बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सेयर बजार गिरावटको विषय अर्थसमिति पुग्यो, अर्थमन्त्रीले भने: ‘सेयर बजारमा ज्वरो आएको छ’

मङ्गलबार, २५ मङ्सिर २०७५, १७ : ५०
मङ्गलबार, २५ मङ्सिर २०७५

काठमाडौं– सेयर बजार निरन्तर ओरालो लागेपछि अर्थ समितिको ध्यान अहिलेको बजारले तानेको छ । यसैको परिणामस्वरुप हुनुपर्छ मंगलबार सेयर बजारमा सरोकारवाला  र सरकारी निकायलाई बोलाएरै अर्थ समितिले सेयर बजारको अहिलेको अवस्थाबारे जानकारी माग्यो । 

लगानीकर्ता,नेपाल स्टक एक्सचेन्ज, धितोपत्र बोर्ड, राष्ट्र बैंकका प्रतिनिधिले सेयर बजारबारे बोलिसक्दा अर्थमन्त्रीको पालो आयो । शुरुमै अर्थमन्त्री डा. युवराज खतिवडाले भने, ‘अहिलेको सेयर बजारमा ज्वरो आएको छ । समग्र अर्थतन्त्रनै अलि–अलि बिरामीजस्तो देखिन्छ तर ज्वरो धेरै आउन दिनु भएन यसले समस्या निम्त्याउँछ ।’

उनले सेयर बजारमा आएको ज्वरोको उपचारकै लागि आफुले समिति बनाएर अध्ययन शुरु गरेको पनि बताए । सम्भवतः आगामी शुक्रबारसम्म ज्वरो आउनुको कारण सहित समितिले प्रतिवेदन पेश गर्नेछ, उनले भने । 

उनले स्वार्थ नबाझिएका विज्ञहरुलाई बोलाएर गत तीन बर्षको सेयर बजारको तथ्याँक विश्लेषण अध्ययन गराउन अर्थ समितिलाई सुझाव दिए । मन्त्री खतिवडाले भने,‘सेयर बजारको अहिलेको अवस्था कसरी आयो, विगत तीन वर्षको बजार अवस्थाको अध्ययन गर्दै कहा–कहाँ कमजोरी भयो भन्ने अध्ययनका लागि स्वार्थ नबाझिएका विज्ञ बोलाएर छलफल गरौं । सो विज्ञ टोलीले निकालेको प्रतिवेदनमा सरकारले सहयोग गर्छ ।’

साथै उनले नेपाल स्टक एक्सचेन्ज, धितोपत्र बोर्ड र राष्ट्र बैंकमानै आपसी तलमेल नभएको भन्दै पहिला तालमेल गरेर अगाडी बढ्न सुझाए । 

सेयर बजारमा सिमित व्यक्तिले मात्र लगानी गरेर हुन्छ ? : गर्भनर 

नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जीवि नेपालले केही लगानीकर्ताहरु आफु मात्र सेयर किनौं, आफै नाफा गरौं भन्ने प्रवृत्तिको रहेको आरोप लगाए । उनले सिमित व्यक्तिमा मात्र सेयर बजारमा लगानी गरेर कसरी हुन्छ भन्दै सबैलाई लगानी गर्ने बातावरण बनाइदिन ठुला लगानीकर्तासँग आग्रह गरे । 

सेयर बजार घटबढ भइरहने बताउँदै उने भने, ‘सेयर बजार राम्रो भएको हेर्ने रहर हामीलाई पनि छ । सेयर बजारमा खाएर बचेको पैसा लगानी गर्ने हो भविष्यको लागि । ऋण गरेर लगानी गर्ने होइन’ ।

गर्भनर भन्छन्, ‘माइक्रो फाइनान्स जसले सम्पूर्ण बैकिङ कारोबार गर्न पाउँदैनन, पुँजी थोरै छ त्यसमा औसतमा ३५ सय सेयर मूल्य हुनुपर्ने जसको पुँजी ८ अर्ब छ, जो सुरक्षित छन्, ती बैंकको सेयर मूल्य किन डेढ सय ÷दुई सय हुन्छ ? यसकारण सिमिति व्यक्ति मात्र लगानी गरेर हुँदैन । 

पूँजी बजारप्रति सरकारको नीतिनै गलत भयो : लगानीकर्ता

लगानीकर्ताको तर्फबाट सरकार सेयर बजारप्रति आत्मविश्वासी नभएको आरोप लागेको छ । इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेल सरकारले पुँजी बजारप्रति लिएको गलत नीतिका कारण अहिलेको बजार अवस्था रहेको बताए । उनले एउटा व्यक्तिले पाउने ऋण बराबर मात्र समग्र पुँजी बजारलाई ऋण दिने गरेको राष्ट्र बैंकको नीतिनै गलत भएको आरोप पुँजी बजारमा लगानी गर्ने मापदण्ड बनाउन सरकारले किन नसकेको भन्दै पौडेलले प्रश्न गरे । राष्ट्र बैंकको पुँजी बृद्धिको नीति पनि गलत भएको उनले औल्याए । 

यता मर्चेन्ट बैकिङ एसोसियसनका अध्यक्ष ध्रुव तिमल्सिना सरकारले दीर्घकालीन नीति बनाएर सरकारले पूँजी बजारका लागि स्थायी संयन्त्र बनाएर अघि बढ्नुपर्ने बताए ।  चालू अािर्थक वर्षमा नै २७ प्रतिशतले नेप्से परिसुचक ओरालो लागिसकेको छ । सबैभन्दा कम बिन्दुमा (२९२ अंक) आएको वर्ष बराबर बजार अहिलेको सेयर  बजार रहेको लगानीकर्ताले औंल्याएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप