शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महासमिति बैठकमा सिटौलाले सुनाए प्रचण्डलाई भनेको कुरा

शनिबार, २९ मङ्सिर २०७५, १५ : ५६
शनिबार, २९ मङ्सिर २०७५

काठमाडौं–नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिलेको सरकार संख्याका हिसावले ठूलो भएपनि अत्यन्तै कमजोर रहेको बताएका छन् । 

उनले सरकार कम्युनिष्ट पार्टीका केही नेताहरुको घेराबन्दीमा परेको बताउँदै सरकार विरुद्ध जनमत बनाउने बेला आएको बताए ।

काठमाडौँमा शनिबारदेखि सुरु भएको पार्टीको महासमिति बैठकलाई सम्बोधन गर्दै नेता सिटौलाले आफूले हालै कास्कीको सिकलेशमा भएको एक कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डलाई अहिलेको सरकार इतिहासकै कमजोर सरकार रहेको सुनाएको उल्लेख गरे । 

उनले सरकार कम्युनिष्ट पार्टीको निश्चित घेराभित्र रहेको बताउँदै भने–‘देशलाई बलियो बनाउने नीति तथा कार्यक्रम हामीले एक बर्षसम्म पाएनौँ, उल्लेख्य केही कुरा भएन । मैले सत्तारुढ दलकै अध्यक्ष प्रचण्डलाई सिकलेशमा भनेको थिएँ, सत्तारुढ दल संख्याका हिसावले अत्यन्तै बलियो छ, तर काम गराइएको हिसावले यति कमजोर सरकार मैले दुनियाँमा कहिँ देखेको थिइन । निर्वाचनको एक बर्षभित्रैमा यति अलोकप्रीय सरकार दुनियाँमा कहिँ देखिदैन् ।’ उनले थपे–निर्वाचनपछि सरकारले जनतालाई पुरस्कृत गर्छ, यहाँ त दण्ड थपिएको छ ।’ 

नेता सिटौलाले सरकारका कारण स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यता कमजोर हुँदै गएको, संबैधानिक अंगहरु कमजोर हुँदै गएको, स्वतन्त्र प्रेसको मूलय मान्यता कमजोर भएको र श्रमिक किसान जनतामाथि सरकारको बोझ थपिदै गएको उल्लेख गरे । 

अनेकै किसिमका कर तिर्नु परेका कारण महंगी आकासिदै गएको बताँउदै उनले सरकार जनताको साथमा नभई कम्युनिष्ट पार्टीका निश्चित नेताहरुको घेराबन्दीमा सरकार रहेको उल्लेख गरे ।

 यस्तो बेलामा नेपाली कांग्रेसमा माथि ठूलो जिम्मेवारी थपिएको उनले बताए । उनले सरकारलाई सहि बाटोमा ल्याउन सदन, सडक, गाँउबाट नेपाली कांग्रेसले जनमत निर्माण गर्ने बेला आएको उल्लेख गरे । 

पूर्व महामन्त्री समेत रहेका उनले महासमिति बैठकपछि नेपाली कांग्रेसले आफ्नो स्वरुप परिवर्तन गरेर जानुपर्ने बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप