बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चार ‘बागी’ नेताहरुसँग प्रचण्डको भेट

शनिबार, २९ मङ्सिर २०७५, ११ : ३३
शनिबार, २९ मङ्सिर २०७५

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसअघिको सचिवालय बैठक बहिस्कार गरेका चार जना शीर्ष नेताहरुसँग छलफल गरेका छन् । 

प्रचण्डको पहलमा शनिबार बिहान बामदेव गौतम निवासमा नेताहरुबीच छलफल भएको हो ।

पार्टी स्थायी समिति बैठकअघि भएको यस छलफललाई प्रचण्डको सहमतिको प्रयासको रुपमा हेरिएको छ ।

बिहान करिब ९ बजेदेखि बसेको बैठकमा प्रचण्ड र बामदेवसहित माधव कुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ उपस्थित थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार चार जना नेताले सरकार पार्टीबाट निर्देशित हुनुपर्ने, समयको पालना हुनुपर्ने, पार्टी विधि र नियमअनुसार चल्नुपर्ने लगायतको माग प्रस्तुत गरेका थिए ।

जवाफमा अध्यक्ष प्रचण्डले चार नेताहरुको माग जायज भएको स्वीकार गर्दै पार्टीलाई व्यवस्थित ढंगले अघि बढाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रचण्डको भनाई उद्धृत गर्दै एक नेताले रातोपाटीलाई भने, ‘यतिबेला सरकारलाई सफल बनाउनु सबैको दायित्व र प्राथमिकता हो । यसमा तपाईंहरुको भूमिका महत्त्वपूर्ण हुन्छ ।’

प्रचण्डले चार नेताहरुलाई यतिबेला अन्तरसंघर्षभन्दा पनि पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको औँलाएका थिए ।

स्रोतका अनुसार सबै नेताहरुले प्रचण्डको कुरामा सहमति जनाएका थिए ।

नेकपाको स्थायी समिति आज बैठक बस्दैछ । त्यसअघि पार्टीको सचिवालय बैठक बस्नेछ ।

बैठकमा पेस गर्न दुई अध्यक्षले संयुक्त रुपमा दस्तावेज तयार पारेका छन् । त्यसलाई सचिवालय बैठकमा सहमतिमा पास गराउन प्रचण्डले आजको बैठकका लागि पहल गरेका हुन् ।

यद्यपि, उक्त दस्तावेज सहमतिमा पास हुने सम्भावना निकै कम रहेको बताइएको छ । 

यता, नेता बामदेव गौतमले पनि छुट्टै दस्तावेज तयार पारेको बताइएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप