मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धुम्बाराहीमा नेकपाका नेताबीच घम्साघम्सी, कसले के भने बैठकमा ?

सोमबार, ०२ पुस २०७५, २१ : ४४
सोमबार, ०२ पुस २०७५

काठमाडौं । पार्टी एकताको सात महिनापछि र पाँच पटक स्थगनपछि बसेको सत्तारुढ नपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकमा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि आलोचना भएको छ । 

सोमबारको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राजनीतिक प्रतिवेदनको महत्वका बारेमा चर्चा गर्दै छलफलमा सहभागी हुन सदस्यहरुलाई आह्वान गरेपछि स्थायी कमिटी सदस्यहरुले बोल्न थालेका थिए । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको तुलनामा अर्का अध्यक्ष प्रचण्डको भने कम आलोचना भएको छ । 

बामदेव गौतम

बैठकमा आफ्नो फरक मत राखेका नेता बामदेव गौतमले प्रधानमन्त्री ओली र सरकारको चर्को आलोचना गरेका छन् । सोमबारको बैठकमा सवैभन्दा पहिला बोलेका नेता गौतमले अध्यक्षद्धयले प्रस्तुत गरेको प्रतिवेदन सरकारको प्रशंसापत्र भएका बताएका थिए । 

‘बैठकमा पेश भएको अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन पुरै गलत छ । नेताहरुको निरङ्कुश शैलीले पार्टीभित्र बोल्न सक्ने अवस्था छैन । म पनि बोल्न सक्ने अवस्थामा थिईनँ । रामविर मानन्धर प्रकरणपछि जब नेतृत्वले मेरो चरित्र हत्या गर्ने अभियान चलायो, त्यसपछि मैले बोल्ने हिम्मत गरेँ । नत्र समाप्त पार्छन् भन्ने अनुभूति भयो । पार्टी नेतृत्वको निरङ्कुश शैलीले पछिल्लो समय पार्टी र सरकार बर्बाद भएको छ ।’ बैठकमा गौतमले राखेको भनाई उद्धृत गर्दै एक स्थायी कमिटीका सदस्यले रातोपाटीसँग भने । 

ती नेताले गौतमको भनाई उद्धृत गर्दे थपे, ‘मलाई व्यङ्ग्य गर्दै सार्वजनिक रुपमा संविधानले दिएको भए दुईजना प्रधानमन्त्री बन्थेउँ भन्ने हैन त ? दुईतिहाइको सरकार छ, संविधान संशोधन गरेर देखाउ । नत्र किन व्यङ्ग्य गर्ने ?’ आइतबार पार्टी निकट वकिलहरुको कार्यक्रममा प्रधानमन्त्री ओलीले पार्टीमा दुई अध्यक्षको प्रयोग भएको भन्दै ‘संविधानले दिने भए दुई प्रधानमन्त्री हुने थियौँ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

बैठकमा गौतमले जनताको जनवादको च्पाप्टर बन्द भएको बताएका छन् । गौतमको भनाई उद्धृत गर्दै ती नेताले रातोपाटीसँग भने, ‘तपाईंहरुले भन्दा मैले पार्टी र आन्दोलनमा कम योगदान गरेको छैन । मैले पनि लिखित सुझाव दिएको छु, त्यसलाई मिलाएर मात्रै प्रतिवेदन पूर्ण हुनसक्छ । भ्रष्टाचार समाप्त भयो भन्ने कुरा विल्कुल गलत हो । एसिया प्यासिफिक समिटले बर्बाद बनायो । त्यसमा सरकारको संलग्नता पुरै गलत छ । न्यूनतम जनताको जनवाद हुनै सक्दैन । समाजवाद हो कार्यक्रम । अब न्युनतम जनवाद हुँदैन, जनताको जनवादको अब काम छैन ।’

नेपालको संविधानको मार्गदर्शन तथा पार्टीले निर्वाचनमा अघि सारेको घोषणापत्र बमोजिम नयाँ युग निर्माण गर्ने उद्घोषका साथ नीति, कार्यक्रम र बजेट प्रस्तुुत हुन नसक्दा जनतामा निराशा उत्पन्न भएको गौतमको भनाई थियो । 
प्रतिवेदनका सम्बन्धमा विचार व्यक्त गर्न प्रत्येक वक्ताका लागि २० मिनेटको समय दिइएको थियो । त्यही २० मिनेटको समय उपभोग गर्दै नेताहरुले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको आलोचना गरेका छन् । तर, गौतमले समय धेरै लिएको भन्दै दुईपटक घण्टी खाएको एक नेताले बताए ।  

घनश्याम भुसाल

नेकपाभित्र लामो समयदेखि विधि र पद्धतिको कुरा उठाउँदै आएका नेता घनश्याम भुसालले अध्यक्षद्धयको प्रतिवेदनले अहिलेको आवश्यकता पूरा गर्न नसक्ने बताए । ‘यो प्रतिवेदन पुरै आत्मश्लागाको अभिव्यक्ति हो । राष्ट्रिय राजनीति जनभावना अनुसार अघि बढिरहेको छ भन्ने कुरा विल्कुल गलत हो । पार्टीमा पूरै नश्लवाद (गुटवाद) हावी छ । खकार, थुक, पसिना, पिसाब जाँचेर आफ्नो हो भनेपछि जिम्मेवारी दिने ?’ भुसालको भनाई उद्धृत गर्दे नेकपाका अर्का स्थायी कमिटी सदस्यले रातोपाटीसँग भने, ‘यस्तै हो भने यहि स्थायी कमिटीको निर्णय पनि मानिदैँन । केपी ओलीले हामीमाथि शासन गर्ने हो ? केपी ओलीको शासन मानिदैँन । हाम्रो पनि सहमति लिएर नेतृत्व गर्ने हो भने मानिन्छ नत्र शासन मानिदैँन ।’

प्रधानमन्त्रीको भ्रष्टाचार विरोधी अभियानमा पनि नेता भुसालले प्रश्न उठाएका छन् । बैठकमा भुसालको भनाई थियो, ‘दिगम्बर झाको नियुक्ति गर्नेहरुले भ्रष्टाचारको विरुद्धमा कुरा गर्छन् भने किन पत्याउने ? त्यसकारण मुललाई जति चोख्याउन खोज्नुहुन्छ तपाईंहरु झन–झन नागिंनुहुन्छ । हामी समाजवादको चरणमा छौँ । जनताको जनवाद न्युनतम कार्यक्रम भन्ने कुरा सहि होईन ।  यो प्रतिवेदनले आजको आवश्यकताको प्रतिनिधित्व गर्दैन ।’

अग्नी सापकोटा

बैठकमा अर्का नेता अग्नि सापकोटाले पनि पार्टी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । ‘जनवाद बिना केन्द्रीयता कसरी हुन्छ ? त्यसकारण जनवादको अभ्यास राम्रो भएन । सामूहिक नेतृत्व हुनुपर्यो । एसिया प्यासिफिकको सम्मेलनले हामीलाई बदनाम गरायो । गलत भयो भनेर जनतासँग सिधा माफी माग्नुपर्छ । अहिलेसम्म भएका कमिकमजोरीको नेतृत्वबाट आत्माआलोचना खोइ ? एकीकरणको मापदण्ड बनाएर आफैँ उल्लङघन गर्ने ? वामदेव कमरेडले प्रस्तुत गर्नुभएको प्रतिवेदनका राम्रा कुरा ग्रहण गर्नुपर्छ । उहाँले उठाउनुभएका धेरै कुरा राम्रा छन् ।’ सापकोटाले बैठकमा राखेको भनाई उद्धृत गर्दै नेकपाको स्रोतले बतायो । 

शक्ति बस्नेत

वन तथा वातवरणमन्त्री शक्ति बस्नेतले सरकारको बचाउ गरेका छन् । तर, सरकारले जनअपेक्षा अनुसार काम नभएको उनको भनाई छ । 

अष्टलक्ष्मी शाक्य

बैठकमा नेता अष्टलक्ष्मी शाक्यको भनाई थियो, ‘भ्रष्ट र अनैतिकहरुको घेराभित्र नेतृत्व बस्नुभएन । नेतृत्व अहिले यो घेराबन्दीमा छ । हाम्रो पार्टीको मुख्य समस्या भनेको नेतृत्वको सामन्ति सोच र कार्यशैलीको हो । यसलाई परिवर्तन गर्नुपर्छ । वामदेव गौतमले राख्नुभएका राम्रा कुरा अध्यक्षद्धयले ग्रहण गर्नुपर्छ ।’ शाक्य प्रदेश ३ मा ओलीले आफूलाई मुख्यमन्त्री हुनबाट रोकेको भन्दै असन्तुष्ट छिन् । 

मुकुन्द न्यौपाने 
अर्का नेता मुकुन्द न्यौपानेले कथा सुनाएर नेतृत्वको आलोचना गरे । ‘राजाको जस्तो न्याय गर्नुभएन है पार्टीमा । चोरी भएपछि एउटा राजाले चोर पत्ता लगाउ र त्यसलाई मृत्युदण्ड देउ भन्या रैछ । भारदाजहरु सबैले खोज्दैखोज्दै जाँदा चोर पत्ता लगाएछन् । चोर पत्ता लगाएपछि राजालाई भन्न गए । चोर पत्ता लाग्यो, अब मृत्युदण्ड दिउँ हजुर ? राजाले, मृत्युदण्ड दिईहाल्नु भनेछन् । सरकार, सरकारको त ज्वाँई परेछन् हजुर के गरौँ ? राजाले भने, त्यसो भए त्यसलाई मुक्ति देउ, मुक्ति देउ ।’ प्रधानमन्त्रीले जस्तो मान्छे भएपनि आफ्नो नजिक हुँदा बचाउने गरेको न्यौपानेको संकेत थियो । 

गणेश शाह

अर्का नेता गशेण साहको मत थियो, ‘सरकारबाट जनता सन्तुष्ट छैन । अध्यक्ष र प्रधानमन्त्रीको समय व्यवस्थापन साह्रै कमजोर छ । यसरी कुनै काम अगाढि बढ्न सक्दैन ।’ 

बेदुराम भुसाल

माधव नेपाल निकट मानिने नेता बेदुराम भुसालले पार्टी नेतृत्वको आलोचना गरे । ‘आफैँले बनाएको विधान आफैँले उल्लङ्घंन गर्ने ? अनि जिम्मेवार पार्टी भन्ने ?’ उनले बैठकमा भने । 

युवराज ज्ञवाली

अर्का नेता ज्ञवालीले जिम्मेवारी बाँडफाँडमा गम्भिर प्रश्न उठाए । उनको भनाई थियो, ‘जिम्मेवारी दिने बेला कसैलाई खातैखात कसैलाई सडकमा बास ? यसलाई मानिदैँन । स्थायी समितिको बैठक ढिला गरेकोमा नेतृत्वले आत्मालोचना गरेर प्रतिवेदनमा राख्नुपर्छ ।’

बैठकमा हरिबोल गजुरेलले आफ्ना धारणा लिखितरुपमा पेश गरेका थिए ।  

साझा मुद्दा 

नेताहरुले केही विषय भने साझा रुपमा उठाएका छन् । पार्टी विधानानुसार कम्तीमा तीन महिनामा हुनुपर्ने स्थायी कमिटीको बैठक नियमित हुन नसकेको धेरैको गुनासो थियो । प्रदेश इञ्चार्ज र अध्यक्षहरुको जिम्मेवारी दिँदा विधानको मान्यता पालना नभएकोमा पनि धेरैले प्रश्न उठाए । सरकारले विकास निर्माणका नीतिनिर्माण गर्दा पार्टीलाई परिचालन नगरेको, पार्टीको सरकार हो भन्ने आम अनुभूति दिलाउन नसकेको पनि धेरै नेताको गुनासो थियो । 

गत शनिबार शुरु भएको बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा छलफल जारी छ । गत जेठ ३ मा भएको तत्कालिन एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपाभित्र संगठनात्मक मुद्दा, सरकारको काम र प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर शुरु देखि नै गुटबन्दी शुरु भएको छ । एकताका लामोसमय बित्दा पनि केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पोलिटब्यूरो गठन र  जिल्ला र जनसङ्गठनको एकता अझैं टुङ्गिएको छैन । प्रदेश कमिटीले भने पूर्णता पाइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप