शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विवाहपञ्चमी महोत्सव: मटकोर सम्पन्न, भोली स्वयम्वर र विवाह

मङ्गलबार, २५ मङ्सिर २०७५, १९ : १०
मङ्गलबार, २५ मङ्सिर २०७५

जनकपुर– ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत आज मटकोर सम्पन्न भएको छ । मिथिलाको विधि परम्पराअनुसार जनकपुरस्थित गंगासागर तलाउबाट मडवाका लागि पवित्र माटो उत्खनन् गरिने विधिलाई मटकोर भनिन्छ । सोही उत्खनन् गरिएको माटो जानकी मन्दिरमा ल्याएर मडवा बनाउने चलन छ ।

त्रेतायुगमा सीता र रामको विवाहका लागि यज्ञवेदी निर्माण गर्न गंगा सागरबाट पवित्र माटो खनेर ल्याएको थियो । त्यहिबाट सो माटो लगिएकाले बर्षेनी विवाहपञ्चमी महोत्सवमा माटो लगिने परम्परा रहेको जानकी मन्दिरका सह–महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए । मिथिलाको विधिविधान अनुसार बेहुली पक्षबाट मटकोर गरी दुलही सीतालाई पहेँलो रङ्गको सारी, चोलो लगायत नयाँ लुगा लगाई सागरमा नुहाउने गरिन्छ ।

मटकोरमा जानकी मन्दिरबाट बाजागाजा तथा झाँकीसहित स्थानीय महिलाहरु सहितको टोली पुगेर जनकपुरधामको गंगासागरमा माटो लिईसकेपछि नगर परिक्रमा गर्ने प्रचलन रहेको छ । मटकोर कार्यमा श्रद्धालु महिला संलग्न भई विवाह सम्बन्धी सान्दर्भिक गीतलाई लोक भाकामा गाउने परम्परा छ ।

मटकोर कार्य सम्पन्न भएपछि मिथिलाञ्चलमा बदाम, पुरी र खीर वितरण गर्ने चलन रहेको जानकी मन्दिरका रामतपेश्वर दास वैष्णवले जानकारी दिए ।  मिथिलाको वैवाहिक पद्दतिमा तिलकोत्सव तथा मटकोर एउटा महत्वपूर्ण विधि हो ।

यही मटकोरको माटोबाट विवाह पञ्चमीका दिन जानकी मन्दिरमा भगवान श्री राम र माता सीताको विवाहका लागि यज्ञवेदी निर्माण गरिने छ ।

वैदिक विवाह महोत्सव सम्पन्न
त्रेताकालमा भगवान राम एवं जानकीको वैदिक विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको संझनामा हरेक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिको दिन पौराणिक विधि अनुरुप मनाइने रामजानकी विवाह महोत्सव सम्पन्न भएको छ ।

गोस्वामी तुलसी दासकृत रामायणमा वर्णित भएनुसार राजर्षि जनकद्वारा गरिएको प्रतीज्ञालाई अयोध्याका राजकुमार रामले धनुष भंग गरेर पुरा गरेकोले जगत जननी जानकीको विवाह उनीसँग भएको थियो ।

अयोध्या नरेश दशरथको भूमिकामा जनकपुरधामस्थित राम मन्दिरका महन्थ राम गिरिको नेतृत्वमा पौराणिक व्यवस्था अनुरुप विहेको जन्ती बाजागाजा र स्वर्णिम झाँकीसहित दुलहा भगवान रामको प्रतिमालाई विशेष सिंहासनमा राखी त्रेताकालीन रंगभूमि मैदानमा पु¥याइन्छ । त्यस्तै जानकी मन्दिरबाट मिथिला नरेश जनकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको नेतृत्वमा दुलही जानकीको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी सोही रंगभूमि मैदानमा पु¥याइन्छ ।

दुलहा भगवान रामको स्वर्णिम डोलालाई दुलही जानकीको विशेष सुसज्जित डोलाले पाँचपटक परिक्रमा एवम् आरती पूजन गरेपछि स्वयम्वर कार्यक्रम सम्पन्न हुने धार्मिक परम्परा रहि आएको छ ।

स्वयम्बर समारोह सकेर दुलहा दुलहीको डोला एवं झाँकी सहितको हजारौंको संख्यामा रहेका जन्तीले नगर परिक्रमा गरी वैदिक विवाहस्थल जानकी मन्दिर पुगेर विवाह संस्कार कार्यक्रम प्रारम्भ हुन्छ ।
जानकी मन्दिरमा पौराणिक विधिपूर्वक भगवान राम एवं जगतजननी जानकीको शुभविवाह कार्यक्रम अहोरात्र चल्ने गर्दछ ।

विवाह पञ्चमी अवसरमा नेपाल एवम् भारतसहित तेश्रो राष्ट्रबाट आएका लाखौं श्रद्धालु भक्तजनहरु एकाविहानै देखि गंगासागर, धनुषसागर, रत्नसागर पवित्र स्नानपछि क्रमशः राम मन्दिर तथा जानकी मन्दिरमा फलफूल अक्षता प्रसाद चढाएर पूजा अर्चना गर्न पाउंदा आफूलाई धन्य ठान्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप