शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस महासमिति बैठक :  विधानमा अझै जुटेन सहमति

बुधबार, २६ मङ्सिर २०७५, १३ : ३८
बुधबार, २६ मङ्सिर २०७५

काठमाडौं– नेपाली काँग्रेसको मंसिर २८ गतेबाट सुरु हुने महासमिति बैठकको तयारी लगभग पूरा भएको सो पार्टीले जनाएको छ ।

 १४ सयभन्दा बढी सदस्यहरु सहभागी हुने बैठकले काँग्रेसको प्रस्तावित विधान अनुमोदन गर्नेछ ।  

संघीय संरचनाअनुसार काँग्रेसको कार्यसमिति नभएकाले बैठकमा विगतकै निर्वाचन प्रणालीअनुसार महासमिति सदस्यहरु सहभागी हुने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

दुई सय ४० निर्वाचन क्षेत्रबाट महासमिति सदस्य छनोट भएको र त्यसरी प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित पाँच जना सहभागी हुँदा १२ सय प्रतिनिधि हुने र आमन्त्रित पाहुना समेत गरेर १४ सय पुग्ने प्रवक्ता शर्माले जानकारी दिए । 

काठमाडौँको एक पार्टी प्यालेसमा चल्ने महासमिति बैठकमा जनसम्पर्क र शुभेच्छुक संगठनबाट ५४/५४ का दरले सहभागी हुने हुनेछन् । 

त्यस्तै काँग्रेसको विधानमा भएको व्यवस्थाअनुसार जनसम्पर्कबाट एक समिति बराबर तीन जना सहभागी हुने छन् । काँग्रेसका १३ भ्रातृ संस्था छन् भने १७ वटा शुभेच्छुक संस्था छन् । 

काँग्रेस प्रवक्ता शर्माले महासमिति बैठक मंसिर २८ गतेबाट सुरु हुने भनिएपनि पहिलो दिन सहभागिहरुको रजिस्टेशनमात्रै हुनेछ । 

औपचारिक उद्घाटन भने शनिबार अर्थात मंसिर २९ गतेमात्रै हुनेछ ।  महासमिति बैठकमा सहभागि हुन काठमाडौ आउने सवै सदस्यहरुको खानेबस्ने खर्च पनि व्यक्ति स्वयमले बेहोर्ने काँग्रेसले जनाएको छ ।

महासमिति बैठकको तयारी उपत्यकाका तीन जिल्लाका जिल्ला सभापतिले गरिरहेका छन् ।

विधानमा सहमति खोज्ने प्रयास 
दुई दिनपछि सुरु हुने काँग्रेस महासमिति बैठकमा पेश गर्ने पार्टीको विधानमा सहमति जुटाउन काँग्रेसका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । विधानका कतिपय व्यवस्थाप्रति काँग्रेसभित्र फरकफरक धारणा आएपछि एउटै मत बनाउने गरी सहमति खोज्न नेताहरु आन्तरिक संवाद र छलफलमा लागेको केन्द्रीय सदस्य चन्द्र भण्डारीले जानकारी दिए । 

केन्द्रीय सदस्य भण्डारीका अनुसार सहमति खोज्न संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधी र पौडेलपक्षबाट नेता अर्जुननरसिंह केसीलाई जिम्मेवारी दिइएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा विधानमाथि धारणा राख्ने क्रममा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सदस्यता वितरण, निर्वाचन प्रणाली, पदाधिकारी मनोनयनलगायतका विधानका झण्डै आधा दर्जन विषयलाई संशोधन गरेरमात्रै महासमिति बैठकमा पेश गर्नुपर्ने अडान लिएका थिए । 

खासगरी पौडेल पक्षले विधानको मस्यौदामा राखिएको पार्टी सभापतिले २५ प्रतिशत केन्द्रीय समिति सदस्य मनोनयन गर्नसक्ने व्यवस्था कुनै हालतमा मान्य नहुने बताउदै आएको छ । त्यस्तै केन्द्रीय सदस्य संख्या बढाउने तर, पदाधिकारी संख्या नबढाउने भन्ने प्रावधानको पनि पौडेल पक्षले असहमति जनाएको छ । 

‘सभापतिलाई कमजोर पार्नुपर्छ भन्ने हाम्रो उदेश्य होइन तर पार्टीलाई संघीय स्वरुपमा बदल्नुपर्ने बेलामा धेरै अधिकार सभापतिमा राख्नु उचित होइन भन्ने हो । त्यसैले २५ प्रतिशत केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्थालाई संशोधन गर्दै १५ प्रतिशत बनाउन सकिन्छ भन्ने हाम्रो भनाई हो’ पौडेल पक्षका नेता तथा केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले रातोपाटीलाई बताए । 

उनका अनुसार देउवा पक्ष पदाधिकारी बढाउन र सभापतिले मनोनयन गर्ने केन्द्रीय सदस्य १५ प्रतिशत मात्रै राख्न सहमत भए केन्द्रीय समितिबाट विधान सर्वसम्मत पास गरेर महासमितिमा पुग्छ । नत्र असहमति नै समेटेर महासमितिमार्फत छिनोफानो हुनेछ । प्रस्तावित काँग्रेसको विधान मस्यौदा केन्द्रीय समितिले पास गरेर महासमिति बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने छ ।

यता पदाधिकारी सङ्ख्या बढाउन भने देउवा पक्ष लगभग सहमत भैसकेको बुझिएको छ । पदाधिकारी सङ्ख्या बढाउन देउवापक्षका नेताको समेत दवाव भएकाले त्यसमा देउवा लचक हुन सक्ने नेताहरुले बताएका छन् । 
काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीका अनुसार पदाधिकारी सङ्ख्या बढाउने विषय पौडेल समूहको मात्रै माग नभई देउवा पक्षका नेताहरुको समेत भएको र आवाश्यकता समेत रहेकाले त्यसमा सहमति जुट्ने दावी गर्छन् ।

‘समयको माग अनुसार सवै चल्नुपर्छ विवाद राखेर गयो भने पछिसम्म विवाद रहिरहन सक्छ । त्यो कुरा दुवै पक्षले बुझेको छ । त्यसकारण पदाधिकारी संख्या बढाउनेमा सहमति हुन्छ’ नेता भण्डारीले रातोपाटीलाई बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप