केन्द्रीय संस्करण

छैन जानकारी, पहिलो महिनावारी

person explore access_timeमंसिर २५, २०७५ chat_bubble_outline0

– विष्णु नेपाल 

काठमाडौँ । पछिल्लो जनगणनाअनुसार १० देखि १५ उमेर समूहका ३० लाख किशोरी रहेका छन् । तीमध्ये अधिकाशंलाई पहिलो पटक महिनावारी हुँदा के हुन्छ भन्ने जानकारी छैन । 

प्राकृतिक रुपमा महिलामा रागरस (हार्मोन) का कारणले डिम्बाशयबाट डिम्ब निष्कासन भएपछि बिस्तारै बाक्लो हुँदै गएको पाठेघरभित्रको भित्री तह तुहिएर रगत बग्ने प्रक्रियालाई महिनावारी भन्ने गरिन्छ । महिनावारी हुनु भनेको महिलाको प्रजनन गर्न सक्ने उमेरमा प्रवेशको सङ्केत मानिन्छ । 

पहिलो पटकको महिनावारीका कारण छात्राले विद्यालय जान छाड्ने, विद्यालयका शौचालय छात्रा मैत्री नहुँदा उनीहरु विद्यालय नै नजाने तथा छात्राको कम उमेरमा विवाह हुने प्रवृत्तिमा समेत नेपालले खासै सुधार गर्न नसकेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । 

महिनावारी हुँदा प्रयोग हुने लुगा (प्याड) को सहज पहुँचको उपलब्धता नहुनु, सरसफाइका लागि पानी नहुनु तथा फोहर कपडाले उत्पन्न गर्ने प्रजनन रोगको समस्यामा कमी नआएको कार्यक्रममा औँल्याइयो । 

जर्मन विकास नियोग, जर्मनको सङ्घीय आर्थिक तथा विकास मन्त्रालय र महिनावारी स्वास्थ्य व्यवस्थापन अभ्यासकर्ता साझेदारीद्वारा संयुक्तरुपमा नेपालमा दोस्रो पटक महिनावारी स्वास्थ्य व्यवस्थापनसम्बन्धी कार्यक्रमका सहभागीले सो कुरा औँल्याएका हुन् । 

‘विश्रामका लागि समय छैन, प्रत्येक नेपाली किशोरीले महिनावारी बेला अघि बढ्न सकून् भनेर सुनिश्चित गरौँ’ भन्ने सम्मेलनमा यस क्षेत्रमा कार्यरत महिला, बालबालिका, शिक्षा तथा विज्ञान प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी तथा सरसफाइ मन्त्रायलय, यहाँस्थित दातृ निकायका प्रतिनिधि तथा विज्ञ लगायतको सहभागिता थियो । 

सफा पानी, सुरक्षित र लैङ्गिकरुपमा छुटाइएका चर्पीको अभाव, लाजको अनुभूति र असजिलोपना लगायतका समस्या किशोरी तथा महिलाले भोग्दै आएका छन् । ती समस्यालाई सम्बोधन गर्न नसक्दा कति छात्राले विद्यालय तह नै पूरा गर्न पाउँदैनन्, कति हिंसामा पर्दछन् भन्ने अध्ययनसमेत भएको छैन । 

पछिल्लो समय नेपालमा महिला र किशोरीले भोग्नु परेका महिनावारीसम्बन्धी समस्या तथा व्यवधानलाई सम्बोधन सरकारी निकायले उच्च प्राथमिकता दिएका छन् । एक विद्यालय एक नर्स कार्यक्रमको शुरुआत शिक्षा मन्त्रालयले गरेको छ । यसलाई अन्तर्राष्ट्रियजगत्ले स्वागतसमेत गरेका छन् । 

‘पिरियड पोभर्टी’ अर्थात् महिनावारी सरसफाइ सामग्री जुटाउन स्थानीय निकाय तथा विद्यालयले स्वतःस्फूर्त रुपमा लगानी बढाउन थालेका बताइन्छ । 

कार्यक्रममा आयोजक संस्था जिआइजेडका स्वास्थ्य कार्यक्रम संयोजक भ्यालेरी ब्रोच अलभ्रेञ्जाले ग्रामीण क्षेत्रमा महिनावारी व्यवस्थापन गर्न नेपाल सरकारलाई सहयोग गर्न सम्मेलनले सहयोग पु¥याउने विश्वास व्यक्त गरिन् । 

उनले भनिन्, ‘पहिलो पटक हुने महिनावारी, महिनावारी स्वास्थ्य, महिनावारी सरसफाइमा दिगोपनामा विद्यमान ज्ञान तथा जनचेतना अभियानमा केन्द्रित रही किशोरावस्थाको स्वास्थ्य र विकासमा रहेका अन्तरहरुलाई मेट्न सम्मेलन आयोजन गरिएको हो ।’ 

महिनावारी स्वास्थ्य व्यवस्थापन अभ्यासकर्ता साझेदारीका संयोजक गुणराज श्रेष्ठले महिनावारी व्यवस्थापन कार्यक्रमलाई विद्यालयका पाठ्यक्रममा समावेश गराई जनचेतनामा जगाउन जोड दिए । 

सम्मेलनमा शिक्षा, जनचेतन तथा सिकाइ, नीति तथा पैरवी, दिगोपन, अनुसन्धान तथा विश्लेषण, पानी, सरसफाइ तथा महिनावारी स्वास्थ्य व्यवस्थापनका क्षेत्रमा सहभागीका बीचमा छलफल भएको थियो । 

महिनावारी स्वास्थ्य व्यवस्थापनका अन्तर्राष्ट्रिय विज्ञ डा. मरनी सोमरले महिनावारी स्वास्थ्य व्यवस्थापन चिकित्सक र नर्सको मात्र नभई समुदायले यसमा ध्यान दिनुपर्नेमा जोड दिँदै पछिल्लो समय नेपालले यस क्षेत्रमा उल्लेखनीय सुधार गरेको बताइन् । 

पूर्वनेपाल सुन्दरी माल्भिका सुब्बाले महिनावारीका कारण आफूले पनि भान्साका छिर्न नपाएको उदाहरण प्रस्तुत गर्दै आफ्नो पहिलो सन्तानको अन्नप्राशनको अघिल्लो दिन महिनावारी हुँदा पनि अन्नप्राशन कार्यक्रममा सहभागी भएको उदाहरण प्रस्तुत गरिन् । 

अधिकारकर्मी बन्दना राणाले महिनावारी स्वास्थ्य व्यवस्थापनका गर्न किशोरीलाई नमूना बनाई चेतना जगाउने कार्यमा ध्यान दिन आग्रह गरिन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...