल एकै हो, जनमत संग्रह धोका हो भन्ने नारा लगाउदै उनीहरुले बहुदलका पक्षमा सक्रिय नेता, कार्यकर्ता र आम नागरिकमाथि आक्रमण गरेका काँग्रेसको आरोप छ । ‘हेटौंडामा लौहपुरुष गणेशमान सिंहमाथि भएको आक्रमण प्रामाणिक उदाहरण हो तर नेपाली काँग्रेसको आह््वानमा २०४६ को जनआन्दोलनमा संयुक्त वाममोर्चामा संगठित भई आन्दोलनमा सहभागी हुनु र कार्यगत एकता मार्फत प्रजातन्त्र पुनःस्थापनाको संघर्षमा समाहित हुनु नेपाली कम्युनिष्ट आन्दोलनको सकारात्मक परिवर्तन थियो’ काँग्रेसको दस्तावेजमा भनिएको छ –‘तर त्यस  समयमा पनि कतिपय कम्युनिष्ट समूह काँग्रेसको नेतृत्वभन्दा पृथक रही उग्र नारामार्फत आन्दोलन असफल गराउन सक्रिय भएका थिए । उनीहरु २०४६ को परिवर्तनविरुद्ध सशस्त्र हिंसामा नै उत्रिए ।’

राजा वीरेन्द्रसँग सहकार्य गरेको खुलासा तत्कालीन माओवादीका केन्द्रीय नेतृत्वहरुबाट नै सार्वजनिक भएको भन्दै दशवर्षे सशस्त्र हिंसामा नेपाली कांग्रेसका सदस्यहरु, नेपाली काँग्रेसमा आबद्ध शिक्षक, किसान, सामान्य नागरिक, राष्ट्रसेवक कर्मचारीहरुको निर्मम हत्याले त्यो हिंसाको उद्देश्य स्पष्ट गरेको काँग्रेसले जनाएको छ । लोकतन्त्र, शान्तिपूर्णमार्ग र प्रतिष्पर्धात्मक राजनीतिमा समर्थन गर्ने कम्युनिष्टलाई नेपाली काँग्रेसले एक प्रतिष्पर्धी शक्तिका रुपमा राजनीतिक सम्बन्ध र सहकार्य गर्दै आएको तथा बहुदलीय संसदीय प्रजातन्त्रविरुद्ध सशस्त्र हिंसामा सँलग्न कम्युनिष्टसँग काँग्रेसको कठोर र स्पष्ट विमति रहँदै आएको जनाएको छ । 

तत्कालीन राजाको निरंकुश कदमले एकातिर परम्परागत तानाशाही सत्ताको संकेत दिइरहेको अवस्थामा माओवादीको सशस्त्र विद्रोहले देशमा हत्या, हिंसा र आतंक सिर्जना गरी उग्ररुप लिँदै थियो । निरंकुशताको दोहोरो दवावबाट जनतालाई मुक्त गर्न र शान्ति, लोकतन्त्र र राष्ट्रियताको निम्ति नेपाली काँग्रेसले राष्ट्रियताको जगेर्ना गर्न लोकतन्त्र र शान्ति पुनस्र्थापना गर्नुपर्ने जिम्मेदारीबोध गरी नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्व र पहलमा माओवादीसँग १२ वूँदे सहमति र अन्य कम्युनिष्ट पार्टीहरुसँग सहकार्य गर्ने निर्णय गरेको काँग्रेसले दस्तावेजमा स्मरण गरेको छ ।

०६३ मंसीरमा सम्पन्न वृहद् शान्ति संझौतामार्फत् शान्ति स्थापना गर्ने, हिंसात्मक कार्यमा सक्रिय तत्कालीन माओवादी पार्टीलाई लोकतान्त्रिकरणको प्रक्रियामा सहभागी गराउने, संविधानसभाबाट नयाँ संविधान बनाउने र लोकतन्त्र सुनिश्चित गर्ने उद्देश्यले कम्युनिष्ट पार्टीका विभिन्न घटकबीच काँग्रेसको कार्यगत सम्बन्ध हुनपुग्यो । संविधान तर्जुमा गर्ने र संविधान कार्यान्वयनका लागि देशमा स्वतन्त्र र निष्पक्ष निर्वाचनमार्फत संघीय, प्रादेशिक र स्थानीय सरकार खडा गर्ने विषयमा नेपाली काँग्रेसको नेपाली कम्युनिष्टहरूका मुख्य घटकहरूबीच प्रतिष्पर्धा र सहकार्यको सम्बन्ध निरन्तर रहँदै आयो । २०७४ सालमा संविधान कार्यान्वयनका लागि राज्यको अपरिहार्य तीन तह मध्ये स्थानीय तहको निर्वाचनको लगत्तै प्रदेशसभा र केन्द्रको निर्वाचनका समयमा आएर नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रबीच एकाएक मोर्चाबन्दी भयो र अन्ततः पार्टी एकताको स्थिति देखाप¥यो ।

एमाले माओवादी एकताको उदेश्य 

काँग्रेसले आफ्नो खस्तावेजमा तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकतालाई एकतर्फी एकदलीइ बर्चश्व कायम गर्ने रहेको जनाएको छ । ‘यो एकताको मुख्य उद्देश्य नै लोकतान्त्रिक प्रतिष्पर्धाका माध्यमबाट सत्ता र राज्यमा कम्युनिष्टहरूको एकतर्फी एकदलीय वर्चश्व स्थापित गर्ने नियत स्पष्ट छ । निर्वाचनपछि कम्युनिष्टहरूको एउटै दल बनाउने र राज्यलाई कम्युनिष्ट पार्टी अन्तर्गत चलाउने काम तीव्ररुपमा अगाडि बढिरहेको छ’ काँग्रेसले भनेको छ ।  देशमा अहिले जे जति कम्युनिष्ट पार्टी छन् ती सबै एउटै मोर्चा र ध्येयमा जुटेको भन्दै कोही उग्र देखिए पनि सारमा उनीहरु लोकतान्त्रिक वातावरण र लोकतान्त्रिक शक्तिविरुद्ध गोलबद्ध हुँदै गएको जनाएको छ ।

‘लोकतन्त्रको पहरेदार नेपाली काँग्रेस कम्युनिष्टहरूको लोकतान्त्रिक प्रक्रियामा सहभागिता एउटा छलछाम र धोखाधडी हो कि भन्ने संशय गर्न बाध्य भएको छ । वर्तमान कम्युनिष्ट सरकार लोकतन्त्रका मूल्य र धरोहरविरुद्ध सक्रिय हुदै लोकतन्त्रले प्रदान गरेका अधिकार र अवसर प्रयोग गरेर एक दलीय सर्वसत्तावादतर्फ अगाडि बढ्न लागेको अनुभव हुन्छ । तर यो सर्वसत्तावादलाई नेपाल कम्युनिष्ट पार्टीको सरकारले परित्याग गरेको खण्डमा नेपाली कांग्रेस वर्तमान संविधानको रक्षा, सुशासन, राजनीतिक स्थीरता र विकास तथा प्रगतिका पक्षमा सहयोग गर्न भने खुला छ’ काँग्रेसले भनेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप