बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुनकोशीमा कल्भर्ट बनाएर बालुवा तस्करी !

शुक्रबार, २८ मङ्सिर २०७५, १४ : ५८
शुक्रबार, २८ मङ्सिर २०७५

काठमाडौं– रामेछापको खाँडादेवी गाउँपलिका र सिन्धुलीको सुनकोशी गाउँपालिकाको सिमानामा पर्ने सुनकोसी नदीमा अस्थाई कल्भर्ट बनाएर बालुवा तस्करी गर्न थालिएको छ ।  प्राकृतिक सम्पदाको अवैध दोहन गरेर बालुवा निकासीका लागी रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीतर्फ कमेरे भन्ने ठाउँलाई जोड्ने गरी स्थानीय भुवन घिमिरेले कल्भर्ट (अस्थायी पुल)नै निर्माण गरेका छन् ।

सुनकोसी नदीको बहावसमेत परिवर्तन गरेर कोथबेतर्फ घिमिरेले स्थापना गरेको क्रसर उद्योगबाट वालुवा तथा गिट्टी काठमाडौंतर्फ ल्याउनका लागि उनले अस्थायी कल्भर्ट निमार्ण गरेको स्थानीयवासीले बताएका छन् । 

खाँडादेवी गाउँपालिकाको कोथबेमा गत बर्षदेखि निर्माण शुरु गरेको घिमिरेको बालुवा वासिङ्ग प्लान्ट र क्रसर निर्माण कार्य सम्पन्न भैसकेको छ । बालुवा वासिङ्ग प्लान्टको निर्माण कार्य सकिएसँगै व्यक्तिगत रुपमा ४९ लाख रुपैयाँ खर्च गरेर उनले अस्थायी पुल निर्माण गरेका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को रामेछाप जिल्ला समिति सदस्य समेत रहेका घिमिरेले व्यक्तिगत स्वार्थका लागि निर्माण गरेको कल्भर्टको उद्घाटन कार्यक्रममा खाँडादेवी गाउँपालिकाका प्रमुख प्रेमबहादुर तामाङ साक्षी बनेका छन् । 

बिहिबार नियमविपरित निर्माण भएको कल्भर्ट उद्घाटन गरेका तामाङले उक्त पुलले नदीको बहाव परिवर्तन नगरेको दाबी गरे ।  ‘नदीको बहाव चाहिँ परिवर्तन भएको छैन्’ रातोपाटीसँग कुरा गर्दै गाउँपालिका प्रमुख तामाङले भने, ‘बहाव परिवर्तन गर्ने अथवा प्राकृतिक स्वरुप बिग्रने गरी त हामी बनाउनै दिँदैनौं नि ।’ 


बालुवा उत्खनन् कार्यमा स्काईभेटर प्रयोग गर्न नपाईने व्यवस्था भएपनि बालुवा कारोवार गर्ने घिमिरेले नियमविपरित प्रयोग गरिएको स्काईभेटर गाउँपालिकाले नियमन गर्न सकेको छैन् ।  नियमविपरित बालुवा उत्खनन भइरहेको र बालुवा तस्करी गर्नका लागी अस्थायी पुल बनेको बारे जिज्ञासा राख्दा रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले त्यस्तो पुल बनेको आफुलाई थाहा नभएको बताए । 

‘ठेक्का लगाउने काम चाहिँ स्थानीय निकायको हो’ रातोपाटीसँग कुरा गर्दै शर्माले भने, ‘जिल्लामा बालुवा, गिट्टी जस्ता नदीजन्य पदार्थ उत्खनन् कार्यको अनुगमन गर्ने समिति बनेको छ, हामी अनुगमन गर्छौं, त्यहाँ नियमविपरित काम भएको भेटिए कारवाही हुन्छ ।’

खुर्कोटमा पनि अवैध उत्खनन् 
सिन्धुलीतर्फ सुनकोशी गाउँपालिका र गोलञ्जोर गाउँपालिकाको सिमानामा पर्ने खुर्कोटस्थित नदी किनारमा पनि अवैध बालुवा उत्खनन् भइरहेको छ । त्यसबारे स्थानीय निकाय र प्रहरी प्रशासनले नदेखेझैं गरेको स्थानीयहरुले आरोप लगाएका छन् । 

डोजर तथा स्काईभेटर प्रयोग गर्न नपाउने कुरा आम बालुवा कारोबारीहरुलाई थाहा भएपनि खुर्कोटस्थित सुनकोशी किनारमा हरेक दिन पचासौं ट्रिप बालुवा स्काईभेटरको प्रयोग गरेर उत्खनन भईरहेको छ । तर, त्यसरी बालुवा निकाल्ने कार्यलाई नियमन गर्न सुनकोसी र गोलन्जोर दुवै गाउँपालिकाले चासो देखाएका छैनन् । 

असोज २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले जिल्ला समन्वय समितिको प्रमुखको  संयोकत्वमा अनुगमन समिति गठन गरेर नदिजन्य पदार्थ उत्खनन कार्यलाई नियमन गर्ने निर्णय गरेको थियो । तर, मन्त्रिपरिषद्को उक्त निर्णयअनुसार स्थानीय तहमा काम हुन सकेको छैन् । कत्तिपय स्थानीय तहमा स्थानीय वडा र गाउँपालिका प्रमुखहरुकै मिलमतोमा नदीजन्य पदार्थको अवैध निकासी तथा तस्करी हुने गरेको पाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप