मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

योगी आदित्यनाथलाई ३६ परिकारको पकवान खुवाइने

भक्तजनका लागि होटल, लज र धर्मशालाहरु अपुग
मङ्गलबार, २५ मङ्सिर २०७५, १७ : २८
मङ्गलबार, २५ मङ्सिर २०७५

जनकपुर– विवाहपञ्चमी महोत्सवमा श्रद्धालु भक्तजनको चाप बढेपछि जनकपुरमा मानिसहरुको अत्याधिक भिडभाड बढेसँगै होटेल, लज, धर्मशालादेखि विभिन्न कुटीका बासस्थानहरु भरिभराउ छन् ।

विवाहपञ्चमी महोत्सवमा भारतको उत्तर प्रदेशको मुख्यमन्त्री योगी आदित्यनाथ आउने निश्चित भएपछि जनकपुरका ५ वटा ठूला होटेलहरुमध्ये अधिकांश होटेल भारतीय दुतावास भारतीय विशेष सुरक्षा निकायका अधिकारी तथा विशेष अतिथिहरुको लागि बुकिङ भैसकेका छन् । त्यस्तै साना ठूला गरी ४५ वटा लजहरु समेत करिब ३ दिन अघिदेखि नै बुकिङ भएको व्यवसायीहरुले बताएका छन् । साना ठूला होटल अग्रिम बुकिङ भएपछि आन्तरिक तथा अन्य तीर्थालुहरुले बासस्थान नपाएको बताएका छन् ।

होटेल तथा लज नपाउँदा बासस्थान र खानपीनमा मात्रै नभएर शौचका लागि पनि समस्या देखिएको तिर्थालुहरुले बताएका छन् । ‘जनकपुर धेरै नै महङ्गो शहर भयो, एउटा कोठाको एक दिनको भाडा ५ हजार रुपैयाँसम्म लिने गरेको पाइयो’ हिमाली जिल्लाबाट जनकपुर आएका तिर्थालु ५५ वर्षीय शिवबहादुर सिवाकोटीको भनाई छ । 

त्यस्तै जनकपुरमा धार्मिक दृष्टिले निर्माण गरिएका पगला बाबा धर्मशाला, गोपाल धर्मशाला, यात्रुनिवास, रौनियार अतिथि सदन र विभिन्न जातिगत कुटीहरु पनि खचाखच छन् ।

जसले गर्दा सडकपेटीमै सुत्न बाध्य भएको तिर्थालुहरु ले बताएका छन् ।

यो बर्ष योगी आदित्यनाथ आउने समाचारपछि ६ दिनयता जनकपुरमा दिनहुँ करिब ३० देखि ४० हजार भक्तजन आउने गरेको स्थानीय जानकी युवा क्लबका अध्यक्ष बिट्टु पंिजयारले बताए । 

जनकपुरमा अहिले होटेल तथा लजको मात्र नभई शाकाहारी भोजनको समेत अभाव भएको भारत पटनाबाट आएका तीर्थालु रवि शंकरले गुनासे गरे । उनले भने, ‘जनकपुरमा शकाहारी भोजनको कमी हुनुका साथै महङ्गो समेत भएको बताए । ‘एक प्लेट शाकाहारी खानाको ५ रुपैयाँसम्म तिर्नुपर्यो’ उनले दुःखेसो पोखे ।

योसँगै जनकपुरमा शौचालयको समेत अभाव भएको छ । बसपार्क देखि मुजेलियाको ५ किलोमिटर दूरीमा रामानन्द चोक र बसपार्कमा मात्र गरेर २वटा सर्वाजनिक शौचालय छन्

जनकपुर उपमहानगरपालिकाले १ सय भन्दा बढि अस्थायी शौचालय रंगभूमि मैदानभित्र बनाएको छ ।

जनकपुर उपमहानगरपालिका तथा प्रदेश सरकारले तीर्थालुलाई ध्यानमा राखेर विभिन्न पण्डाल निर्माण, शौचालयको व्यवस्था गरेपनि सर्वसाधारण तिर्थालुको लागि भने त्यति सहज छैन ।

विवाहपञ्चमीको अघिल्लो दिन तिर्थालु भक्तजनको संख्यामा उल्लेख्य वृद्धि भएपछि सार्वजनिक शौचालय र बासको अभाव भएको हो । तीर्थालुहरू स्थान अभावका कारण रातको समयमा खुला आकाशमै पाल टांगेर  सुत्न बाध्य छन् ।

भक्तजनलाई शौच गर्ने ठाउँ नहुँदा जनकपुरबाट करिब ५ किलोमिटर हिँडेर खुल्लास्थानमा  शौच गर्नुपरेको भारत विहारको दरभंगाबाट आएका कैलास मण्डलले बताए । 

जनकपुरमा भारतको विभिन्न प्रान्तबाट विवाहपञ्चमी महोत्सवमा सहभागि हुन उल्लेख्यरुपमा श्रद्धालु भक्तजन तीर्थालुहरु आएका छन् । भारतको बिहार, राजस्थान, झारखण्ड र उत्तर प्रदेशका तीर्थालु अत्यधिकरुपमा जनकपुर आएको र यिनीहरुले होटेल तथा लजहरुमा बसोबास गरिरहेका छन् । यसवेला धेरै तीर्थालु जनकपुर आउने भएकाले केही समस्या आएको होटेल व्यवसायी संघ धनुषाका अध्यक्ष दशरथ साहले बताए । 

उनले  सेवाग्राहीसँग होटेल तथा लज र भोजनको धेरै महङ्गो शुल्क नलिएको दावी गरे । 

रामचोकस्थित गोपाल धर्मशाला, रंगभुमि मैदान नजदिक यात्री निवास र पगला बाबा धर्मशालामा समेत तीर्थालुहरू खचाखच भरिएका छन् । 

यता तीर्थालुका लागि बासको व्यवस्था गर्न नेपाली सेनाले रंगभूमि मैदानमा टेन्ट लगाएको छ । स्थानीय युवा क्लबहरूले पनि शिविरको व्यवस्था गरेका छन् । 

यसपटक विवाहपञ्चमी महोत्सवमा मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणले धार्मिक अर्थ राखेको भन्दै अन्य वर्षको तुलना यस वर्षमा ऐतिहासिकता कायम गर्ने बताउदैँ करिब ८ लाखको हाराहारीमा भारत, नेपाल र बंगलादेश, श्रीलंका लगवायतका देशहरुबाट पनि सैकडौँको संख्यामा श्रद्धालु भक्तजनहरु आउने अनुमान मूल आयोजक जानकी मन्दिर व्यवस्थापन समितिको छ ।

मुख्यमन्त्री योगीको प्रवेश मार्ग र पार्किङ स्थल तय

विवाह पञ्चमीलाई मध्यनजर गर्दै धनुषामा ट्राफिक प्रहरीले मंगलबार मध्यरातबाट लागू हुने गरी विशेष रुट निर्धारण गरेको छ ।
विवाहपञ्चमी महोत्सवमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने निश्चित भएपछि सवारी आवागमनलाई व्यवस्थित बनाउन ट्राफिक प्रहरीले रुट निर्धारण गरेको हो ।

जनकपुर नगर भित्र मात्रै करिब १ सय ५० जना ट्राफिक प्रहरी खटाइएको ट्राफिक प्रहरी उपरीक्षक किरण बज्राचार्यले बताए । उनले आजै रातिबाट लागू हुने गरी नगरभित्र साना तथा ठूला सवारी साधन लैजान निषेध गरी रुट निर्धारण गरिएको बताए । नगरभित्र अत्यावश्यक आकस्मिक सेवाका सवारी साधन बाहेकलाई प्रवेश पास अनिवार्य गरिएको उनले जनाए । त्यस्तै मुख्यमन्त्री योगी आउने मार्गमा सवारी साधन निषेध गरिएको छ ।

जनकपुरको श्याम चोकस्थित एयरपोर्टदेखि विद्यापति चोक, विषहरा चोक, कदम चोक, भानु चोक हुँदै जनक चोकबाट जानकी मन्दिर जाने बाटो तय भएको छ भने जानकी मन्दिरबाट प्रदेश प्रहरी कार्यालय, थापा चोक,  शहीद (मिल्सएरिया) चोक, जचुकाली क्षेत्र, थापा चोक, प्रदेश प्रहरी कार्यालय हुँदै उत्तर गेटबाट रंगभूमी मैदान सम्म विशेष रुट बनाइएको जनाएको छ ।

त्यस्तै हाइवे मार्गको उत्तर ढल्केवरबाट आउने ठुला चारपाङग्रे सवारी र साना गाडीलाई मुजेलिया स्थित मणिपालतर्फ पार्किङ स्थल निर्धारण गरिएको छ । त्यसैगरी  महोत्तरीको भिठामोडबाट आउने सवारी साधनलाई बसपार्क वरिपरि पार्क गर्ने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

त्यस्तै जटही नाकाबाट आउने सवारी साधनलाई हनुमाननगरमै पार्किङ स्थलको लागि व्यवस्थित गरिएको छ भने कदम चोक भन्दा पछाडि रहेको बसपार्क स्थललाई नै पार्किङ स्थल निर्धारण गरिएको छ ।

प्रदेश सरकारको तयारी

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवमा सहभागि हुन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी अदित्यनाथ भारतको अयोध्याबाट जन्तिको नेतृत्व गर्दै बुधबार विषेश विमानवाट जनकपुर आउने छ ।

मुख्यमन्त्री योगीको जनकपुरको जानकी मंन्दिर, जनकपुरधाम उपमहानगरपालिका तथा प्रदेश सरकारले भव्य स्वागत गर्नेछ ।

प्रदेश नंं २ सरकारले जनकपुरमा रहेको मधेश भवनमा मुख्यमन्त्री योगीको स्वागत तथा दिउँसोको भण्डाराका लागि भव्य तयारी गरेको छ । भण्डारमा ३६ परिकारहरु पकवानहरु खुवाउने कार्यक्रम छ । विगत दुई सातादेखि प्रदेश सरकार यसको तयारीमा लागेको हो ।
प्रदेशको ८ वटै जिल्लाका छुट्टा छुट्टै सांस्कृतिक टोलीले भण्डाराको आकर्षक मञ्चमा सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने प्रदेश सरकारले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप