शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विवाह पञ्चमी : जनकपुरधाममा आज राम-जानकी विवाहको विशेष उत्सव

बुधबार, २६ मङ्सिर २०७५, ०८ : ४६
बुधबार, २६ मङ्सिर २०७५

जनकपुरधाम — जनकपुरधाममा आज भगवान् सीताराम विवाह पञ्चमी महोत्सव पौराणिक प्रचलनअनुसार मनाइँदै छ ।

जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । 

सो महोत्सवमा सहभागी हुन यस पटक लाखौँ श्रद्धालु यहाँ आएका छन् । सो क्रममा श्रद्धालुले जानकी मन्दिरलगायत यहाँस्थित देवालयमा आज बिहानैदेखि पूजाअर्चना गरिरहेका छन् ।

यस पटक भारतको अयोध्याबाट आएको जन्तीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सहभागिता रहने छ । मुख्यमन्त्री योगी लखनउबाट विशेष विमानमा जनकपुरधाम आई महोत्सवमा सहभागी हुने कार्यक्रम छ । 

सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुने गरेका छन् ।

मैथिल संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा राम मन्दिर र जानकी मन्दिरबाट राम सीताको प्रतिमालाई सुसज्जित डोलीमा राखी रङ्गभूमिमा लगी स्वयम्बर र परीक्षण विधि भएपछि जानकी मन्दिरमा ल्याई विवाह संस्कार सम्पन्न गरिन्छ ।

त्यस्तै सो अवसरमा निस्किने भगवान्को डोला शोभायात्रामा सहभागी हुनेले महोत्सव दैवी विवाह भएको अनुभव गर्दै आफूलाई धन्य सम्झन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप