मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा बैठकमा ‘९ भाइ’ले गरे ओली–प्रचण्डको आलोचना, बचाउमा मन्त्री मात्रै !

सोमबार, ०२ पुस २०७५, १६ : ५५
सोमबार, ०२ पुस २०७५

काठमाडौं– शनिबारदेखि जारी नेकपाको स्थायी कमिटी बैठकमा सोमबारबाट सदस्यहरुले धारणा राख्न सुरु गरेका छन् । 

सोमबारको बैठकमा १० स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखेका छन् । बोल्नेमध्ये अधिकांश  नेताहरु नेतृत्व (अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड) विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् । 

बैठकमा बोल्ने क्रममा नेता घनश्याम भुसालले पार्टीमा नश्लवाद हावी भएको भन्दै सरकार र नेतृत्वको कडा आलोचना गरे । उनले पार्टी नेतृत्वको कार्यशैली र व्यवहार सच्चिनुपर्नेमा जोड दिँदै त्यसो हुन नसके पार्टीलाई ठूलो नोक्सान पुग्ने खतरा औंल्याए । 

बैठकमा सहभागि एक नेताका अनुसार नेता हरिबोल गजुरेल र अग्निप्रसाद सापकोटा नेतृत्वको सवालमा केही नरम जस्तो देखिएपनि सरकारको ‘परफर्मेन्स’को सवालमा भने खुलेर विरोधमा उत्रिएका थिए । उनीहरुले नेतृत्वले आत्मआलोचना गर्दै पार्टीलाई एकजुट भएर अघि बढाउन पहल गरिनुपर्नेमा जोड दिएका थिए । 

यस्तै नेता बामदेव गौतम आफैंले पूरक प्रस्तावको रुपमा बैठकमा पेस गरेको प्रतिवेदनको व्याख्यामा केन्द्रीत रहेका थिए । उनको प्रतिवेदनमा नेतृत्वको कडा आलोचनासहित पार्टीलाई गति दिन बुँदागत सुझाव दिइएको छ । 

                                                                                 हेर्नुहोस् वामदेवको फरक मतको पूर्णपाठ

यस्तै बैठकमा युवराज ज्ञवाली, मुकुन्द न्यौपाने गणेश साह, वेदुराम भुषाल र अष्ठलक्ष्मी शाक्यले पनि सरकारको कार्यशैलीको कडा रुपमा आलोचना गरेको बैठकमा सहभागि ती नेताले जानकारी दिए । 

‘बैठकमा बोल्ने शक्ति बस्नेत बाहेकका सदस्यहरुले दुई अध्यक्षले पेश गर्नुभएको प्रतिवेदनमा असन्तुटि जनाउनु भएको छ । पार्टी एकलौटी बनाएको, विधि र प्रक्रियाअनुसार पार्टी नचलेको जस्ता गुनासो र आक्रोश उहाँहरुको थियो’ ती नेताले भने, ‘सरकारको समेत नेतृत्व गरिरहेको नाताले ओली प्रति असन्तुष्टि बढी देखियो ।’

बैठकमा बोल्ने नेताहरुले गौतमको पूरक प्रस्ताव समग्रमा सही भएपनि बढी नकारात्मक रहेको र सबै विषयलाई नकारात्मक रुपमा पनि  लिन नहुने धारणा राखेका थिए । 

आजको बैठकमा ९ नेताहरु पार्टी नेतृत्व र सरकारको आलोचनामा एकमत हुँदा मन्त्रीसमेत रहेका नेता शक्ति बस्नेत भने बचाउमा देखिएका थिए । 

उनले पार्टी नेतृत्वको सरकारले विस्तारै बाटो लिँदै गरेको भन्दै यसैलाई लिएर आलोचना गरिहाल्नु हतार हुने धारणा राखेका थिए । 

अर्को बैठक मंगलबार बिहान ८ देखि ११ बजेसम्म फेरि बस्ने छ । 

यसैबीच आजको बैठकको समापनमा अध्यक्ष ओलीले छोटो मन्तब्य राखेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप