बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अब के गर्छ नेकपा ? यस्ता छन् ओली–प्रचण्डका ११ योजना

शनिबार, २९ मङ्सिर २०७५, २१ : ३१
शनिबार, २९ मङ्सिर २०७५

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी इतिहासकै महत्वपूर्ण मोडमा उभिएको औंल्याउँदै  जनताले गरेको विश्वास र भरोसालाई कायमै राख्न विभिन्न ११ बुँदे योजना अघि सारेका छन् । 

शनिबारको स्थायी कमिटी बैठकमा ओली–प्रचण्डले पेश गरेको राजनीतिक डकुमेमन्टमा पार्टीको आगामी कार्यभार कस्तो रहने भन्ने सवाल ११ बुँदामा व्याख्या गरिएको छ । 

२२ पेज लामो राजनीतिक प्रतिवेदनको ‘आगामी कार्यभार’ उप–शीर्षकमा पार्टीका काँधमा जनताले सुम्पेको अभिभारालाई पूरा गर्न वैचारिक, संगठनात्मक र राजनैतिक क्षेत्रका अनेकन काम गर्न बाँकी रहेको उल्लेख गरिएको छ । 

ती कामहरुमा पार्टीको संगठनात्मक एकीकरण, वैचारिक र भावनात्मक एकताको सुदृढीकरण, एकताको सन्देश दिन विशेष अभियान सञ्चालन गर्नेदेखि तीनै तहको सरकारको प्रभावकारी परिचालनसम्म रहेका छन् । 

यस्तै समृद्धिको योजना, सुशासन, संघीय संरचनाहरुको सु–सञ्चालन, राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको रक्षाका साथै पार्टी स्कुललाई प्रभावकारी बनाउने कार्यभार पनि औंल्याइएको छ । 
प्रभावकारी प्रचार कार्य र पार्टी पंक्तिलाई उत्पादन कार्यमा आबद्ध तुल्याउने विषयलाई पनि पार्टीले आगामी कार्यभारका रुपमा अघि सारेको छ । 

एक महिनाभित्र संगठनात्मक एकीकरण सक्ने लक्ष्य

पार्टी एकता घोषणाको तीन महिनाभित्र पार्टी तथा जनवर्गीय संगठनको एकता गर्ने भनिएपनि विभन्नि कारणले कार्ययोजना अनुसार एकीकरण प्रक्रिया अघि बढ्न नसकेको प्रतिवेदनमा ओली प्रचण्डले स्वीकार गर्दै अब भने बिलम्ब नगरी एक महिनाभित्र संगठनहरुको एकीकरण सकिसक्ने अठोट लिइएको छ । 

यद्यपी प्रदेश तहमा एकता प्रक्रिया सकिइसकेको र अधिकांश पालिका तहको एकीकरण प्रक्रिया पनि अघि बढेको उल्लेख गरिएको छ । 

प्रतिवेदनमा असन्तुष्ट समूहलाई लक्षित गर्दै भनिएको छ, ‘पार्टीको संगठनात्मक एकीकरणको विषय मूलतः राजनीतिक हो । दुईवटा भिन्न धाराबाट विकासित हुँदै आएका पार्टीको बीचमा एकता हुँदा सबैले अधिकतम लचकता प्रदर्शन गर्नुपर्छ । केही न केही त्याग र योगदान गर्न तयार हुनैपर्छ ।’ 

विगतमा रहेको जिम्मेवारी तलमाथि हुनुपर्ने कुरामा मानसिक रुपमा तयार हुनुपर्नेमा समेत प्रतिवेदनमा जोड दिइएको छ । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले तल्लो तहको एकीकरण प्रक्रियामा असन्तुष्टि जनाउँदै आएको बेला प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो । 

यस्तै निर्वाचनमा सहकार्य र पार्टी एकताको घोषणासँगै पार्टीमा वैचारिक स्पष्टता र भावनात्मक निकटता कायम भएपनि थप निकटता कायम गर्न अझैं आ–आफ्नो ठाउँबाट सबैले प्रयत्न गर्नुपर्नेमा जोड दिइएको छ ।

‘साबिकका दुवै पार्टीमा विभिन्न रुप र स्तरमा वैचारिक उपलब्धि, संगठनात्मक व्यवस्थापन, ऊर्जा, परिपक्वता, जनमनुमोदन, गतिशिलता, सिर्जनशीलता र जुझारुपन जस्ता बेग्लाबेग्लै विशेषताहरु थिए’, प्रतिवेदनमा भनिएको छ, ‘तीनले आर्जन गरेका सकारात्मक उपलब्धि कम्युनिष्ट आन्दोलनका महत्वपूर्ण उपलब्धि हुन् र एकीकृत पार्टीले अझैं सुदृढ गर्दै लैजानुपर्छ ।’

एकीकरणका दौरानमा केही कमीकमजोरी भएको भए सच्याउँदै वैचारिक र भावनात्मक एकतालाई खँदिलो बनाउँदै लैजानुपर्नेमा जोड दिइएको छ । 

विशेष राजनीतिक अभियान, स्थानीय सरकारको प्रभावकारी परिचालन,
पार्टी एकताको सन्देश जनताको बीचमा सम्प्रेषित गर्न, पार्टी र सरकारका नीति र योजनालाई सार्वजनिक रुपमा स्थापित गर्न माघ र फागुन महिनामा दुई महिने विशेष राजनीतिक अभियान सञ्चालन गर्ने नेकपाले योजना बनाएको छ । 

यस्तै तीनै तहका सरकारको प्रभावकारी परिचालन गर्दै आर्थिक समृद्धिको अभियानमा होमिने योजना पनि नेकपाले बनाएको छ । 

दुईतिहाईको सरकारले पनि जनअपेक्षाअनुसार काम गर्न नसके कसैले पनि जनताले दिएको दायित्व पूरा गर्न नसक्ने दाबी गर्दै नेकपाले भनेको छ, ‘हामी जुनसुकै मूल्यमा पनि जनताको अपेक्षामा खरो रुपमा उत्रिनुपर्छ र इतिहासले सुम्पेको अभिभारालाई पूरा गर्न सक्षम बन्नैपर्छ ।’

त्यसका लागि सरकार सञ्चालनको व्यवस्थित नीति, विधि र संरचना निर्माण गरेर पार्टी र सरकारको समन्वयका साथ अघि बढ्नुपर्नेमा जोड दिइएको छ । 

यस्तो छ समृद्धिको योजना 

प्रतिवेदनमा सरकार समृद्धिको ठोस कार्ययोजनाका साथ अघि बढेको दाबी गरिएको छ । चारवटा पूर्वपश्चिम र ६ वटा उत्तर दक्षिण राष्ट्रिय राजमार्गहरुको सञ्जाल निर्माण तथा स्तरोन्नती गर्ने, केरुङ–काठमाडौं–लुम्बीनी, रक्सौल–काठमाडौं र पूर्वपश्चिम गरी तीन रेल सञ्जाल निर्माण गर्ने नेकपा नेतृत्वको सरकारको योजना रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

यस्तै काठमाडौं–तराई द्रुतमार्ग, राजधानीमा मेट्रोरेल, उत्तर–ल.दक्षिण व्यवस्थित सडक सञ्जाल बनाउने जस्ता महत्वकांक्षी योजनालाई पनि प्रतिवेदनमा समेटिएको छ । 

समृद्धिको योजनामा समेटिएका विषयहरु तलको फोटोमा हेर्नुहोस्

प्रभावकारी प्रचार, सुशासनमा इमान्दार

विपक्षीबाट सरकारविरुद्ध भ्रामक प्रचार योजनाबद्ध रुपमा  भइरहेको भन्दै यस विरुद्ध लड्न प्रभावकारी रुपमा प्रचार संयन्त्र तयार पारिने योजना नेकपाले बनाएको छ । 

यस्तै राज्य र समाजका सबै अंगमा परम्परादेखि कायम रहेको भ्रष्टाचार, अनियमितता र विसंगतिलाई समाप्त पार्न पार्टी र सरकार निर्मम रुपमा प्रस्तुत हुने पनि उल्लेख गरिएको छ । 

जुनसुकै आवरणमा देखा परेपनि भ्रष्टहरुलाई भ्रष्टकै रुपमा व्यवहार गर्ने नीति पार्टीले लिएको छ । 

यस्तै अन्तरप्रदेश समितिका बैठक नियमित गरिने, प्राकृति स्रोत तथा वित्तीय बाँडफाँड आयोग जस्ता संवैधानिक संरचनाहरु गठन गरेर यिनको भूमिका अभिवृद्धि गर्ने लक्ष्य पनि नेकपाले लिएको छ । 

राष्ट्रियताको सवालमा सिंगो पार्टीलाई सक्रिय तुल्याइराख्ने, सबैखाले बाह्य हस्तक्षेप, विखण्डनकारी क्रियाकलाप र राष्ट्रिय हितमा आँच पुर्याउने प्रवृत्तिलाई कडाईका साथ प्रतिवाद गर्दै अघि बढ्ने नीति नेकपाले लिएको छ । 
यस्तै आम पार्टी पंक्तिलाई वैचारिक र राजनीतिक रुपमा प्रशिक्षित गर्न केन्द्रमा नियमित पार्टी स्कुल सञ्चालन गर्ने योजना नेकपाले बनाएको छ । 

पार्टीलाई उत्पादनसँग जोडिने

नेकपाले पार्टी पंक्तिलाई उत्पादनसँग जोड्ने योजना बनाएको छ । ‘हामीले लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण चरण पूरा गरिसकेका छौं । अब हाम्रो राजनीतिक अभियान स्वतन्त्र, आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्र निर्माण गर्दै मुलुकमा प्रगतिशील उत्पादन शक्तिको विकास गर्ने र राज्यमा श्रमजीवि वर्गको बर्चश्व सुदृढ गर्दै समाजवादका आधारहरु तयार गर्ने हो’, प्रतिवेदनमा भनिएको छ, ‘संगठनात्मक संरचना र कार्यकर्ता नीतिलाई यही कार्यदिशाले दिशा निर्देशित गर्छ । त्यसैले अब पार्टी पंक्तिलाई उत्पादन कार्यमा आबद्ध गर्नुपर्छ ।’

जसका लागि सिंगो पार्टी पंक्तिलाई पुर्नसंरचना गर्नेगरी ठोस योजना ल्याउने नेकपाको योजना छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप