शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ए डिभिजन लिग फुटबल: हिमालयन शेर्पाद्वारा एनआरटी पराजित

सोमबार, ०२ पुस २०७५, १८ : १८
सोमबार, ०२ पुस २०७५

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले न्युरोड टिम एनआरटीलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा हिमालयन शेर्पाले एनआरटीलाई १–० गोल अन्तरले हराएको हो । हिमालयन शेर्पाको जितमा विश्वास श्रेष्ठले पहिलो हाफको अन्तिम मिनेटमा विजयी गोल गरे ।

एकल प्रयासमा बल अघि बढाउँदै उनले शेर्पाका लागि विजयी गोल गरे । जितसँगै हिमालयन शेर्पा तालिकाको छैटौ स्थानमा उक्लिएको छ । उसले ९ खेलबाट १४ अंक जोडेको छ । पुलिससँग समान अंक भएपनि गोल अन्तरका आधारमा शेर्पा क्लब पछाडी परेको हो । एनआरटीले नवौ चरणको खेलसम्म एक जित पनि निकाल्न सकेको छैन । एक अंक जोडेको एनआरटी तालिकाको पुछारमा छ । 

यस्तै आज भएको अर्को खेलमा संकटा क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । काठमाडौंको हलचोक मैदानमा सोमबार भएको खेलमा संकटाले फ्रेन्ड्सलाई ३–१ गोल अन्तरले हराएको हो । जितसँगै संकटाले शीर्ष स्थानको मनाङसंग अंक बराबरी गरेको छ । संकटाले ९ खेलबाट २४ अंक जोडेको छ । संकटा भन्दा शीर्ष स्थानको मनाङले एक खेल कम खेलेको छ । जितसंगै संकटाले उपाधि होडमा आफुलाई कायम राखेको छ । संकटाको जितले शीर्ष स्थानको मनाङ र तेस्रो स्थानको थ्री स्टार माथि दबाब बढेको छ । हारसंगै फ्रेन्ड्स ५ अंक सहित ११ औ स्थानमा यथावत छ ।

यस्तै एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा भने सरस्वती युथ क्लब र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँँडेका छन् । एन्फा टेक्निकल सेन्टरमा सोमबार भएको दोस्रो खेलमा सरस्वती र जावलाखेलले गोल रहित बराबरी खेलेका हुन् । खेल अवधिभर दुवै टोलीले अवसर सिर्जना गरेपनि गोल गर्न भने सकेनन् । बराबरीपछि जावलाखेल ८ अंक जोड्दै दशौँ स्थानमा छ भने  सरस्वती १० अंक सहित नवौँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप