शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली नागरिकता बनाउने गिरोह प्रहरी फन्दामा, सीडीओको उपस्थितिमा सार्वजनिक

शुक्रबार, २८ मङ्सिर २०७५, १७ : ३२
शुक्रबार, २८ मङ्सिर २०७५

-किरणकुमार कर्ण

जनकपुर । झोलामा जिल्ला प्रशासन कार्यालय धनुषा सञ्चालन गरी नक्कली नागरिकता बनाउने कार्यमा सक्रिय रहेको एक गिरोह प्रहरीको फन्दामा परेको छ ।

जिल्ला प्रशासन कार्यालयको एक कर्मचारीको सहयोगमा ४ जनाले विगत ०६३÷६४ सालमा सरकारले वितरण गरेको नेपाली नागरिकताको टोलीको छाप तथा प्रशासनको अभिलेखको सक्कली डायरीको केहि कागजात, दर्जनौँ नेपाली नागरिकता र डेढ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।

धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर–२० स्थित देवपुरा रुपैठा बस्ने ३१ वर्षीय रोशनकुमार चौधरी, धनुषाको औरही गाउँपालिका वडा नम्बर–५ बस्ने ४९ वर्षीया गंगा साह, रौतहटको दुर्गा भगवती गाउपालिका वडा नम्बर–४ बस्ने हेमन्त कुमार पाण्डे र जिल्ला प्रशासन कार्यालय धनुषामा सहयोगी पदमा कार्यरत्त ४२ वर्षीय महाविर मण्डललाई प्रहरीले आज पत्रकार सम्मेलन गर्दै प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको उपस्थितिमा सार्वजनिक गरेको छ ।

पक्राउ परेकामध्ये रोशनकुमार चौधरीको जनकपुरस्थित डेरामा सुराकीको आधारमा प्रहरीले छापा मार्दा उनको कोठाबाट विभिन्न व्यक्तिको दर्जनौँ नक्कली नेपाली नागरिकता, विवाह दर्ता, जन्मदर्ता, मृत्युदर्ता, बसाईसराईको प्रमाणसहितको विभिन्न ठेली, सादा नाम नभरेको नेपाली नागरिकता, नेपाली नागरिकतामा टाँस हुने हेलोग्रामको लोगो, जिल्ला प्रशासन कार्यालयको छाप, प्रशासकीय अधिकृतको छाप, स्थानीय पञ्जिकाधिकारीको छाप, टोली प्रमुखको छाप, नगरपालिकाको छाप, वडाअध्यक्षको छाप, नेपाली नागरिकता प्रमाणपत्रमा टाँस हुने हेलोग्राम, नागरिकता विवरणको ठेली, मोबाईल १ थान, १ लाख ५३ हजार रुपैयाँ नगद समेत बरामद भएको प्रहरी नायब उपरिक्षक दिपेन्द्र शाहीले जानकारी दिए ।

शाहीले धनुषा जिल्ला अदालतबाट सरकारी दस्तखतको छाप किर्ते र नागरिकता मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भईरहेकोले पक्राउ गर्ने अनुमति लिई थप अनुसन्धानको कार्य भईरहेको जनाए ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले २०६३ मुलुकी फौजदारी, ऐन अन्तर्गत कारवाही हुने तथा संगठित अपराध मुद्दामा अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडी बढाइने बताए । 

उनले प्रशासनकै कतिपय कर्मचारीको मिलोमतो रहेको आशंका व्यक्त गर्दै कर्मचारीहरुमाथि समेत छानविन गरी कारवाही प्रक्रिया थालिने समेत स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप