शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुख्यमन्त्रीको मनपरीले जानकी मन्दिर विश्वसम्पदा सूचीमा नपर्ने खतरा

बिहीबार, २७ मङ्सिर २०७५, १७ : ०७
बिहीबार, २७ मङ्सिर २०७५

काठमाडौं–प्रदेश २ सरकारको मनपरीका कारण जनकपुरस्थित जानकी मन्दिर विश्वसम्पदा सूचीमा नपर्ने खतरा बढेको छ ।  

विश्व सम्पदासूचीमा पर्ने प्रक्रियामा रहेको जानकी मन्दिरलाई प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत पुरातत्वक विभागसँग कुनै परामर्श नगरी  सौन्दर्यकरण गर्न थालेपछि विश्वसम्पदामा नपर्ने खतरा बढेको हो । 

मन्दिरको सौन्दर्यकरण गर्ने भन्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मंसिर १३ गते  एक कार्यक्रमका बीच अभियानको शुभारम्भ गरे । जुन अभियानको लागि  गैरअवसायीय नेपाली संघ (एनआरएन) पनि मन्दिरको विद्युतिकरण (लाइटिङ्ग) गर्न सहमत भएको छ । यसका लागि जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास र एन.आर.एन. का अध्यक्ष भवन भट्ट बीच एक सम्झौतपत्रमा हस्ताक्षर भइसकेको छ ।

प्रक्रिया अघि बढिसक्दा पुरातत्वक विभाग बेखबर रहेको छ । जानकी मन्दिर पुरातात्विक विभाग अन्तरर्गत रहने भएकाले त्यसको केही संरचना फेरबेदल गर्नु परे विभागसँग अनुमति लिनुपर्ने हुन्छ । तर प्रदेश सरकारले हालसम्म कुनै अनुमति नलिएको पुरातत्व विभागकी अधिकृत मञ्जु सिंह भण्डारीले रातोपाटीलाई बताइन् । 

जानकी मन्दिरको मर्मत सम्भार गर्न सरकारले विभागलाई एक करोड रुपैयाँ दिएको छ । सोही रकम लिएर जानकी मन्दिरको सरसफाई तथा मर्मत सम्भार गर्ने भनि विभागका इन्जिनियर सहितको टोली जनकपुर पुगेको थियो । त्यहाँ पुग्दा विभागको टोलीले प्रदेश सरकार र एनआरएन मिलेर मन्दिरको सौन्दर्यकरण गर्न लागेको पाएको थियो । 

प्रदेश सरकारले मन्दिर सौन्दर्यकरणको  लागि सात करोड ७५ लाख र एनआरएनले ३ करोड रुपियाँ छुटयइएको आफूहरुलाई टोली पुगेको दिन मात्रै जानकारी प्राप्त भएको अधिकृत भण्डारीले बताइन् । 

उनले भनिन्, ‘प्रदेश सरकार र एनआरएनले मन्दिरको सौन्दर्यकरण गर्न लागेको छ भने पक्कै विभागसँग समन्वय गर्नेछन् । तर आजसम्मको मितिमा न कुनै समन्वय छ, न कुनै खोजखबर छ ।’
मन्दिरका महन्थले विभागसँग समन्वय गरेर नै काम अगाडि बढाउने भनेको स्मरण गर्दै उनले भनिन्, ‘विभाग बाटो पर्खेर बसेको छ, तर उताबाट कुनै खबर आएको छैन ।’ बरु सौन्दर्यकरण कार्यको शिल्यानाश भएको र केही दिनमा काम पनि शुरु हुने आफूले सुनेको उनले बताइन् ।

जनकपुर उपमहानगरपालिका मेयर लालकिशोर साह र प्रदेश २ का पर्यटनमन्त्री रामनरेश राय यादवले जानकी मन्दिरको मर्मत सम्भार गर्नुपर्छ भनि विभागमै आएर कुरा गरेका थिए । 

स्थानीय तह र विभाग मिलेर मन्दिरको मर्मत सम्भार गर्ने भनिएपछि विभागको एक टोली त्यहाँ गएर अध्ययन पनि गरेको थियो । स्थानीय तह र विभागले मिलेर त्यसको सरसफाई र मर्मत सम्भार गर्ने कुरा पनि भएको थियो तर प्रदेश सरकारले बीचैमा कसैसँग समन्वय नगरी काम अगाडि बढाएकोमा विभाग आश्चर्यमा परेको छ ।

‘जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी भइरहेको थियो, त्यसको प्रकृया पनि शुरु भइसकेको थियो, तर प्रदेश सरकारको यो गतिविधिका कारणले जानकी मन्दिर विश्व सम्पदा सूचीमा नपर्न सक्छ’,  अधिकृत भण्डारीले बताइन् ।

 विश्व सम्पदा सूचीमा पर्न केही अन्तराष्ट्रिय मापदण्ड र ऐन कानुन रहेको भन्दै उनले त्यसलाई उलंघन गरिए सूचीमा राख्न गाह्रो हुने बताइन् ।

‘कानुनलाई उल्लघंन गर्ने काम भइरहेको छ, विश्वसम्पदा सूची राख्ने पहल भइरहेको बेला मन्दिरको जेजस्तो संरचना छ त्यसलाई केही तलमाथि गर्न पाइदैनन्’ , उनले भनिन्, ‘ यदि केही गर्ने हो भने विभागबाट अनुमति लिनुपर्छ । जानकी मन्दिर विश्व सम्पदा सूचीमा नपरे त्यसको जिम्मेवारी प्रदेश सरकार लिनुपर्ने पनि उनले चेतावनी दिइन् । 

यता, मुख्यमन्त्री कार्यालयका सचिव हरि फुयाँलले प्रदेश सरकारले मन्दिरको सौन्दर्य र संरचनामा कुनै हेरफेर नगर्ने दावी गरे । उनले भने, ‘मन्दिरको परिसरमा मार्वल ओछ्याउने र प्रवेशद्धार बनाउने काम मात्र गर्न लागिएको छ । यसका लागि आठ करोड रुपियाँ छुटइएको छ ।’ 

परिसरमा मार्वल मात्र ओछ्याउनु पर्ने भएकाले विभागसँग अनुमति नलिएको बताउँदै उनले मार्वल ओछ्याउने र मन्दिरको तीनवटा प्रवेशद्धार बनाउनका लागि ठेका समेत लागिसकेको छ र केही दिनमै काम शुरु हुने जानकारी गराए । 

मुख्यमन्त्री कार्यालयले जानकी मन्दिरको पुरै सौन्दर्यकरण गर्ने भनि स्केच पनि सार्वजनिक गरेको छ नि भनि राखिएको जिज्ञासामा उनले भने, ‘सार्वजनिक गरेको हो तर त्यस्तो हुनेछैन, मार्वल ओछ्याएपछि त्यसमा मन्दिरको आकृति देखिने गरी स्केच मात्रै बनाइएको हो ।’

जब कि मन्दिरको विद्युतिकरणदेखि लिएर पूरै मन्दिरको सौन्दर्यकरण गर्ने भनि मुख्यमन्त्री कार्यालयबाट स्केच सार्वजनिक भएको छ ।  

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने अभियानमा लागेका राजकुमार महतो पनि मन्दिर सौन्दर्यकरणसम्बन्धी प्रदेश सरकारको योजनाबाट सन्तुष्ट छैनन् ।

 उनी भन्छन्, ‘विश्व सम्पदा सूचीमा जानकी मन्दिरलाई राख्ने प्रोसेस शुरु भएको छ, त्यही अवस्थामा सौन्दर्यकरणको काम शुरु हुन लागेको हो भने  पक्कै असर गर्छ । सौन्दर्यकरण गर्नु नै छ भने विज्ञ गठन गरि राष्ट्रिय, अन्तराष्ट्रिय कानुन अध्ययन गरेर मात्र शुरु गर्नु पथ्र्यो तर प्रदेश सरकारले त्यससम्बन्धी कुनै गृहकार्य नगरी काम गर्न लागेको छ ।’

एकसय ४० वर्ष पुरानो जानकी मन्दिर हालसम्म विश्व सम्पदा सूचीमा परेको छैन । केन्द्रीय तथा स्थानीय सरकारको लापरवाहीले सूचीमा नपरेको गुनासो महतोले गरे । भारत, मध्यप्रदेश लोहागढका एक साधु सुरकिशोर दास सीताको स्वर्णमूर्ति खोज्दै वि.सं. १४१७ मा जनकपुर आइपुगेका थिए । सीताको स्वर्णमूर्ति भेटिएको ठाउँमा उनले एउटा सानो कुटी बनाएर बसेका थिए ।

पछि सीताको स्वर्णमूर्ति भेटिएको खबर भारत, मध्यप्रदेश टिकमगढकी रानी बृषभानु कुँवरले थाह पाएपछि उनी जनकपुर आएकी थिइन् । उनले त्यहाँ सन्तान प्राप्तिको भाकल गरेकी थिइन् ।

सन्तान प्राप्त गरेपछि रानी बृषभानुले सन् १९११ मा जनकपुरमा आलिशान मन्दिर बनाएकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप